८ वैशाख २०८१ शनिबार
विचार

इतिहास पुनर्लेखन गर्नुपर्दैन ?

नेपालको प्राचीन र मध्यकालीन इतिहास मुख्यतः तीन कालमा बाँडिएको छ— किरात काल, लिच्छवि काल र मल्ल काल । सन् १७६९ मा शाह काल सुरु भएपछि यसलाई आधुनिक काल मानिएको छ । प्राचीन र मध्यकालमा जे जति राज्य देखिए ती सबै नेवार जातिको छातामुनि चलेको पाइन्छ । त्यसकारण प्रश्न उठेको छ कि के ती सबै कालहरूलाई नेवार काल भन्न मिल्दैन ? 

इतिहास प्राध्यापक सुरेन्द्र केसीले भन्नुभएको छ, ‘नेपालमा मानव सभ्यताको केन्द्रविन्दु काठमाडाँै उपत्यका रह्यो । काठमाडौँ उपत्यकामा विकसित भएको सभ्यता नै नेपालको इतिहासमा यस्तो सभ्यता थियो जो अविछिन्न रूपमा जीवन्त रही वर्तमान अवस्थासम्म आइपुग्यो ।’ त्यसकारण नेपालको इतिहास काठमाडौँ उपत्यका केन्द्रित भएको बुझिएको र लेखिएको पाइन्छ । 

इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइअनुसार प्राचीनतम नेपालको क्षेत्र भौगोलिकरूपमा त्यति विशाल थिएन । नेवारहरूको आवादी रहेको वर्तमान काठमाडाँै उपत्यका र यसको आसपासको क्षेत्रमा मात्र यति बेलाको नेपाल सीमित रहेको झलक पाइन्छ । जुन समयमा बागमती नदीका सिरानको उपत्यकामा नेपार वा नेवारहरूको आवादी फैलिएको थियो, त्यस समयमा वर्तमान नेपालको प्रायः सम्पूर्ण पहाडी प्रदेश जंगलै जंगलले ढाकिएको थियो । उहाँले काठमाडौँ उपत्यकामा नेपार वा नेवारहरूको सभ्यताको उत्थान इसापूर्व ७५० को आसपासदेखि भएको अनुमान गर्नुभएको छ । 
नेपालको ऐतिहासिक काल यसै बेलादेखि सुरु भएको मानिन्छ । किरात काल पनि यहीँबाट सुरु हुन्छ । उहाँको भनाइअनुसार यसको प्रारम्भको दुई सय वर्षको नेपालमा नेपार वा नेवारहरूको शासन व्यवस्था प्रजातन्त्रात्मक भएको संकेत पाइन्छ । नेपालमा रहेका किरात वर्गका नेवारहरू भने एउटै वर्गका हुनाले यिनमा जातपात र उँचनीचको भेदभाव थिएन । फलस्वरूप यहाँका सबै निवासीहरूलाई समान नागरिक अधिकार प्राप्त थियो । यसमानेमा नेवारहरूको प्रजातन्त्रात्मक किरात राज्य निकै नै व्यवस्थित र दह्रो भएको पाइन्छ । तर यो समयपश्चात् नेपालको राज्य राजतन्त्रात्मक परिणत भयो र पुग न पुग किरात काल ८०० वर्षसम्म कायम रह्यो । 

त्यसपछि नेपालमा लिच्छवि काल सुरु भएको मानिन्छ । इतिहासकारहरूले यसको तिथिमिति तोक्न गाह्रो माने तापनि यो ईस्वी प्रारम्भको दुई चार सय वर्ष यताउतिमा भएको मान्छन् । तर उनीहरू यस कुरामा मतैक्य छन् कि ती लिच्छविहरू भारतको वैशाली क्षेत्रबाट आएका थिए । मगध राज्यका राजा अजातशत्रुले उनीहरूको गणतन्त्रात्मक राज्य आफ्नो राज्यमा मिलाएपछि लिच्छविहरू नेपालतिर पसेका थिए । बाबुराम आचार्यको भनाइअनुसार लिच्छविहरू नेपालतर्फ आउँदा एकै जमातमा आएका थिएनन् । पटकपटक गरी कम संख्यामा आएका थिए । यसैले यिनीहरू यहाँ आएर स्थानीय किरात नेवारहरूकै समाजमा घुलमिल भए । फलतः यिनीहरू किरात नेवारहरूकै सभ्यता र संस्कृतिहरूद्वारा प्रभावित हुँदै आएका थिए । यसै स्थितिमा राजसत्तामा रहेका स्थानीय किरात नेवारहरूमाथि आफ्नो राजनैतिक एवं सांस्कृतिक प्रभाव जमाउँदै ल्याएर यिनीहरू एकाध शताब्दीको बीचमा नै यहाँको किरात राज्यमाथि लिच्छवि राज्य स्थापना गर्न समर्थ भएका देखिन्छन् । 

