coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ४/कास्की : मतदाता ‘पर्ख’ र ‘हेर’को अवस्थामा

पोखरा- कास्कीको निर्वाचनले यहाँका राजनीतिक दल र मतदातामा उत्साह जगाएको छ । प्रदेशभित्र सबैभन्दा बढी ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्ला कास्की मात्र हो । सिंगै कास्की र पोखरा सहरको समृद्धिको आधार तय गर्ने गरी मतदाताले अहिलेको निर्वाचनलाई हेरेका छन् ।

‘बाहिरबाट हेर्दा वाम गठबन्धनको बलियो देखिन्छ । तर, कार्यकर्ताको मन मिलेको छैन । त्यही भएर मतदान पनि त्यही आधारमा खस्छ भन्न सकिँदैन ।’

एमालेका युवा नेता रवीन्द्र अधिकारी र अहिलेका कानुनमन्त्रीसमेत रहेका यज्ञबहादुर थापा कास्कीबाटै निर्वाचनमा होमिएका छन् । त्यसबाहेक पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी कास्कीमै निर्वाचनको मैदानमा छन् ।
२०६४ मा चार निर्वाचन क्षेत्रमा बाँडिएको कास्कीमा त्यो बेला माओवादीले ३ वटा र एमालेले एकमात्र क्षेत्रमा विजयी हात पारेको थियो । त्यो निर्वाचनमा कास्की–१ मा माओवादीका देव गुरुङ, २ मा माओवादीकै राजकाजी गुरुङ र ४ मा माओवादीकी दुर्गा विकले जित हात पारेका थिए । कास्की–३ मा मात्र एमालेका रवीन्द्र अधिकारीले जितेका थिए ।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस र एमालेले कास्कीमा २–२ क्षेत्र बाँडेका थिए । त्यो निर्वाचनमा कास्की –१ मा कांग्रेसका यज्ञबहादुर थापा र २ मा शारदा पौडेलले जित हात पारेका थिए । कास्की–३ बाट एमालेका रवीन्द्र अधिकारी र कास्की–४ बाट एमालेकी सीता गिरी विजयी भएका थिए ।
२०५६ मा भएको निर्वाचनमा तीन क्षेत्र रहेको कास्कीमा तीनवटै क्षेत्र कांग्रेसले जितेको थियो । त्यस निर्वाचनमा कास्की–१ बाट तारानाथ रानाभाट, २ बाट महादेव गुरुङ र ३ बाट प्रकाशबहादुर गुरुङले जित हासिल गरेका थिए । त्यस्तै २०५१ को निर्वाचनमा एमालेले २ र कांग्रेसले १ मात्र क्षेत्रमा जितेका थिए । त्यो निर्वाचनमा एमालेका खगराज अधिकारीले कास्की–१ र तुलबहादुर गुरुङले २ बाट जितेका थिए । कांग्रेसका कृष्णबहादुर गुरुङले कास्की–३ मा जित हात पारेका थिए ।
कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ जना मतदाता छन् । प्रतिनिधिसभातर्फ ३ निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेस एकल र एमाले–माओवादी वाम गठबन्धन गरेर चुनावी मैदानमा छन् । कांग्रेसबाट प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा यज्ञबहादुर थापा, २ देवराज चालिसे र  ३ मा शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् । यस्तै कांग्रसबाट प्रदेशसभातर्फ १ (क) मा जीवन परियार र १ (ख) मा कृष्ण केसी, २ (क) मा गुरुराज बराल र २ (ख) मा विन्दुकुमार थापा तथा ३ (क) मा शारदा पौडेल र ३ (ख) मा भोजबहादुर गुरुङ ‘सिकन्दर’ उम्मेदवार रहेका छन् ।
प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट कास्की क्षेत्र नम्बर १ मा खगराज अधिकारी, २ मा रवीन्द्र अधिकारी र ३ मा जगत विश्वकर्मा मैदानमा छन् । यी तीनैजना एमालेका हुन् । यस्तै वाम गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा १ (क) मा दीपक कोइराला र १ (ख) मा मनबहादुर गुरुङ, २ (क) मा कृष्ण थापा र २ (ख) मा राजकाजी गुरुङ तथा ३ (क) मा रामजीप्रसाद बराल र ३ (ख) मा राजीव पहारी उम्मेदवार बनेका छन् । १ (क) कोइराला, २ (ख) का गुरुङ र ३ (क) का बराल माओवादी केन्द्रका हुन् भने प्रदेशसभाका अन्य वाम उम्मेदवार एमालेका हुन् ।
 
