८ वैशाख २०८१ शनिबार
अर्थ

तालिमपछि पुनः निर्माणले गति लियो रसुवामा

रसुवाकाे हाकुमा भूकम्प प्रतिराेधी घर निर्माणका लागि ढुंगा फुटाउँदै स्थानीय । तस्बिर : रासस

रसुवा – पार्वतीकुण्ड–२, हाकुका ४२ वर्षीय सोनाम तामाङलाई भूकम्पले भत्काएको घर कसरी बन्ला भन्ने ठूलो चिन्ता थियो । हातमा सीप थिएन, घर बनाउन आवश्यक पैसा पनि थिएन । सरकारले दिने राहत रकमले घर बन्नेमा उनलाई विश्वास थिएन । किनकि निर्माण सामग्री आयात गर्नेदेखि काममा ज्यामी समेत पाउन मुस्किल छ । तर सोनामले सोचे जस्तो अप्ठेरो भएन गोरखा भूकम्पले भत्काएको घर बनाउन। 

पुनःनिर्माणका लागि सीप परियोजनाले गाउँमै डकर्मी तालिम दियो । गाउँका धेरैजसो युवा तालिममा सहभागी भए र सीप सिके । सोनामको घर पनि पर्मका रुपमा त्यहीँका युवाले बनाइदिए । आज भूकम्प प्रतिरोधी घर बनाएर ढुक्क भएका सोनाम भन्छन्, ‘वास्तवमै मेरा लागि खुसी घरमै आयो । सीप पनि सिकियो । अब रोजगारीको खोजीमा विदेश पनि जानु परेन।’

हाकुकै २४ वर्षीय दिनेश तामाङ कतार जान राहदानी बनाएर ठिक्क परेका थिए । विदेश जान ऋण पनि खोजिसकेको उनले बताए । पुनःनिर्माण सीप परियोजनाले गाउँमै तालिम दिएपछि कतार जाने मन मै आएन उनलाई । अहिले गाउँघरमै  मासिक ३५ हजार आम्दानी गरिरहेको बताए । दैनिक एक हजार दुई सयदेखि एक हजार पाँचसम्म घरमै बसीबसी आम्दानी हुन थालेपछि दिनेशको पनि खुसीको दिन फर्किएको छ । उनी भन्नुहुन्छ, ‘पहिले हातमा सीप थिएन । तार नै गएको भए पनि हामी जस्ता अदक्ष मान्छेले गर्ने भनेको ज्यामी, कुल्लीको काम नै हो।’ 

‘डकर्मीको तालिम लिएपछि एक दिन पनि फुर्सद छैन, विदेश जाने कुरा त अब सोच्न पनि सक्दिनँ, किन जाने विदेश ?’ उनले भने, ‘भूकम्पपछिको पुनःनिर्माणका लागि हामी नै योग्य भएका छौं । अब स्वदेशमै पुनःनिर्माणको अभियान चलाउने हो।’

हाकुकै १८ वर्षीय सोनाम पेम्बा तामाङ पढाइले सब–ओभरसियर हुन् । भूकम्प प्रतिरोधी घर कसरी बनाउने भन्ने तालिममा सहायक प्रशिक्षक भएर काम गरे । अहिले उनलाई फुर्सद छैन । भूकम्पले भत्काएको गाउँको घर, गोठ, विद्यालय बनाउन नेतृत्वदायी भूमिकामा छन्, उनी । पहिलेपहिले गाउँका बूढापाकाले मात्रै कच्ची घर बनाएको देखेका सोनाम अहिले आफैं सुरक्षित घर कसरी बनाउने भनेर तालीम दिँदै हिँड्नुभएको छ। 

घरमै बसीबसी मासिक ४० हजारसम्म कमाइ हुने गरेको बताउने सोनाम भन्छन्, ‘हामी नेपाली युवा हातमा सीप नभएर बिग्रिएका हौं । अहिले मेरो हातमा सीप पनि छ । घर कसरी बनाउने भन्ने पनि जानेको छु । अरुलाई पनि तालीम दिन्छु । कोही पनि युवा विदेश जानु पर्दैन अब।’

हेल्भेटास नेपालको सहयोगमा रसुवा जिल्लाभर १६ देखि ४० वर्षसम्मका महिला तथा पुरुषलाई भूकम्पबाट भत्किएका घर तथा आवास बनाउने ५० दिने डकर्मी तालिम दिइएको छ । तालिमकै क्रममा १० जना प्रशिक्षार्थी, एकजना मुख्य प्रशिक्षक र एक सहायक प्रशिक्षकले सहजीकरण गरेका छन् । तालिम लिँदालिँदै दुईवटा घर ५० दिनको अवधिमा निर्माण गर्ने काम पनि भयो। 

तािलम अवधिमा हेल्भेटासले ४५ हजार बराबरको निर्माण सामग्री पनि प्रदान गरेको छ । पुनःनिर्माण प्राधिकरणले तय गरेको कार्यक्षेत्र र कार्यविधिमा रहेर निर्माण गरिएका त्यस्ता घरले तीनै किस्ताको सरकारी अनुदान समेत पाइसकेका छन् । पुनःनिर्माण सीप परियोजनाअन्तर्गत सिन्धुली, काभ्रेपलान्चोक, मकवानपुर, ओखलढुंगा, धादिङ र रसुवाका साबिक एक सय १३ गाविसमा ६ हजार पाँच सयजनालाई ५० दिने डकर्मी, एक हजार ३० जनालाई सातदिने सिकर्मी तालिम दिइसकिएको छ । यस्तै स्विस विकास सहयोगको आर्थिक सहयोगमा रोजगार कोषले रामेछाप जिल्लाका तीन सय ५० युवालाई डकर्मी तालिम पनि दिएको छ। 

