८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डोको अपेक्षाविपरित प्रदर्शन

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो विश्वकै स्टार फरवार्ड हुन्। पछिल्लो ८/१० वर्ष रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीले विश्व फुटबलमा राज गरेका छन्। यी दुई खेलाडी सात पटक विश्वका उत्कृष्ट फुटबल खेलाडी चुनिइसकेका छन्। तर, दुवै खेलाडी राष्ट्रिय टोलीको प्रदर्शनका कारण नभई व्यवसायिक फुटबलमा प्राप्त गरेको सफलताका आधारमा विश्वका उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। व्यवसायिक खेल जीवनमा जति सफल भए खेलाडीले राष्ट्रिय टोलीमा पुर्‍याएको योगदानका आधारमा उसको महानता नापिन्छ।

रोनाल्डो र मेसी दुवैले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन्। विश्वकप पछि महत्वका साथ लिइने युरोपियन च्याम्पियनसिपमा पनि रोनाल्डोको टोली सफल हुन सकेको छैन। व्यवसायिक रुपमा उनीहरु जुन उचाईमा छन्, समाकालिन खेलाडीले त्यो उचाई पाउन कठिन देखिन्छ। तथापि राष्ट्रिय टोलीको सवालमा रोनाल्डोको चर्चा गर्ने ठाँउ कमै भेटिन्छ।

जारी युरोपियन च्याम्पिनसिपमा उनलाई त्यो मौका थियो। तर उनी पछिल्ला दुई खेलमा नराम्ररी चुकिरहेका छन्। जुन शैलीमा उनी गोल गर्नका लागि चिनिन्छन्, त्यसमा उनी लगातार असफल भइरहेका छन्। जसले गर्दा पोर्चुगलको भन्दा रोनाल्डोको आलोचना बढि भइरहेको छ। पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको उनको टोली दोस्रो खेलमा अस्ट्रियासँग गोलरहित बराबरीमा रोकियो। त्यो दुवै खेलको नतिजाले सबैभन्दा वढी आलोचना पनि रोनाल्डोकै भयो। रोनाल्डो स्टारडममा रमाइरहेका खेलाडी हुन्। तर, जारी विश्वकपमा व्यक्तिगत रुपमा उनले जति दबाब सायदै अरु खेलाडीले भोगेको हुनुपर्छ। अस्ट्रियाविरुद्ध उनले पेनाल्टीमा गोल गर्न नसक्नु, अरु मौकामा चुक्नु र खेल दौरान उनले देखाउने हाउभाउले पनि उनी दबाबमा भएको प्रस्टै देखिन्थ्यो।

पोर्चुगल र रोनाल्डो पर्यायवाची जस्तै हुन्। रोनाल्डोका कारण पोर्चुगललाई पछ्याउने विश्वमा अनगिन्ती समर्थक छन्। तर, उनी  लगातार असफल भइरहेका छन्। त्यसले पोर्चुगललाई अघिल्लो चरण पुग्न कठिन त भएकै छ, त्यो सँगै रोनाल्डोको आलोचना गर्ने जमात पनि बढ्दो छ। युरोपियन च्याम्पियनसिपमा अव उनीसँग धेरै मौका नहुन पनि सक्छ। उमेरका कारण उनले अर्को युरोपियन च्याम्पियनसिप नखेल्न पनि सक्छन्। सुरुका दुई खेलमा असफल भएपछि अव उनीसँग हंगेरीविरुद्धको खेलमा टोलीलाई जिताएर 'कमब्याक' गर्ने एउटा सम्भावना भने बाँकी छ। रोनाल्डो जस्तोसुकै दबाबका बीच पनि आफूलाई खरो उतार्न सक्ने खुवी भएका खेलाडी हुन्। रियाल मड्रिड र म्यानचेस्टर युनाइटेडबाट खेल्दा उनले बारम्बार आफूलाई अब्बल सावित गरिसकेका छन्। तर, त्यो स्तरको प्रदर्शन राष्ट्रिय टोलीमा हुन सकेको छैन। सायद त्यो मामलामा भाग्यले पनि उनलाई ठगिरहेको छ।

