coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ : ‘राजधानी’ सपनाले मतदाता रनभुल्ल

अजित तिवारी/विराटनगर, अमर खड्का/इटहरी, सिद्धराज राई/धनकुटा

 

विराटनगर- मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेदवार शेखर कोइराला र एमालेका उम्मेदवार लालबाबु पण्डितलाई घरदैलोमा मतदाताले प्रायः सोध्ने एउटै प्रश्न छ, ‘तपाईंको उम्मेदवारी केका लागि ?’ उनीहरु दुवैको उत्तर पनि एउटै छ, ‘विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन ।’ मतदाता भने दुवै उम्मेदवारको एउटै अजेन्डाले अलमलमा छन् ।

 

प्रदेश नं. १ मा पर्ने मोरङ, सुनसरी र धनकुटाका सबैजसो उम्मेदवारले आआफ्ना जिल्लाका सहरलाई प्रदेश राजधानी बनाउने भन्दै मत मागिरहेका छन् ।

विराटनगरका धेरैजसो वडा समेटिएका मोरङका निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ का प्रतिनिधिसभाका उम्मेदवारमात्र होइन, प्रदेशसभाका उम्मेदवारको पनि मुख्य चुनावी अजेन्डा विराटनगरलाई राजधानी बनाउनु नै हो । यी सबै उम्मेदवारले प्रदेश नम्बर १ को राजधानी विराटनगर बनाउने मुद्दामा नै मतदातालाई रिझाउने कोसिस गरिरहेका छन् ।
आर्थिक राजधानी र कोइराला परिवारको विरासत थामेको विराटनगर प्रदेश १ को राजधानी ‘निर्विकल्प’ रहे पनि राजनीतिक खिचातानीले भने यो मुद्दा मोरङ, सुनसरी र धनकुटाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारका लागि मुख्य चुनावी अजेन्डा बनेको छ । ‘विराटनगरलाई राजधानी बनाउनु नै हाम्रो प्रमुख मुद्दा हो,’ कांग्रेसका उम्मेदवार कोइरालाले मतदातासँगको भेटमा भनिरहेका छन् ।  ‘विराटनगरलाई महानगर बनाउन एमालेको ठूलो भूमिका छ,’ एमालेका उम्मेदवार पण्डितले भने, ‘अब यसलाई प्रदेश नम्बर १ को राजधानी बनाउन हामी अग्रसर भएका छौं ।’
देशभरमै सबैभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा छ । मोरङमा कांग्रेस र वाम गठबन्धनका सबै उम्मेदवारको प्रमुख अजेन्डा नै विराटनगरलाई राजधानी बनाउने हो । त्यसपछि मात्रै विकास, पूर्वाधार, रोजगारी र समृद्धिको अजेन्डालाई उनीहरुले प्राथमिकतामा राखेका छन् ।
मोरङको क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार महेश आचार्य र वाम गठबन्धनका उम्मेदवार अमन मोदी, क्षेत्र नम्बर ५ का कांग्रेस उम्मेदवार अमृत अर्याल, वाम गठबन्धनका शिवकुमार मण्डल र संघीय समाजवादी फोरमका उम्मेदवार राजकुमार यादवको पनि प्रमुख चुनावी अजेन्डा विराटनगरलाई राजधानी बनाउनु नै हो ।
प्रदेशको राजधानी बनाउन तोकिएको मापदण्डअनुसार उच्च अदालत, नेपाल प्रहरीको प्रदेश नम्बर १ को कार्यालयलगायतका सरकारी पूर्वाधार तयार रहेको, आर्थिक, सामाजिक, ऐतिहासिक, राजनीतिक र अन्य हिसाबले पनि राजधानी बनाउन विराटनगर उपयुक्त रहेको भन्दै सबै उम्मेदवारले मतदातालाई रिझाउन कुनै कसर बाँकी राखेका छैनन् ।
    