एमालेका रवीन्द्र लगातार जित हासिल गर्दै ह्याट्रिक गर्ने दाउमा छन् । यज्ञबहादुर थापा र खगराज अधिकारी पनि विजयी दोहो¥याउने लक्ष्यमा छन् । थापा र अधिकारी अहिले कास्की–१ को एउटै क्षेत्रमा प्रतिस्पर्धामा छन् । एमालेका अधिकारी गठबन्धनको आधारमा वाम दललाई यस पटक राम्रो गर्न सक्ने अन्तिम मौका आएको बताउँछन् ।
‘कांग्रेसले यसअघि पनि बहुमत ल्यायो । तर, राम्रो गर्न सकेन,’ अधिकारीले भने, ‘यही अवसर अहिले वाम गठबन्धनलाई मिलेको छ । हामीले राम्रो गर्ने मौका पाएका छौं । राम्रो काम गर्ने चुनौती हामीलाई छ ।’ संविधान निर्माणमा महŒवपूर्ण भूमिका खेलेको र संसद्को विकास समितिको सभापति हुँदा कास्कीको विकासमा खाका कोरेकाले जनताले त्यसको मूल्यांकन गर्ने उनले बताए । ‘पोखरामा विकासको खाका कोर्नमा मैले ठूलो भूमिका खेलेको छु,’ उनले भने, ‘मैले संसद्मा आउने र जाने मात्र गरिनँ । रवीन्द्रले केही काम गरेको छैन भनेर भन्नेले भन्छन्, तर, त्यो म स्वीकार्दिनँ ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, उत्तर–दक्षिण जोड्ने कोरला नाका खोल्नका लागि पनि आफूले महŒवपूर्ण भूमिका खेलेको अधिकारीले दाबी गरे । उनले प्रतिद्वन्द्वी चालिसेसँगको आफ्नो प्रतस्पिर्धा उत्ति कडा नरहेको बताए । ‘मैले गरेको कामको मूल्यांकन मतदाताले गर्ने भएकाले मेरो प्रतिस्पर्धा कसैसँग छैन,’ उनले भने ।
कांग्रेसका उम्मेदवार यज्ञबहादुर थापा यतिबेला घरदैलोमा व्यस्त छन् । सबै ठाउँमा प्रचार समिति गठन गरेर चुनावी मैदानमा उभिएको उनले बताए । २०७० मा समेत त्यही क्षेत्रबाट विजयी भएकाले यसपटक अझै सहज रहेको उनले बताए । ‘२०७० मा भन्दा अहिले सजिलो छ । अघिल्लो निर्वाचनमा मैले मतदातासँग महŒवाकांक्षी कुरा गरेको थिइनँ । संविधान निर्माणमा मात्र भूमिका निर्वाह गर्छु भनेर जिताउनुस् भनेको थिएँ,’ उनले भने, ‘संविधान दिन कांगे्रसले भूमिका खेल्यो । त्यसको म एउटा साक्षी मात्र हुँ । अब बल्ल विकास निर्माणका काम गर्ने हो ।’
यसअघिको निर्वाचनमा प्रचारमोह नराखेका कारण अहिले जनता आफ्नो पक्षमा रहेको दाबी उनले गरे । ‘संविधान निर्माणसँगै मैले मेरो क्षेत्रको विकास निर्माणमा पनि सघाएको छु । मैले मतदातासामु झूट बोलेको छैन । भूmटा आश्वासन नदिएकाले यो पटक जनताले विश्वास गर्नेछन्,’ थापाले भने ।
संविधानका संरचना भत्काउने प्रयास वाम गठबन्धले गरेकोले मतदाताले कांग्रेसलाई सघाउने उनले बताए । उनले स्थानीय तह निर्वाचनमा कमजोर भए पनि अहिले बलियो हुनसक्ने आधार रहेको बताए । ‘एउटा निर्वाचनमा थोरै मत पाए भन्दैमा सधैं त्यही रिजल्ट आउँछ हुन्छ भन्ने छैन । जनता अहिले निकै परिवर्तनशील छन्,’ उनले भने, ‘स्थानीय तह पनि एमालेको काम जनताले हेरिसकेकाले अबको पालो कांग्रेसको हो ।’
विश्लेषकहरू यज्ञबहादुरको आफ्नै घर रहेकै क्षेत्रबाट निर्वाचनमा होमिएकाले केही सहज हुनसक्ने बताउँछन् । महानगर बन्दा थपिएका वडामा समेत उनी बलिया उम्मेदवार रहेको विश्लेषकको भनाइ छ । शालीन भएर प्रस्तुत हुने नेताको छवि थापाले बनाएका छन् । पार्टी सभापति कृष्ण केसीको पनि त्यही क्षेत्र पर्छ । राज्य शक्ति र पार्टीभित्र कार्यकर्ता परिचालनमा उनी अग्रपंक्तिमा छन् । केसी १ (ख) का उम्मेदवार हुन् ।
 
पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल एमालेका रवीन्द्र र कांग्रेसका देवराज क्षमतावान् उम्मेदवार भएकोले कास्की–२ सबैतिर चर्चामा रहेको बताउँछन् । वाम गठबन्धनसँग लोकतान्त्रिक पक्षको प्रतिस्पर्धा भए पनि वाम गठबन्धनका कार्यकर्ताको आन्तरिक मन कसरी मिलेको छ भनेर भन्न नसकिने उनले बताए । ‘बाहिरबाट हेर्दा वाम गठबन्धनको बलियो देखिन्छ । तर, कार्यकर्ताको मन मिलेको छैन,’ उनले भने, ‘त्यही भएर मतदान पनि त्यही आधारमा खस्छ भन्न सकिँदैन ।’
तीमध्ये एकजना (रवीन्द्र अधिकारी) ले अघिल्लो पटक अवसर पाएको र अर्काेलाई हेर्ने अवसर यसपटक रहेकाले मतदाताले परीक्षणसमेत गर्न सक्ने दाहाल बताउँछन् । ‘पोखराको मतदाताले केही गर्छु भन्ने उम्मेदवारलाई जिताउने गरेका छन् । यसअघि यस्तै उदाहरण छन्,’ उनले भने । दाहालले पनि कास्की–३ का कांग्रेसका शुक्रराज अलि बलियो र पुरानो नेताका रुपमा पहिचान बनाएको बताउँछन् । उनले एमालेका जगत विश्वकर्मा मतदातासँग कम परिचित रहेकाले शर्माले त्यसबाट फाइदा लिन सक्ने बताए ।
दाहालको विश्लेषणमा कास्की–१ का दुवैजना (थापा र अधिकारी) टेस्टेड उम्मेदवार हुन् । नयाँ संरचनाले साथ यज्ञ थापालाई दिएको र प्रदेशका दुवै उम्मेदवार राम्रो भएकाले थापालाई केही सहज हुन सक्ने दाहालको विश्लेषण छ । ‘तर, मन्त्री भएका दुवैजनाले जनतामाझ दुवैजनाले क्षमता देखाउन सकेका छैनन्,’ उनले भने, ‘पर्ख र हेरको अवस्थामा मतदाता छन् ।’

प्रकाशित: ३० कार्तिक २०७४ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App