६ वैशाख २०८१ बिहीबार
राजनीति

लोकतान्त्रिक गठबन्धनलाई चुनौती

सुरेन्द्र पौडेल/भाषा शर्मा

काठमाडौं – ६ महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा आएको नतिजा हेर्दा ललितपुरमा लोकतान्त्रिकभन्दा वाम गठबन्धन अगाडि देखिएको छ भने भक्तपुरमा दुई गठबन्धन र मजदुर किसान पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ। 

संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रलाई आधार मान्दा ललितपुरका तीनवटै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन बलियो देखिएको हो । स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुखले लिएको मतलाई आधार मान्दा यस्तो देखिएको हो। 

निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्र निर्धारण गर्दा महानगर, नगरका वडालाई बाँडेर छुट्ट्याएको छ । वडा बाँडिएका स्थानमा स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मानेर विश्लेषण गरिएको छ। 

स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयर, उपमेयरका उम्मेदवार विजयी भएका थिए। त्यसैगरी भक्तपुरका चारवटा नगरपालिका मध्ये तीनवटा एमाले र एक नगरपालिकामा मजदुर किसान पार्टीले स्थानीय निर्वाचन जितेका थिए। 

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले र  माओवादी  गठबन्धन बनेपछि स्थानीय निर्वाचनमा आएको मतलाई एकमुष्ठ गरी विश्लेषण गरिएको हो । त्यसैगरी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्तिको लोकतान्त्रिक गठबन्धनको मत एकमुष्ठ गरी हेरिएको छ। 

ललितपुरमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । त्यसैगरी ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । 

स्थानीय निर्वाचनमा ललितपुरमा १ लाख ५१ हजार ३ सय ९३ मत खसेको थियो । त्यसमध्ये वाम गठबन्धनले ८३ हजार ६ सय २९ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसलगायत तीन दल अर्थात् लोकतान्त्रिक गठबन्धनका पक्षमा ६२ हजार ६ सय ९४ मत खसेको थियो । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा २० हजार ९ सय ३५ मत बढि पाएको थियो । बाँकी मत अन्य साना दल र स्वतन्त्र उम्मेदवारले पाएका थिए। 

स्थानीय निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेको थिएन । तर, स्थानीय निर्वाचनमा दलहरुले छुट्टाछुट्टै आएका मतलाई निर्वाचन क्षेत्रअनुसार मत जोडिएको छ। 

ललितपुर क्षेत्र नम्बर १ मा ४६ हजार ३ सय ६७ मत खसेको थियो । त्यसमध्ये प्रतिनिधिसभामा वाम गठबन्धनका पक्षमा २४ हजार ७ सय ३६ मत खसेको थियो । लोकतान्त्रिक गठबन्धनले २१ हजार ६ सय ३१ मत ल्याएको थियो । मत तुलना गर्दा ३१ सय मत वामको पक्षमा बढी देखिन्छ। 

क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा वाम गठबन्धले १३ हजार ३ सय ५१ मत र लोकतान्त्रिकले ११ हजार ९० मत स्थानीय निर्वाचनमा पाएका थिए । त्यसमध्ये २२ सय मत वामको पक्षमा बढी परेको थियो। 

प्रदेशसभा (ख) मा वामको पक्षमा गएको स्थानीय निर्वाचनमा ११ हजार ३ सय ८५ र लोकतान्त्रिकका पक्षमा १० हजार ५ सय ४१ मत खसेको थियो । यहाँ ८ सय मत वाम गठबन्धनले बढी पाएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रमा दुई गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

ललितपुर क्षेत्र नम्बर २ मा ४९ हजार ७ सय ८० मत खसेको थियो । त्यसमध्ये वाम गठबन्धनले २६ हजार ७ सय ६९ मत र लोकतान्त्रिक गठबन्धनको २० हजार ९५९ मत प्राप्त गरेका थिए । वाम गठबन्धनले ६ हजार ८ सय मत बढी ल्याएको देखिन्छ।  

क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा वामले १३ हजार २ सय ८७ र लोकतान्त्रिकले ९ हजार ८ सय ३४ मत पाएका थिए । त्यसमध्ये ३४ सय मत वामको पक्षमा बढ्ता देखिन्छ । क्षेत्र २ को प्रदेशसभा (ख) मा वामले १३ हजार ४ सय ८२ र लोकतान्त्रिकको ११ हजार १ सय २५ मत पाएका थिए । यो क्षेत्रमा २ हजार ३ सय ५७ मत बढी वाम गठबन्धनले ल्याएको थियो। 

