७ वैशाख २०८१ शुक्रबार
खेल

अनिल युगको अन्त्य

अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिन लागेका कप्तान अनिल गुरूङलार्इ उचालेर मैदान गराउँदै सहकर्मी । तस्बिर: विजय गजमेर

काठमाडौं– नेपाली राष्ट्रिय टोलीको १० नम्बर जर्सीसँगै अनिल, अनिल भन्दै चिच्याउने समर्थकको आवाज अनिल गुरुङले अब सधैँका लागि ‘मिस’ गर्नेछन् । त्यसो त नेपाली दर्शक, राष्ट्रिय टोलीको १० नम्बर जर्सी र फुटबल मैदानले पनि अनिल गुरुङको सान्निध्य अब पाउने छैनन्। 

नेपाली राष्ट्रिय टोलीसँगका सुनौला १० वर्ष, ५० अन्तर्राष्ट्रिय खेल र ९ अन्तर्राष्ट्रिय गोल अब अनिलसँगै नेपाली फुटबलका लागि इतिहासमा सीमित हुने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीमा एउटा युगको अन्त्य भएको छ। 

समर्थकलाई मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फिलिपिन्सविरुद्धको खेल अनिलका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल भएको थाहा थियो । ८१औं मिनेटमा सुजल श्रेष्ठलाई स्थानान्तरण गर्दै अनिल ५०औं अन्तर्राष्ट्रिय खेलका लागि मैदान छिर्दा समर्थक र उनी दुवैमा एउटा अनुपम कोसेढुंगो छुनुको उत्साह थिएन । थियो त केवल बिदाइको पीडादायी भावना मात्र । त्यसैले पूरा खेल अवधिभरि समर्थक अनिल, अनिल भनेरै चिच्याइरहेका थिए । स्वयम् अनिल भने मैदानभित्र विपक्षीसँग संघर्ष गरिरहे पनि कतै हराइरहेका थिए । उनको ध्यान फुटबलभन्दा बढी समर्थक, अत्यन्तै प्यारो १० नम्बर जर्सी र मैदानसँग राष्ट्रिय खेलाडीका रूपमा सधैंका लागि बिदा हुनुपर्ने पीडाले बढी तानेको थियो । 
राष्ट्रिय टोलीका कप्तान अनिलको अनुपस्थितिमा टोलीको नेतृत्व गरेका विराज महर्जनले सुजललाई स्थानान्तरण गर्दै अनिल मैदान छिर्नेबित्तिकै आर्म ब्यान्ड फुकालेर अनिललाई बाँधेका थिए । त्यसले अनिल अनि सातदोबाटोमा उपस्थित समर्थकलाई थप भावुक बनायो। 

रेफ्रीले खेल सकिएको जनाउस्वरूप सिटी फुक्दा अनिल मैदानमा अवाक् थिए । फिलिपिन्ससँग अपेक्षा गरेभन्दा माथिको गोलरहित बराबरी नतिजा निकालेको खुसी प्रकट गर्न उनका आँखा असफल भइरहेका थिए । उनलाई जीवनकै प्याराहरूसँग बिछोडिनुपर्ने पीडा जो थियो । पीडासँगै उनी घरेलु फुटबल मैदान र समर्थकप्रति उत्तिकै कृतज्ञ पनि थिए। खेल सकिनेबित्तिकै टिम सहयात्रीको काँधमा बोकिएर समर्थकसँग बिदा माग्न उनले मैदान परिक्रमा गर्दा त्यही देखिन्थ्यो। अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरुले कोट र खादा लगाएर बिदाइ गरेलगत्तै पत्रकारबाट घेरिएका अनिल केही नबोली मैदानको मध्यभागमा पुगे । पत्रकारहरूको ठूलो हूलले पछ्याइरहेका उनले कर्मथलोप्रति कृतज्ञता जाहेर गर्न एन्फाले दिएको प्रशंसापत्र भुइँमा राखे र घोप्टिएर मैदानलाई धेरैबेर ढोगिरहे। 

‘म आज जहाँ छु, यही मैदान र अहिले प्यारापिटमा रहनुहुने समर्थककै कारण हो । यो मैदानमा मैले कति रगत–पसिना बगाएको छु, त्यो मलाई थाहा छ । यो मैदानलाई थाहा छ र तपाईंहरूलाई थाहा छ,’ पत्रकारहरूसँग भक्कानिँदै उनले भने, ‘मैले यो मैदान र समर्थकलाई जति धन्यवाद भने पनि कम हुन्छ । मेरो जीवनमा सबथोक दिने यो मैदान, समर्थक र मेरो जर्सी नम्बर १० सँग अब सधैंका लागि बिदा हुँदै छु । मलाई साँच्चै एकदमै गाह्रो भइरहेको छ।’

नेपाली समर्थकका प्रिय स्टार जर्सी नम्बर १० का अनिल गुरुङले १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरमा एएफसी एसिया कप छनोटअन्तर्गत मंगलबार सम्पन्न फिलिपिन्सविरुद्धको खेलसँगै पूर्णविराम लगाए । तर घरेलु फुटबलमा भने अझै केही वर्ष सक्रिय हुने उनको योजना छ। 

‘अन्तर्राष्ट्रिय स्तरमा यो मेरो अन्तिम खेल भयो । घरेलु फुटबलमा भने अझै केही वर्ष खेल्नेछु। घरेलु फुटबललाई थप केही वर्ष खेल्न मलाई शरीरले साथ दिनेमा विश्वस्त छु,’ मनाङ मस्र्याङ्दी क्लबका कप्तानले भने। 

पोखराको सहारा एकेडेमीबाट सुरु भएको अनिलको करियर यु–१९ र यु–२३ टोली हुँदै १० वर्षअघि राष्ट्रिय टोलीको मुख्य खेलाडीका रूपमा स्थापित भएको थियो । पछिल्लो समय कप्तानको जिम्मेवारी भए पनि बेन्चमा सीमित हुँदै आएका अनिल विश्वकप छनोटअन्तर्गत २००७ मा ओमानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा परेयता घाइते हुँदाबाहेक सधैं टोलीको नियमित सदस्य रहे। 

व्यावसायिक फुटबलमा ब्रिगेड ब्वाइजबाट सुरु गरेको उनको करियर थ्री स्टार, एनआरटी र मनाङ मस्र्याङ्दी तथा विदेशमा भारतको सिलोङ लाजोङसम्म पुग्यो । बेलायतमा इङ्लिस फुटबलमा छैटौं श्रेणीको वोकिङ एफसीबाट ट्रायल दिँदा क्लबलाई प्रभावित गर्न सके पनि त्यहाँको श्रम इजाजत नपाएका कारण अनिल युरोपबाट व्यावसायिक फुटबल खेल्ने अवसरबाट वञ्चित भएका थिए। 

नेपाली समर्थकका प्रिय स्टार जर्सी नम्बर १० का अनिल गुरुङले १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरमा एएफसी एसिया कप छनोटअन्तर्गत मंगलबार सम्पन्न फिलिपिन्सविरुद्धको खेलसँगै पूर्णविराम लगाए । तर घरेलु फुटबलमा भने अझै केही वर्ष सक्रिय हुने उनको योजना छ। 

प्रकाशित: २९ कार्तिक २०७४ ०३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App