सुनसरीमा पनि उही मुद्दा    
चुनावका निम्ति सुनसरी जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले गाउँगाउँमा मतदातालाई आकर्षित गर्न अभियान तीव्र पारेका छन् । सुनसरीका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मुख्य चुनावी अजेन्डा पनि प्रदेशको राजधानी नै हो ।
निर्वाचन क्षेत्र नं. १ का सबैजसो पार्टीका उम्मेदवारले धरानलाई प्रदेश राजधानी बनाउने अजेन्डा अघि सारेका छन् भने निर्वाचन क्षेत्र नं. २, ३ र ४ का उम्मेदवार इटहरीलाईं प्रदेश राजधानी बनाउने अजेन्डा लिएर अघि बढेका छन् ।
क्षेत्र नं. १ का लोकतान्त्रिक गठबन्धनअन्तर्गत संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभाका उम्मेदवार अशोक राई नियमअनुसार अन्तर्राष्ट्रिय सीमाबाट ५० किलोमिटर दूरी र प्राचीन कालमा धरानमा सेन वंशले शासन गरेको आधारमा ऐतिहासिक क्षेत्र भएकाले गर्दा पनि धरान नै प्रदेश राजधानी हुनुपर्ने तर्कसहित चुनावी अभियानमा छन् । उनका अनुसार धरानलाई केन्द्र मानेर क्षेत्र नं. १ कै भरौल, महेन्द्रनगर, सुनसरीको इटहरी र धनकुटासम्म मन्त्रीको कार्यालयसँगै अन्य सरकारी सेवा दिन सकिनेछ ।
लोकतान्त्रिक गठबन्धनअन्तर्गत कांग्रेसबाट उम्मेदवार बनेका क्षेत्र नं. १ (क) का किशोर राईं र (ख) का बुद्धि कट्वालले आफ्नो क्षेत्रको स्वास्थ्य, शिक्षा, यातायात, धर्मसंस्कृतिको विकास गर्ने प्रतिबद्धतासँगै प्रदेश राजधानी धरान हुनुपर्ने अजेन्डा अघि सारेका छन् ।
वाम गठबन्धनअन्तर्गत एमालेका क्षेत्र नं. १ कै उम्मेदवार जयकुमार राईले हरेक आधारमा प्रदेशको राजधानी धरान उपयुक्त भएको बताए । १ नंं. क्षेत्र (ख) बाट एमालेका उम्मेदवार भीम आचार्य र (क) का उम्मेदवार प्रदीप भण्डारी धरानलाई प्रदेश राजधानी बनाउनुपर्ने अडान राखेर मतदातालाई आकर्षित गरिरहेका छन् ।
क्षेत्र नं. १ का उम्मेदवारबाहेक जिल्लाका अन्य  तीन निर्वाचन क्षेत्रका उम्मेदवारको मुख्य चुनावी अजेन्डा इटहरीलाई  प्रदेश राजधानी बनाउने रहेको छ । क्षेत्र नं. २ र ३ बाट उम्मेदवार बनेकाले इटहरीलाई राजधानी बनाउने विषय प्राथमिकतामा राखेर चुनावी सभालाई  सम्बोधन गर्ने गरेका छन् ।
वाम गठबन्धनअन्तर्गत क्षेत्र नं. २ का माओवादी केन्द्रका उम्मेदवार डमरु सुवेदी,  प्रदेशसभा २ (क) का उम्मेदवार सर्वध्वज सावा र (ख) का उम्मेदवार रामप्रसाद मेहताले पूर्वकै केन्द्रमा परेकाले गर्दा इटहरी राजधानीका लागि उपयुक्त हुने बताउँदै आएका छन् । २ नं. क्षेत्रमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार सीताराम मेहता, प्रदेशतर्फ २ (क) का उम्मेदवार हेमकर्ण पौडेल र २ (ख) का उम्मेदवार राजीव कोइरालाले पनि इटहरीलाई राजधानी बनाउन कार्यकर्तामाझ विभिन्न आधार प्रस्तुत गर्दै मत मागिरहेका छन् । ‘सुनसरी क्षेत्र नं. २ पहाडको फेदीदेखि लिएर भारतीय सीमासम्म पर्छ, त्यसको मुख्य केन्द्र इटहरी त छँदैछ, पूर्वकै केन्द्रमा इटहरी पर्छ,’ कांग्रेसका मेहताले भने, ‘इटहरीबाहेक पूर्वका अन्य स्थान राजधानीका हिसाबले उपयुक्त मानिँदैनन् ।’
