८ वैशाख २०८१ शनिबार
राजनीति

सुनसरी क्षेत्र नं १ काे कम्युनिष्ट गढमा फोरमको चुनौती

धरान,कार्तिक २८– धरान उपमहानगरपालिकासहितको सुनसरीको निर्वाचन क्षेत्र नं १ लाल किल्ला एवं कम्युनिष्ट गढकोरुपमा परिचित छ । यो क्षेत्रमा पहिलो संविधानसभा(२०६४) निर्वाचनबाहेक सबै चुनावमा एमाले विजयी हुँदै आएको इतिहास छ भने २०६४ मा माओवादी केन्द्र विजयी भएको छ । पहिलो संविधानसभा बाहेकका सबै चुनावमा एमालेको निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार थिए ।

आसन्न मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भने कांग्रेसले प्रतिनिधि सभामा उम्मेदवारी दिएन् । प्रतिनिधि सभामा संघीय समाजवादी फोरम नेपालको उम्मेदवारलाई समर्थन गरेको कांग्रेसले प्रदेशसभा(क) र (ख)मा मात्र उम्मेदवारी दिएको छ । कम्युनिष्ट गढमा यसपाली कांग्रेस र फोरमबीचको लोकतान्त्रिक गठबन्धनले एमाले र माओवादी केन्द्रको बाम गठबन्धनलाई चुनौती पेश गरेको छ । यो क्षेत्रमा अन्य क्षेत्रीय पार्टीबाट पनि उम्मेदवारी छ । तर, बाम र लोकतान्त्रिक गठबन्धनको उम्मेदवारको चर्चा अघि ती ओझेलमा छन् ।

सुनसरी क्षेत्र १ मा बाम गठबन्धनबाट एमाले जिल्ला सदस्य एवं धरान सहइञ्चार्ज जयकुमार राई उम्मेदवार छन् । विगतमा आफैले मलजल गरेको कम्युनिष्ट गढमा लोकतान्त्रिक गठबन्धनकोतर्फबाट फोरमका वरिष्ठ नेता अशोक राईले बाम गठबन्धनलाई चुनौती दिएका छन् । उनको उम्मेदवारीले सुनसरी १ मा चुनावी सरगर्मी बढाएको छ । यद्यपी, विगतका चुनावी परिणामले कम्युनिष्ट गढ कहलिएको निर्वाचन क्षेत्र नं १ मा एमालेले आफुलाई सुरक्षित ठानेको छ । गठबन्धनको कारण माओवादी केन्द्रको पनि मत थपिने भएपछि जित सुनिश्चित भएको एमालेको दाबी छ । विगतमा धरानमा एमालेलाई संगठित गर्न भुमिका खेलेका, एमालेकै केन्द्रीय उपाध्यक्ष भइसकेको र राष्ट्रिय राजनीतिज्ञको छवि बनाएकोले रोचक चुनावी प्रतिस्पर्धा हुने दाबी लोकतान्त्रिक गठबन्धनको जिकिर छ । कांग्रेसको साथ पाएकोले पनि फोरम यसपाली हौसिएको छ ।

यो क्षेत्रमा प्रदेश सभा(क)मा बाम गठबन्धनबाट एमाले जिल्ला सचिवालय सदस्य एवं धरान इञ्चार्ज प्रदिप भण्डारी उम्मेदवार छन् भने लोकतान्त्रिक गठबन्धनबाट उनको प्रतिद्धन्दीकारुपमा कांग्रेसका पुर्वनगरसभापति एवं एन्फा उपाध्यक्ष किसोर राई छन् । प्रदेश सभा(ख)मा बाम गठबन्धनबाट एमाले केन्द्रीय सचिव एवं प्रदेश १ संयोजक भिम आचार्य र लोकतान्त्रिक गठबन्धनका बुद्धिबहादुर कटवालबीच प्रतिस्पर्धा हुदैछ । दुवै गठबन्धनका उम्मेदवारहरु घरदैलो, कार्यकर्ता भेटघाट र भेलाहरुमा सक्रिय सहभागीता जनाउदै भोट माग्न थालिसकेका छन् । जसले गर्दा यो क्षेत्रमा चुनावी चहलपहल बढाएको छ ।
२०७० मा एमालेले १४ हजार, कांग्रेसले १२ हजार र माओवादीको ९ हजार हाराहारीमा मत पाएको थियो भने तत्कालीन संघीय समाजवादी पार्टीले ३ हजार ५ सयको हाराहरीमा मात्र मत पाएको थियो । गएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेको ३० हजार, कांग्रेसको २४ हजार, माओवादी केन्द्रको १५ हजार र समाजवादी फोरमको ५ हजार हाराहारीमा मत रहेको छ । यो मतलाई जोड्दा लोकतान्त्रिक गठबन्धनभन्दा बाम गठबन्धनको मत बढी छ । तर, लोकतान्त्रिक गठबन्धनका नेताहरु भने यसपाली मतदाताहरुले परिवर्तन चाहेकोले आफुहरुको जित हुने दाबी गर्छन् ।

सुनसरी क्षेत्र नं १ मा धरान उपमहानगरपालिकाको सबै २० वडा, बराह नगरपालिकाको १ देखि ५ वडा र रामधुनी भाषी नगरपालिको ६ र ७ वडा गाभिएको छ । स्थानीय निर्वाचनमा धरान उपमहानगरभित्र मेयर, उपमेयरसहित एमालेले १४ वडामा जित हासिल गरको थियो भने कांग्रेसले ५ र माओवादीले १ वडा जितेको थियो । क्षेत्र नं १ मा रहेको बराह नगरपालिकाको ५ वडामध्ये एमालेले ४ र कांग्रेसले एउटा वडा जितेको छ भने रामधुनी भाषीको दुवै वडा एमालेले जितेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ कुल १ लाख २२ हजार ६ सय ९१ मतदाता छन् । क्षेत्र नं १(क)मा ६१ हजार ७ सय ५५ र (ख)मा ६० हजार ९ सय ३६ मतदाता छन् ।

प्रकाशित: २८ कार्तिक २०७४ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App