उहाँको भनाइअनुसार नेपाल पसेका ‘लिच्छविहरूमा अधिकांश क्षत्रिय थिए तर विदेहहरूमा भने ब्राह्मणहरूको प्राधान्य रहेको थियो । यिनीहरूको साथमा धोबी, तेली, चमार, डूम आदि शुद्रहरू पनि अवश्य थिए होलान् । यी सबै वर्गहरू यहाँ आएर पछि किरात नेवारहरूकै समाजमा घुलमिल भएको देखिन्छ । नेपालको स्थानीय किरात समाज मूलरूपमा जातपात र छुवाछूत मान्दैनथ्यो, तर लिच्छवि र विदेहहरूले भने जाति प्रथा र छुवाछूतको भावनालाई कायमै राखेको संकेत पाइन्छ । यिनीहरूले बहुसंख्यक स्थानीय निवासी किरात नेवारहरूकै भाषा, भेषभूषा र रहनसहनबाट प्रभावित भई यिनीहरूले यहाँकै सांस्कृतिक परम्परालाई अनुसरण गर्न विवश हुनुपर्दा किरात नेवारहरूले अपनाउँदै आएको प्राचीन मूल संस्कृति र लिच्छवि, विदेह तथा अन्य नवान्तुक आर्यावर्तीय आर्यहरूले अपनाउँदै आएको आर्य संस्कृतिको मेलबाट यहाँ एक विशिष्ट किसिमको नेपाली संस्कृतिको जग बसिसकेको पाइन्छ ।’ 

लिच्छविहरूले लिच्छवि वंशको चेतना र भावना नबोकेको र उनीहरू सहज किसिमले नेवार समाजमा विलय भएको बलियो प्रमाण पनि पाइन्छ । सुरेन्द्र केसीले भन्नुभएको छ, पशुपति अभिलेख लिच्छवि राजाहरूका बारेमा प्रामाणित ढंगबाट जानकारी दिने निकै भरपर्दो ऐतिहासिक सामग्री हो । तर त्यसमा न त लिच्छवि वंशको वैशालीसँग रहेको सम्बन्ध सूत्रलाई देखाइएको छ, न नेपाल उपत्यकामा लिच्छवि राज्यको संस्थापकबारे नै कुनै संकेत गरिएको छ। 

पुरातात्विक अनुसन्धानकर्ता जनकलाल शर्माले यसलाई अझ प्रस्ट पार्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘काठमाडौँ उपत्यकामा समय समयमा विभिन्न जातिको प्रवेश हुँदै रह्यो र ती आगन्तुक जातिको एउटा हुलको शासन रहुन्जेल आफ्नु बेग्लै अस्तित्व कायम देखिए तापनि शासन समाप्त हुनासाथ त्यो हुल यहीँका बासिन्दामा समाविष्ट भएको अनुमान हुन्छ । यस क्रममा जति जाति बाहिरबाट आए ती आफ्नु शासन समाप्त हुनासाथ यहीँका स्थानीय बासिन्दामा विलीन भए । यसरी एकपछि अर्को जातिको दल आएर शासन ग¥यो र अर्को त्यो भन्दा बलियो जाति आएर उसबाट विजित हुनासाथ त्यो पहिले शासन गर्ने हुलका मानिस यहीँका स्थानीय बासिन्दासित एउटै रहनसहनमा मिसिँदा छुट्टै जाति जस्तो समूह नै बन्दै गयो । किरात, मंगोल, लिच्छवि र मल्लहरूको विलय यसै क्रमले बृहत्तर नेवारी समाजमा हुँदै आएको देखिन्छ । यस क्रममा यही कुरा भन्न सकिन्छ कि पृथ्वीनारायण शाहको एकीकरण अभियानभन्दा पहिले जति पनि शासक आए ती यसै स्थानीय समाज अर्थात् नेवारी समाजमा मिले ।’

जहाँसम्म मल्लहरूको सवाल छ, उनीहरूबारे भने धेरै कुरा प्रस्ट छ । सुरेन्द्र केसीले भन्नुभएको छ, नेपालमा दुई प्रकारका मल्लहरू देखिएका छन् । काठमाडौँका नेवार मल्ल र सिञ्जातिरका खस मल्ल । यी दुई मल्लहरूबीचमा पारिवारिक सम्बन्ध रहे नरहेको कुरा किटानी गरी भन्न नसकिने खुलासा केसीले गर्नुभएको छ । तर यहाँ काठमाडौँको मल्ल वंशको इतिहाससित मात्र सन्दर्भ रहेको छ । यसबारे केसीले प्रस्ट गर्नुभएको छ । इसाको तेह्रौँ शताब्दीमा नेपाल उपत्यकामा एकाएक मल्ल वंश सत्तामा देखाप¥यो । यसका प्रथम शासक अरि मल्ल भए । यसकालमा एकल, संयुक्त र एकान्तर रूपमा बेग्लाबेग्लै वंशले शासन गरेको पाइयो । मल्ल वंशका संस्थापक अरि मल्ल तथा उनका छोरा अभय मल्लद्वारा एकल प्रशासन चलाएको देखिन्छ भने तत्पश्चात् द्वैध शासनको अस्तित्व रहेको देखिन्छ । केन्द्रको यसै कमजोरीका कारण नेपाल मण्डलमा बाहिरी राज्यहरूबाट बारम्बार आक्रमण हुने ग¥यो भने अन्तिम रूपमा ती राज्यहरू भित्रै अन्तरध्वंशको स्थिति उत्पन्न भई तिनीहरू पलायन हुन पुगे । तर नेपाल मण्डल भने उपत्यकाभित्र मात्र नै भए तापनि जीवित रहन सक्यो। 

