coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सहज छैन शीर्ष नेतालाई

सन्तोष पोखरेल/नरहरि सापकोटा
पोखरा/गोरखा – प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखी ‘डन’को समेत पहिचान बनाएका उम्मेदवार प्रदेश–४ का जिल्लामा चुनावी मैदानमा छन् । उनै चर्चित उम्मेदवारका कारण ती जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ । लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका ‘हेभीवेट’ नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ । 

माओवादी छाडेर नयाँ शक्तिको संयोजन गरेका डा. बाबुराम भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ । दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्नेमा अनुमान गर्न सहज छैन । त्यस्तै तनहुँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ । पटकपटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पार्टीको आन्तरिक गुटवन्दीले अप्ठयारो पारिदिएको छ । 

लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका ‘हेभीवेट’ नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ। 

युवा नेता रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भएपनि चर्चा बटुलेको छ । स्याङ्जा पनि हेभीवेट नेता गोपालमान श्रेष्ठका कारण अन्यत्रको तुलनामा चर्चामा छ । मनाङमा ‘डन’ उम्मेदवारको रुपमा चिनिएका दिपक मनाङे (राजीव गुरुङ) का कारण सबैतिर चर्चा चलिरहेको छ । पार्टीभित्र हाई प्रोफाइल बनाए पनि निर्वाचनमा आफ्नो पक्षमा जित दर्ता गर्न हेभीवेट र चर्चित नेतालाई सहज नभएको विश्लेषक बताउँछन् । 

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल ४ नं. प्रदेशभित्रका कुनै पनि शीर्ष नेतालाई निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सहज नभएको बताउँछन् । ‘पार्टीभित्र जति नै बलियो भए पनि मतदाताको मन पगालेर आफ्नो पक्षमा भोट तान्न नेतालाई फलामको च्युरा चपाएसरह छ,’ उनले भने, ‘प्रतिस्पर्धा बढेकाले सहजै भन्न सकिन्न । यसपटक वाम दलबीचको गठबन्धनले पनि थोरै फरक पार्न सक्छ ।’ 

पौडेललाई चुनौती
दाहालको विश्लेषणमा तनहुँ–१ का कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल सबैभन्दा हेभीवेट नेता हुन् । पौडेल प्रधानमन्त्रीकै दाबेदार हुन् । पौडेललाई यो अन्तिम मौका रहेको उनी बताउँछन् । गृहमन्त्रीसमेत भइसकेका कांग्रेसकै नेता गोविन्दराज जोशीको असहयोगले पौडेललाई निर्वाचनमा जित निकाल्न कठिनाइ हुनसक्ने उनी बताउँछन् । ‘जोशीका कारण केही मत घट्न सक्छ । कहिलेकाहीं त्यही घटेको मत पनि पराजयलाई पर्याप्त हुन सक्छ,’ उनले भने। 

अहिले क्षेत्र विभाजन हुँदा तनहुँ–१ कांग्रेसको बाहुल्य रहेको क्षेत्रको रुपमा चिनिएको छ । कांग्रेसका अधिक मतादाता रहेको क्षेत्र व्यास नगरपालिकाको अधिकांश भूभागसहित क्यामिन, घाँसीकुवालगायतका क्षेत्र त्यसमा पर्छन् । ती सबै क्षेत्र कांग्रेसको पक्षमा छन् । त्यसले पौडेललाई थोरै सहज भए पनि उनलाई जोशीको असहयोगको त्रास रहेको विश्लेषक दाहालको भनाई छ । 

