८ वैशाख २०८१ शनिबार
कला

विपिन, माओत्से, सौगात र दयाहाङलाई क्रिटिक्स अवार्ड

काठमाडौं – विपिन कार्की र माओत्से गुरुङ, सौगात मल्ल र दयाहाङ राई समीक्षकको नजरमा उत्कृष्ट अभिनेता घोषित भएका छन् । फिल्म समीक्षक समाजले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै चार अभिनेता तीन वर्षका लागि उत्कृष्ट भएको जानकारी गराएको हो।

विपिन फिल्म ‘जात्रा’, माओत्से ‘पुरानो डुङ्गा’, सौगात ‘फन्को’ र दयाहाङ ‘कबड्डी’ बाट उत्कृष्ट भएका हुन् । २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्न लागेको जनाउँदै समाजले केकी अधिकारी, रिस्मा गुरुङ र प्रियंका कार्कीलाई उत्कृष्ट अभिनेत्री चयन गरेको जनाएको छ ।  केकी ‘लभसासा’, रिस्मा ‘कबड्डी कबड्डी’ र प्रियंका  ‘सुन्तली’का लागि उत्कृष्ट ठहरिएका हुन्।

आगामी मंसिर ६ मा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा उक्त अवार्ड वितरण गरिने फिल्म समीक्षक समाजले जनाएको छ ।
प्राविधिक कारणले विगत तीन वर्षदेखि रोकिएको अवार्ड एकसाथ वितरण गर्न लागिएको जानकारी समाजले प्रेस विज्ञप्तिमार्फत गराएको छ । तीन वर्षमा प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा सर्वोत्कृष्ट हुने चलचित्र, निर्देशक, कलाकार र प्राविधिकलाई अवार्ड प्रदान गरिन लागेको हो।

समीक्षक समाजमा आबद्ध सम्पूर्ण सदस्यको भोटका आधारमा उत्कृष्ट मानिने परम्पराअनुसार २०७३ सालमा रिलिज भएका फिल्ममध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा  मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड बार्कर (सेतो सूर्य), छायांकन अजिज जम्भाकिभ (कालोपोथी), अभिनेता बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)ले पाउने घोषणा गरिएको छ ।
त्यस्तै, २०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपतिप्रसाद’, निर्देशक दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद), पटकथा  खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन  शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), सम्पादक सुरेन्द्र पौडेल (क्लासिक), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिस्मा गुरुङ (कबड्डी कबड्डी) घोषित भएका छन्।

२०७१ सालका विजेताको नाम यसअघि नै घोषणा भइसकेको थियो । जसअनुसार सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायाङकन अन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) उत्कृष्ट घोषित भएका थिए।

‘प्राविधिक कारणले क्रिटिक्स अवार्ड घोषणा र वितरण कार्य समयमा गर्न सकेका थिएनौं । यसपटक तीन वर्षको अवार्ड एकसाथ वितरण गरिरहेका छौं,’ नेपाल चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले भने, ‘नेपालमा निर्माण भइरहेका राम्रा कथा र शील्प बोेकेका फिल्मलाई प्रोत्साहन गर्न अवार्डको आयोजना गरेका हौं।’

प्रकाशित: २९ कार्तिक २०७४ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App