रसुवा जिल्लाको हकमा साबिकको १३ गाविसमा ६ सय ८० जनालाई ५० दिने डकर्मी तालिम, एक सय ३० जनालाई सातदिने सिकर्मी तालिम सञ्चालन गरिएको थियो । तालिम अवधिमा मात्रै एक सय ३६ घर निर्माण भएका थिए । तालिमपछि हालसम्म ४५ घर निर्माण भएका छन् । सो परियोजनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को भूकम्प प्रतिरोधी प्रविधिसहितको डकर्मी तालिम तथा सिकर्मी तालिमका लागि परिमार्जित पाठ्यक्रममा रही निजी क्षेत्रका तालिम तथा रोजगार सेवा प्रदायक संस्थामार्फत तालिम दिएको हो। 

तालिमपछि हालसम्म करिब दुई हजार घर निर्माण सम्पन्न भइसकेका छन् । हेल्भेटास नेपाल रसुवाका प्रमुख संजिवकुमार राई तालिमका कारण रसुवाको पुनःनिर्माणले गति लिएको र गाउँमै रोजगारीको अवसरमा समेत वृद्धि भएको बताए। 

‘सुरुसुुरुमा तालिम गराउन हामीलाई असाध्यै गाह्रो भयो, हामीले सीप सिकाउन खोज्यौं तर केही संस्थाले सीपभन्दा पनि मोटो रकम भत्तामा खर्च गरेका कारण स्थानीय बासिन्दाको दिमागमा गलत सन्देश पुगेको थियो, हामीले विस्तारै सीप सिकाएपछि रसुवालीमा नयाँ चेतनाको विकास भएको छ, पुनःनिर्माणले गति लिएको छ,’ राईले भने। 

पुनःनिर्माणका लागि स्थानीय बासिन्दालाई नै अग्रसर गराउने लक्ष्यका साथ पुनःनिर्माणका लागि सीप परियोजना कार्यक्रम सुरु गरिएको हो । पुनःनिर्माण प्राधिकरणले त्यस्तो कार्यक्रमलाई सूचीकृत मात्रै गरेको छैन, कार्यान्वयनका लागि सहजीकरण पनि गरेको छ । हेल्भेटासका सूचना अधिकृत कृति भुजु तालिम परियोजनाका कारण स्थानीयवासीले प्राप्त गरेको सीप र रोजगारीको अवसर नै सबैभन्दा महŒवपूर्ण काम भएको छ। 

आर्थिक रुपले विपन्न तथा सामाजिक रुपमा विभेदमा परेका व्यक्तिलाई सिकर्मी तथा डकर्मी बनाइएको छ । तालिमका क्रममा निर्माण भएका घर तथा आवासको गुणस्तर निश्चित गर्न फोटोमार्फत अनुगमन गरिएको छ। 

पुनःनिर्माणका लागि सीप कार्यक्रमले नतिजामा आधारित भुक्तानी प्रणालीलाई अवलम्बन गरेको छ । निर्माण क्षेत्रमा सीपयुक्त जनशक्तिको रुपमा काम गरी तोकिए बमोजिमका आयआर्जन गरेको खण्डमा मात्रै रोजगार कोषले तालीम तथा रोजगार सेवा प्रदायकलाई भुक्तानी दिने गरेको क्रियटिभ स्किल नेपालका इन्जिनियर सन्तोष प्रधानको भनाइ छ । 
रसुवाका सातप्रसाद तामाङ तालिमपछि निर्माण भएका अधिकांश घर तथा आवासले पुनःनिर्माण प्राधिकरणले प्रदान गर्ने तीनवटै किस्ताको रकम आफूहरूले लिएको बताउँछन् । उनले भने, ‘हाम्रो गाउँमा सबैले सीप सिकेका छन् । कोही पनि बेरोजगार छैनन् । विदेश जान खोज्ने पनि गाउँमै छन् । सिकेको सीप कहीँ जाँदैन । आगामी दिनमा पनि काम लाग्छ । गाउँको पुनःनिर्माण सकिएपछि अरु गाउँमा गएर घर निर्माण गर्ने योजनामा छौं हामी त।’

गोरखा भूकम्पका कारण रसुवाको १२ हजार एक सय ११ घर क्षति भएको विवरणसहित सर्वेक्षणमा परेको थियो । त्यस्तै, लाभग्राही सूचीमा ११ हजार ६ सय २९ घर परेका थिए । पुनःनिर्माण प्राधिकरणका अनुसार १० हजार सात सय घर निर्माणका लागि अनुदान सम्झौता भएको छ । यसैगरी, नौ हजार आठ सय ८० घरले पहिलो किस्ता लिएका छन् भने एक हजार सात सय ५८ घरले दोस्रो किस्ता र आठ सय ३२ घरले तेस्रो किस्ता समेत लिइसकेका छन् । 

प्रकाशित: २९ कार्तिक २०७४ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App