गोरखा–२ मा रोचक भिडन्त
कुनै बेला समान हैसियतमा रहेर काम गरेका नयाँ शक्तिका संयोजक भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ अहिले एउटै चुनावी मैदानको मोर्चामा छन् । भट्टराई र श्रेष्ठ गोरखा–२ बाट उम्मेदवार बनेका छन् । प्रदेश नं. ४ भित्रको गोरखा–२ अहिले भट्टराई र श्रेष्ठकै कारण चर्चामा छ । भट्टराई कांग्रेसको साथ लिएर चुनावी मैदानमा होमिएका छन् भने श्रेष्ठ एमालेसँगको गठबन्धनबाट उभिएका छन् । माओवादीमा रहँदा यी दुवै नेता पार्टीको शीर्ष तहमा थिए । माओवादीमै छँदा भट्टराईले प्रधानमन्त्रीको पद सम्हाल्ने मौका पाएका थिए भने श्रेष्ठ माओवादी सरकारमा उपप्रधानमन्त्रीसम्म बन्न भ्याएका थिए। 

माओवादी छाडेर नयाँ शक्ति खोलेका भट्टराई आफ्ना समकक्षीसँगै मैदानमा छन् । पहिलो संविधानसभा निर्वाचनमा देशभरबाट सर्वाधिक मत ल्याएर भट्टराईले गोरखामै जित हासिल गरेका थिए । संविधानसभा निर्वाचनसम्म ३ क्षेत्र रहेको गोरखा अहिले २ वटामा खुम्चिएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भट्टराईले गोरखा–२ बाट सर्वाधिक मत ल्याएका थिए । २०७० मा उनी गोरखा–१ बाट विजयी भएका थिए । संविधानसभा निर्वाचनमा २ नम्बर क्षेत्र पर्ने सबै भूभाग अहिले पनि २ नम्बरभित्रै पर्छ । त्यसबाहेक १ नम्बरको केही भूगोल पनि २ मा मिसिएको छ । ३ नम्बरका अधिकांश क्षेत्र अहिले गोरखा–१ मा गाभिएका छन्। 

कुनै बेलाका सहयात्रीसमेत रहेका दुवै हेभीवेट नेता एकै क्षेत्रमा प्रतिस्पर्धा गर्दा धेरैको चासो गोरखा–२ मा देखिएको छ । हेभीवेट नेताकै कारण केही दिनअघि पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा भेलामा प्रदेशभित्रको अति संवेदनशील जिल्लाका रुपमा गोरखालाई लिइएको थियो । गोरखाका विश्लेषक स्थानेश्वर दुवाडी हेभीवेट नेताको भिडन्त भए पनि दुवैजना उम्मेदवारको मतदाताबीच एकपटक परीक्षण भइसकेको बताउँछन् । दुवै नेता संसद्मा रहेर काम गरेकाले जनताले उनीहरुको क्षमता परीक्षण गरिसकेको दुवाडी बताउँछन् । ‘संसद्मा दुवैजना परीक्षण भइसकेका नेता हुन् । नयाँ मान्छे अगाडि आएको भए केही गर्छन् कि भन्ने आश हुन्थ्यो । नयाँ जोस भएका उम्मेदवार कतै भएनन्,’ उनले भने, ‘उनै परम्परागत नेता मतदाताले पाएका छन् । उनीहरुबाट जनताले आश नगरे पनि मत दिन बाध्य छन् ।’ दुईमध्ये एक संसद्मा जान नसक्ने पक्का भए पनि उनीहरुको पार्टीभित्र पदीय हैसियत उच्च रहेकाले राजनीतिमा हावी हुन सक्ने आधार रहेको उनी बताउँछन्। 