काठमाडौँ उपत्यकाको मल्लकालमा एउटा रोचक घटना घटेको देखिन्छ । अरि मल्ल राजा भएको तेह्रौँ राजा मल्ल वंशबाट बाहिरका मानिस राजा हुन पुगे । उनको नाउँ थियो, जयस्थिति मल्ल । उनी मल्लवंशका थिएनन् । उनी सिम्रौनगढ राज्यबाट आएका थिए । उक्त राज्यको विनाश पछि त्यहाँको राजपरिवारले भक्तपुरको मल्ल दरबारमा राजनीतिक शरण पाएको थियो । कालान्तरमा सिम्रौनगढका राजारानीका सुपुत्र जगतसिंह कुह्यरसँग मल्ल राजा रुद्र मल्लकी छोरीसँग विवाह भयो । उनको नाउँ राजल्लदेवी थियो । उनको पतिको हैसियतले जयस्थिति मल्लको हातमा मल्ल राज्याधिकार आइलाग्यो । तत्पश्चात् नेपाल उपत्यकामा उनकै वंशको राज्य चल्यो । यसरी परोक्षतः सिम्रौनगढ राज वंश परम्परा नै नेपाल राज्यमा पनि प्रचलित भयो । जहाँसम्म नेपालको प्रचलित मल्ल वंशको प्रश्न छ, प्रामाणिकरूपमा भने सन् १२०० मा उपत्यकामा अरि मल्लका रूपमा देखापरेका राजा नै मल्ल पदवी धारण गर्ने नेपाल उपत्यकाका प्रथम मल्ल राजा देखिएका छन् । मल्ल कालका अठारौँ राजा यक्ष मल्ल एकीकृत नेपाल (काठमाडौँ उपत्यका) आखिरी राजा भए । त्यसपछि सो राज्य पहिले ३ भागमा बाँडियो भने पछि ५ भागसम्म बाँडिन पुग्यो । यी सबै राज्यहरूमा करिब ९० जना राजा भए । पछि सन् १७६८ मा मल्ल राज्य समाप्त भयो। 

किरातकालबाट लिच्छविकाल कहिले र कसरी सुरु भयो भन्ने प्रस्ट छैन । किरात कालमा नेवारहरूको शासन चलेको मानिसकिएको छ । त्यसैकालमा लिच्छविहरू नेवार समाजमा घुलमिल गरेर सत्ता हात पारेको तथ्य पनि खुलिसकेको छ । तर उनीहरूले कतै हामी नेवार होइनौँ, हामी लिच्छवि हौँ भनेर खुलाएका छैनन् । त्यसमा पनि उनीहरूले तत्कालीन नेवारी सभ्यता संस्कृति अपनाइसकेका थिए । अतः लिच्छविकाललाई पनि नेवारी काल भन्न के गलत हुन्छ ? मल्लकाल कहिलेदेखि सुरु भयो भनेर सन् १२०० तोकिएको छ । तर पहिलो मल्ल राजा अरि मल्ल कसरी राजा भए भन्ने कतै खुलाइएको छैन । त्यसभन्दा अगाडिका राजाहरू देव नामबाट जानिएका छन् । तर मल्लकाल सुरुआत गर्ने अरि मल्ल पछि पनि रणशूरदेव, जयदेव, भीमदेव, राजदेव, अर्जुनदेव नामका राजा भएका देखिन्छन् । यदि यी देवहरूलाई मल्ल भएको स्वीकार्न सकिन्छ भने अरि मल्लभन्दा अगाडि उही देवको नाउँ भएका २९ राजाहरूलाई मल्ल कालमा समावेश गर्न सकिन्न ? यदि सकिन्छ भने नेपालको इतिहासमा शाह कालको आरम्भ सन् १७६९ भन्दा अगाडि याने २५०० वर्षसम्म नेवार काल रहेको के स्वीकार्न सकिन्न ? 

प्रकाशित: २९ कार्तिक २०७४ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App