फुटबलमा गोलका लागि पेनाल्टीभन्दा सजिलो अवसर अर्को छैन। रोनाल्डो जस्तो खेलाडीले पेनाल्टी मिस गर्छ भने त्यहाँ जित कठिन हुनेमात्र होइन, दर्जनौ प्रश्न उठ्छन्। विश्व फुटबलमा पेनाल्टी मिस गर्ने उनी पहिलो होइनन्, तर उनले गरेको मिसले टोलीमाथि परेको दबाबका कारण रोनाल्डोको क्षमता माथि नै प्रश्न उठ्न थालेको छ। कठिन अवस्थामा उनले पेनाल्टी मिस गर्नुको चर्को मुल्य पोर्चुगलले तिरिरहेको छ।

रोनाल्डोमात्र होइन टोलीका स्टार आन्द्रे गोमेज र नानी पनि असफल हुनु पोर्चुगलका लागि चिन्ताको विषय हो। फरवार्डलाइनले एकपछि अर्को गल्ती गरेपछि गोल भएन। टोली पूरै रोनाल्डोको वरिपरि घुम्छ। त्यसले टिम गेममा दबाब हुन्छ। रोनाल्डो असफल हुँदा पूरा टोलीनै असफल भएको छ। ग्यारेथ बेलको प्रदर्शनले वेल्सको मनोबल उच्च छ। तर रोनाल्डोमाथिको दबाबले पूरै पोर्चुगल टोली दबाबमा परेको अनुभव हुन्छ। च्याम्पियनसिप अघि समूह 'एफ' मा सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको पोर्चुगल अहिले अप्ठेरो अवस्थामा पुगेको छ।

पहिलो खेलको नतिजाको अशर दोस्रो खेलमा पर्छ। ठूला भनिएका टोलीको पहिलो खेल विग्रदा दोस्रो खेलमा त्यसले मनोवैज्ञानिक प्रभाव पार्छ। पोर्चुगलमाथि त्यो दबाब देखिएको छ। आइसल्यान्ड जस्तो टोलीसँग बराबरीमा रोकिएपछि त्यसको असर पोर्चुगलको प्रदर्शनमा परेको छ। रोनाल्डो र पोर्चुगलबाट ठूलो आशा गरिएको छ। तर उनीहरुबाट न्युनतम आवस्यकता पनि पूरा भएको छैन।

फरवार्डमा अग्रेसन र टेम्परामेन्ट आवस्यक छ। तर, त्यो एगे्रसन खेलमा हुनु पर्‍यो। नकी अन्य विषयमा। आइसल्यान्डसँग बराबरीमा रोकिएपछि रोनाल्डोले विपक्षीवारे तिखो टिप्पणी गरेका छन्। विपक्षीको सम्मान नगर्ने अनि अर्को खेलमा कमजोर प्रदर्शन गरेपछि रोनाल्डोको आलोचना आउने दिनमा अझै बढि हुन सक्छ। विपक्षीसँग वाक युद्ध गरेर मानसिक दबाब दिनुले सधै राम्रो गर्छ भन्ने छैन। ठूलो नाममा सबैको आँखा पर्छ। तर, खेलाडी पनि आखिर एउटा मानिस हो। उसमा पनि क्षमताको एउटा स्तर हुन्छ। इनर्जी लेभल सधै एकनास हुन्न। शारीरिक दबाब पनि हुन्छ। तर, सबै चुनौती सामना गर्न सक्नु 'क्लास प्लेयर'को खुवी हो। अपेक्षा वढि र प्रदर्शन कमजोर भएकाले उनी निकै निराश देखिन्छन्।

आइसल्यान्डका लागि पोर्चुगल जस्तो टोलीलाई रोक्नु जिते बराबर थियो। हंगेरीसँगको खेलमा पनि अघिल्लो खेलको उच्च मनोबल आयसल्यान्ड टोलीमा देखिन्थ्यो। पेनाल्टीमा भए पनि पहिला गोल गर्न सफल भयो। आत्मघाती गोलवाहेक उसका लागि सबै राम्रो मात्रै भएको थियो। रोनाल्डोको टोलीलाई रोक्न सक्यौं भने अरुलाई किन नसक्ने भन्ने मनोबल उनीहरुमा देखिन्थ्यो। अघिल्लो चरण नपुगे पनि टोलीले जारी च्याम्पियनसिपका दुई खेलमा बराबरी गर्दै पहिलो सहभागितालाई स्मरणीय बनाइसकेको छ।

प्रकाशित: ६ असार २०७३ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App