‘दुवैजनाबीच कडा प्रतिस्पर्धा छ । भट्टराई अलि अगाडि बढेको देखिन्छ,’ उनले भने, ‘जहाँजहाँ भट्टराई पुगेका छन्, ती ठाउँमा उनको चर्चा बढी छ । मतदाताले उनलाई चासोपूर्वक हेरेका छन् । कांग्रेसको बलियो साथले पनि बाबुरामलाई राहत मिल्ने देखिन्छ ।’ उनको विश्लेषणमा दुवैजनाको घर गोरखा–२ मा परे पनि पालुङटार नगरपालिका क्षेत्रका मतदाताले निर्वाचन परिणाममा प्रभाव पार्ने देखिन्छ । पालुङटार क्षेत्र भट्टराईको पक्षमा छ । त्यसले पनि भट्टराई बलियो देखिएको उनले बताए । ‘गोरखा–२ को परिणाममा पालुङटारले महŒवपूर्ण हिस्सा लिन्छ । सर्वसाधारणको भेटघाट र कांग्रेसको बलियो समर्थनले बाबुराम बलिया देखिएका छन्,’ उनले भने, ‘तर निर्वाचन हो, यसै भन्न सकिन्न । वाम गठबन्धनले नयाँ रणनीति अपनायो भने पनि बाबुराम कमजोर साबित हुन सक्छन् । तर गोरखा–२ प्रदेशभित्रकै सबैभन्दा बढी प्रतिस्पर्धा हुने क्षेत्रको रुपमा छ ।’ भट्टराईले छाडेपछि माओवादीलाई गोरखामा स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भट्टराईको साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुईवटा तहमात्रै जित्यो । भट्टराई साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल गर्‍यो।

कास्की–२ मा पूर्वविद्यार्थी नेताबीच भिडन्त
राजनीतिशास्त्रका प्राध्यापक दाहालको विश्लेषणमा एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज चालिसे दुवैजना क्षमतावान् उम्मेदवार भएकाले कास्की–२ चर्चामा छ । वाम गठबन्धनसँग लोकतान्त्रिक पक्षको प्रतिस्पर्धा भएपनि वाम गठबन्धनका कार्यकर्ताको मन कसरी मिलेको छ, भन्न नसकिने दाहालले बताए । अधिकारीले युवा नेताको पहिचान बनाएका छन् भने चालिसे बुद्धिजीवी र विश्लेषकको भूमिकामा रहँदै आएका छन् ।

स्याङ्जा २ मा गोपालमानलाई चुनौती
त्यस्तै स्याङ्जा २ बाट उम्मेदवार बनेका कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पनि जित सहज नभएको दाहाल बताउँछन् । ‘गोपालमान प्रधानमन्त्रीका दाबेदार होइनन् । गोपालमानको अन्तिम विन्दु नै यही रहन्छ,’ दाहालले भने, ‘तर जित्न भने सहज छैन । मतदातासँग उम्मेदवारले राख्ने सम्बन्ध र परिवर्तित अवस्थाले परिणाम यही नै हुन्छ भन्ने आकलन गर्न सकिन्न।’ 

डन उम्मेदवारले चर्चामा मनाङ 
एमालेले मनाङमा प्रदेशसभा निर्वाचनमा दीपक मनाङे (राजीव गुरुङ) लाई उम्मेदवार बनाएपछि मनाङले राष्ट्रिय राजनीतिमा चर्चा बटुलेको छ । मनाङेलाई सहज हुनेगरी एमालेले उम्मेदवारी फिर्ता लिएको थियो । एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि विवाद हुँदा अन्तिम समयमा अर्कै महिलालाई उम्मेदवार चयन गरेको थियो । आफूलाई टिकट नदिएपछि मनाङेले प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

एमालेको आधिकारिकता पाएपछि मनाङे निर्वाचनमा होमिएका छन् । दलहरुका अनुसार मनाङमा परिवारको राजनीति हावी हुन्छ । परिवारको भोट नै निर्णायक हुने त्यहाँका मतदाताको भनाइ छ । मनाङमा यसअघिका कुनै पनि निर्वाचनमा एमालेले जितेको इतिहास छैन । दलबीच प्रतिस्पर्धा नहुँदा निर्वाचनमा निर्विरोध हुने जिल्लासमेत हो मनाङ । त्यसबाहेक स्वतन्त्र उम्मेदवार पनि जिल्लामा हावी हुन्छन् । यसअघिका धेरै निर्वाचनमा सहज जित हासिल गरेकाले पनि यो निर्वाचनमा कांग्रेस पुनः जित हासिल गर्नेमा ढुक्क छ । राप्रपाका अधिकांश नेता एमालेमा प्रवेश गरेपछि एमालेले पनि सुधार गरेको छ।

प्रकाशित: २९ कार्तिक २०७४ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App