कांग्रेसबाट क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार विजयकुमार गच्छदार र वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरी पूर्वका पहाडी र तराईका जिल्लाको संगमस्थान इटहरी भएकाले राजधानीको अन्य विकल्प हुन नसक्ने बताउँदै आएका छन् । क्षेत्र नं. ४ का उम्मेदवारले भने आफ्नो चुनावी अजेन्डामा कोसी बाढीपीडितको समस्यालाई उठाउँदै आएका छन् । उनीहरुले पनि इटहरी नै राजधानीका लागि उपयुक्त भएको बताउँदै आएका छन् । २०६५ भदौ २ मा सप्तकोसीले तटबन्ध भत्काउँदै धार परिवर्तन गर्दा त्यति बेलाका चारवटा गाविसका मानवबस्तीमा क्षति पु¥याएको थियो । कोसीपूर्वको वराह नगरपालिका क्षेत्रका  बासिन्दा २०२२ सालदेखि पीडित छन् । अहिलेसम्म पनि पीडितले क्षतिपूर्ति र  मुआब्जाको माग राखेर बेलाबेलामा आन्दोलन गर्दै आएका छन् ।
२०४६ सालको परिवर्तनपछिका हरेक निर्वाचनमा प्रमुख मुद्दा बन्दै आएको बाढीपीडितको समस्यामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन । क्षेत्र नं. ४ लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठले कोसी बाढीपीडितका मुद्दा समाधानलाई मुख्य अजेन्डा बनाएका छन् ।
धनकुटामा पनि राजधानीकै सपना
    धनकुटाका प्रतिनिधि र प्रदेशसभाका सबै उम्मेदवारले १ नं. प्रदेशको राजधानी धनकुटा बनाउने मुद्दालाई अजेन्डाका रुपमा उठाएका छन् ।    धनकुटा राणाकालमा पूर्वकै प्रमुख प्रशासनिक तथा न्यायिक केन्द्रका रुपमा थियो । पञ्चायतकालमा २०२९ सालमा देशलाई विकेन्द्रीकरण गर्ने अवधारणाअनुरुप विकास क्षेत्रमा विभाजन गर्दा पूर्वाञ्चलको प्रमुख प्रशासनिक केन्द्रका रुप रहेको धनकुटा २०४६ सालको आन्दोलनबाट प्राप्त प्रजातन्त्रपछि पनि क्षेत्रीय सदरमुकामकै रुपमा रहेको थियो ।  
जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले पूर्वाधार व्यवस्थापन, उन्नत कृषि, कृषिमा आधारित उद्योगको विकास, रोजगारी, सुलभ र गुणस्तरीय शिक्षाजस्ता विषयलाई पनि चुनावी अजेन्डा बनाएका छन् ।
    वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार एमालेका राजेन्द्र राईले १ नं. प्रदेशको राजधानी धनकुटा बनाउनु आफ्नो मुख्य अजेन्डा रहेको बताए । धनकुटालाई राजधानी बनाउन वाम गठबन्धनले मात्र सक्ने दाबी पनि उनले गरेका छन् । राईले धनकुटाको बेलहरामा विमानस्थल बनाउने, तमोर करिडोरको सडक बनाउने, ग्रामीण सडकको स्तरोन्नति गर्ने, कृषि क्याम्पस सञ्चालन गर्ने, पर्यटन विकास गर्ने, कृषिमा आधुनिकीकरण, उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेलगायतका अजेन्डा अघि सारेका छन् ।
    त्यस्तै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापाले पनि धनकुटालाई प्रादेशिक राजधानी बनाउने अजेन्डालाई मुख्य रुपमा उठाएका छन् । अघिल्लो निर्वाचनमा आफूले गरेका बाचा पूरा गरेको बताउँदै उनले धनकुटालाई प्रादेशिक राजधानी बनाउनेदेखि आर्थिक समृद्धिका लागि काम गर्ने योजना सुनाए । त्यस्तै कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्ने र सबै धनकुटेली जनतालाई मध्यमस्तरको आय भएको नागरिक बनाउने योजना लोकतान्त्रिक गठबन्धनले अघि सारेको छ ।
वाम गठबन्धनबाट प्रदेशसभा (क) मा निरन राई र (ख) मा इन्द्रमणि पराजुली उम्मेदवार छन् । यता लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका मनोहरनारायण श्रेष्ठ प्रदेशसभा (क) मा र संघीय समाजवादी फोरमका अर्जुन थापा प्रदेशसभा (ख) मा उम्मेदवार छन् ।

प्रकाशित: ३० कार्तिक २०७४ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App