८ वैशाख २०८१ शनिबार
अर्थ

उत्पादन कम हुँदा तरकारीको भाउ अाकासियो

धादिङको चरौदी स्थित तरकारी तथा फलफुल संकलन केन्द्रमा तरकारीको किनबेच गरिदै । तस्बिर : सरिता

सरिता श्रेष्ठ
धादिङ – तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा बर्सेनि तरकारी उत्पादन घट्दै छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पनि उत्पादन घटेको छ । बढ्दो औद्योगिकीकरण र तरकारी फल्ने खेतबारीमा बस्ती विस्तारले उत्पादनमा कमी आएको हो।

तरकारी उत्पादन हुने जीवनपुर, नौबिसे, छत्रेदेउराली, थाक्रे, गोगनपानी, धुषा, नलाङ, सलाङ्का क्षेत्रमा बढ्दो औद्योगिकीकरण र बस्ती विस्तारले उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए । ‘गत वर्षको तुलनामा तरकारी उत्पादन कम भएका कारण बजारमा तरकारीको मूल्य बढेको हो,’ देवकोटाले भने। 

व्यापारीले खेतबारीमै प्रतिकिलो काउली ६० रुपैयाँ, सिमी ७० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, साग ३० रुपैयाँमा खरिद गर्ने गरेका छन् भने उक्त तरकारी दोब्बर, तेब्बर मूल्यमा बिक्री गर्ने गरेका छन् 

तरकारीको पकेट क्षेत्र मानिने धुनीबेसी नगरपालिकाको जीवनपुर, नौविसे क्षेत्रमा पछिल्लो समय इँटाभट्टा तथा औद्योगिक क्षेत्र विस्तार बढ्दै गएको छ । ‘उत्पादन हुने क्षेत्रमा बस्ती विस्तार भएका कारण पनि तरकारी उत्पादन कमी आएको हो,’ उनले भने । आपूर्ति कम भएका कारण तरकारीको मूल्य फरक पर्न गएको उनको भनाइ छ।

पछिल्लो दुई सातायता तरकारीको मूल्य झन्डै सय प्रतिशतले बढेको छ। सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, काउली, गोलभेंडा लगायत तरकारीको मूल्य दोब्बरले बढेको छ। 
धादिङमा उत्पादन भएका तरकारी काठमाडौंको कालीमाटी, बल्खु र पोखरा, चितवनलगायत सहरमा निर्यात हुने गरेको छ । जिल्लामा ६ हजार दुई हेक्टर जमिनमा तरकारी खेती गरिन्छ । यसबाट वार्षिक ७२ हजार २४ मेट्रिक टन तरकारी उत्पादन हुने कृषि विकास कार्यालय धादिङको तथ्यांकमा उल्लेख छ । उत्पादन भएका तरकारी जिल्लाबाट वार्षिक रुपमा ५४ हजार १८ मेट्रिक टन तरकारी अन्य जिल्ला निर्यात हुने गर्दछ । गत वर्ष हिउँदको समयमा २८ हजार नौ सय ५५ मेट्रिक टन तरकारी उत्पादन भएको थियो तर अहिले २६ हजार ५१ मेट्रिक टन तरकारी उत्पादन भएको कार्यालयले जानकारी दिएको छ। 

व्यापारीका अनुसार तरकारी संकलन केन्द्र धार्केबाट मात्रै दैनिक १० देखि १५ टन तरकारी कालीमाटी र बल्खु पुग्ने गर्दछ । अघिल्लो वर्षतिर २० देखि २५ टनसम्म तरकारी पठाइँदै गएकोमा यो वर्ष तरकारी उत्पादन घटेको व्यापारी प्रमोद कोइराला बताउँछन् । उनले भने, ‘असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु जस्ता कारणले बजारमा तरकारीको मूल्य बढेको हो। 

तरकारी उत्पादन गरेर लाखौं कमाउने किसान उत्पादन घटेपछि संकटमा परेका छन् । पहिले तरकारी पल्ने फाँटमा अहिले जताततै इँटाभट्टा छ । त्यहीँ भट्टाबाट निस्किएको प्रदुषणले तरकारी उत्पादन घटेको प्राविधिकहरु बताउँछन्। 

अहिले किसानको खेतबारीमै प्रतिकिलो काउलीको ६० रुपैयाँ, सिमीको ७० रुपैयाँ, हरियो प्याजको ८० रुपैयाँ, सागको ३० रुपैयाँमा व्यापारीले खरिद गर्ने गरेका छन् । किसानसँग यति पैसामा लिएको तरकारी व्यापारीले दोब्बर–तेब्बर मूल्यमा बेच्ने गर्छन् । उता उपभोक्ता भने तरकारीको भाउले भान्सा महंगिएको गुनासो गर्छन् । उपभोक्ताहरुले तिरेको मूल्यको झन्डै तीन गुणा कम मूल्य मात्रै तरकारी उत्पादक किसानले पाउने गरेको उनीहरुको भनाइ छ। 
   
‘बिहान तीन बजेदेखि डोकोमा तरकारी लिएर तीन घन्टा हिँडेर बजार आयो, घरमा छोराछोरीलाई कापी कलमको जोहो गर्न नि मुस्किल,’ नलाङका हरि सिलवाल बताउँछन् । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य कृषिजन्य बस्तु बिक्रीका लागि बजारको व्यवस्था नगरी दिएका कारण यस्तो अवस्था आएको गुनासो गर्छन् । सरकारले बजार मूल्यमा एकरुपता र बिना बिचौलिया सोझै किसानले तरकारी बिक्री गर्न पाउने हो भने यो आम्दानीमा झन्डै दोब्बर हुने किसानको भनाइ छ। राज्यले पनि कृषि उपजमा कति नाफा लिन पाउने भन्ने उपयुक्त नीति बनाउनु आवश्यक छ । उत्पादन गरेको तरकारी जन्य बस्तुको बजार व्यवस्था गरिदिएको खण्डमा किसानलाई सहज हुने र युवा पुस्तासमेत व्यावसायिक कृषितर्फ आकर्षित हुने किसानको भनाइ छ। 

विशेषगरी धादिङको दक्षिणी र राजमार्ग क्षेत्रमा उल्लेख्य मात्रामा तरकारी खेती हुँदै आएको छ । किसानले उत्पादन गरेको तरकारी भने आफैंले खोलेको संकलन तथा बिक्री केन्द्रमार्फत बजारमा पठाउँदै आएका छन् । तरकारी संकलन केन्द्रको आँकडा अनुसार गत आर्थिक वर्षमा एउटै सहकारीले नौ सयदेखि दुई हजार मेट्रिक टनसम्म तरकारी संकलन गरेर बजारमा पठाएको छ । धादिङ जिल्लाभर ११ वटा कृषि सहकारीले तरकारी संकलन गरी विभिन्न सहरमा बिक्रीका लागि पठाउने गर्दछन् । सरकारले कृषि क्षेत्रको विस्तारका लागि युवा लक्षित कार्यक्रम अन्तर्गत विभिन्न अनुदान राखेर कृषि पेसामा युवा पुस्ताको आकर्षण बढाएको छ । युवा लक्षित कार्यक्रम अन्तर्गत सरकारले विभिन्न सहुलियत र अनुदान दिन थाले पनि कृषि पेसातिर खासै आकर्षण देखिँदैन। 

प्रकाशित: २९ कार्तिक २०७४ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App