गत स्थानीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ मा ५५ हजार २ सय ४६ मत खसेको थियो । त्यसमध्ये प्रतिनिधिसभा ३ मा वाम गठबन्धनले ३२ हजार १ सय २४ र लोकतान्त्रिकले २० हजार १ सय ४ मत प्राप्त गरेका थिए । प्राप्त मतको तुलना गर्दा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १२ हजार २० मत बढी पाएको देखिन्छ । क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा वाम गठबन्धनले १६ हजार ५ सय ५९ मत र लोकतान्त्रिकले ११ हजार ५ सय १२ मत पाएका थिए । वामको पक्षमा ५ हजार मत बढी खसेको थियो । क्षेत्र नम्बर ३ को प्रदेश (ख) मा १५ हजार ५ सय ६५ मत वाम र ८ हजार ६ सय २ मत लोकतान्त्रिकका पक्षमा खसेको थियो । लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले यो क्षेत्रमा ६ हजार ९ सय मत बढी प्राप्त गरेको थियो।  

भक्तपुर 

गत वैशाख ३१ को स्थानीय निर्वाचनमा भक्तपुरमा १ लाख २१ हजार ६ सय ५३ मत खसेको थियो । त्यसमध्ये वाम गठबन्धनले ४५ हजार ३ सय २० मत, लोकतान्त्रिक गठबन्धनले ४३ हजार ३ सय ४६ र मजदुर किसान पार्टीका पक्षमा ३२ हजार ४ सय ५२ मत परेको थियो । 

भक्तपुरमा मजदुर किसान पार्टीको वर्चस्व पहिलेदेखिकै हो । प्रतिनिधिसभा र प्रदेशसभाअनुसारको स्थानीय तहको मत हेर्दा मजदुर किसान पार्टीको दुई स्थानमा अन्य पार्टीको भन्दा बढी देखिन्छ ।   

स्थानीय निर्वाचनको मतलाई प्रतिनिधिसभा र प्रदेशसभाअनुसार विश्लेषण गर्दा भक्तपुरमा वाम गठबन्धन, मजदुर किसान पार्टी र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ । 

भक्तपुरमा दुईवटा प्रतिनिधिसभा क्षेत्र र चारवटा प्रदेशसभा क्षेत्र छन् । स्थानीय निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ मा ६६ हजार ८ सय १० मत खसेको थियो । त्यसमध्ये क्षेत्र नम्बर १ मा मजदुर किसान पार्टीको मत ३० हजार १ सय ७२ देखिन्छ । यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले १९ हजार ५ सय ३६ र वाम गठबन्धनले १६ हजार ५ सय ६९ मत पाएका थिए । क्षेत्र नम्बर १ मा मजदुर किसान पार्टीले लोकतान्त्रिक र वाम गठबन्धनको भन्दा करिब १० हजार मत बढी ल्याएको देखिन्छ ।  

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनले मत धेरै ल्याएको छ । लोकतान्त्रिकले यो क्षेत्रमा १२ हजार ७ सय ८५ मत, वामले ९ हजार ७ सय ४ मत र मजदुर किसान पार्टीले ७ हजार १ सय ३० मत ल्याएका थिए । प्रदेशसभा (ख) मा मजदुर किसानका पक्षमा २३ हजार ४२ मत देखिन्छ । त्यस स्थानमा दुई गठबन्धनको तुलनामा झन्डै दोब्बर मत मजदुर किसान पार्टीको पक्षमा परेको थियो । यहाँ लोकतान्त्रिक गठबन्धनले ६ हजार ७ सय ५१ र वाम गठबन्धनले ६ हजार ५ सय ६९ मत पाएका थिए । 

भक्तपुर क्षेत्र नम्बर २ मा ५४ हजार ८ सय ४३ मत परेको थियो । क्षेत्र नम्बर २ मा वाम गठबन्धनका पक्षमा २८ हजार ७ सय ५१, लोकतान्त्रिका पक्षमा २३ हजार ८ सय १० र मजदुर किसानका पक्षमा २२ सय ८० मत स्थानीय निर्वाचनमा परेको थियो । 

भक्तपुर क्षेत्र नम्बर २ को प्रदेश (क) मा वाम गठबन्धनका पक्षमा १३ हजार ५ सय १९ र लोकतान्त्रिकका पक्षमा १२ हजार ४ सय ३२ मत गएको स्थानीय निर्वाचनमा खसेको थियो । दुई गठबन्धनमध्ये वामको पक्षमा करिब १ हजार मत बढी परेको थियो । स्थानीय तह अनुसार मत खसेमा दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्यसैगरी प्रदेश (ख) मा १५ हजार २ सय ३२ मत वामका पक्षमा परेको थियो भने लोकतान्त्रिकका पक्षमा ११ हजार ३ सय ७८ मत खसेको थियो । दुई मध्ये स्थानीय निर्वाचनमा ३ हजार ८ सय ५४ मत वाम पक्षले बढी ल्याएको थियो ।

प्रकाशित: २९ कार्तिक २०७४ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App