८ वैशाख २०८१ शनिबार
अर्थ

जुर्मुराउँदै सुदूरपश्चिमका पर्यटनकर्मी

काठमाडौं- सुदूर तथा मध्यपश्चिममा पर्यटकीय चहलपहल बढाउन स्थानीय पर्यटनकर्मी जुर्मुराएका छन्। उनीहरु आफूले बनाएका पर्यटकीय प्रडक्टको जानकारी बोकेर काठमाडौं आइपुगेका छन्।

पर्यटन विकास समाज (टिडिएस) धनगढीले सात किसिमका प्रडक्ट बनाएको छ । समाजका अध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा आएको टोलीले काठमाडौंका टुर अपरेटर, टान, नाटा, नाटो, टुर्गान, नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र पत्रकार लगायत सरोकारवालासँग ‘वाइल्ड वेस्ट’ चम्काउन हातेमालोको प्रस्ताव गरेको छ ।

‘प्रशस्तै पर्यटकीय सम्भावना हुँदाहुँदै पश्चिममा पर्यटकको चहलपहल गराउन सकिएको छैन,’ महरा भन्छन्, ‘त्यसैले काठमाडौंमा बस्नेलाई पश्चिमका पर्यटन प्रडक्ट दिन हामी आएका हौं ।’ समाजले पर्यटन बोर्डसँग मिलेर सोमबार राजधानीमा कार्यक्रम समेत आयोजना ग¥यो । उक्त अवसरमा अध्यक्ष महराले सुदूरपश्चिम पदयात्रा, तीर्थ र बिदा पर्यटनका लागि उपयुक्त गन्तव्य भएको बताए ।

टिडिएसले नौ दिने रामारोशन पदयात्रा, २२ दिने खप्तड–रारा पदयात्रा, ११ दिने सुदूरपश्चिम सम्पदा पदयात्रा, नौ दिने खप्तड पदयात्रा र १० दिने अपी नाम्पा पदयात्रा प्याकेज बनाएको छ । यी सबै विदेशी पर्यटकद्वारा ‘टेस्टेड’ प्याकेज हुन् । त्यसबाहेक टिडिएसकै सदस्य अमरबहादुर शाहीको रैका ट्राभल्सले रारा, बर्दिया र शुक्लाफाँटा समेटिएको पाँच दिने वाइल्ड वेस्ट प्याकेज चलाउँदै आएको छ । सुदूर तथा मध्यपश्चिमको एकीकृत पर्यटन विकासमा जोड दिँदै आएका शाही भन्छन्, ‘पश्चिमको पर्यटन प्रवद्र्धन गर्न अब मार्केटिङ खाँचो छ ।’

राजधानीमा बसेर विदेशीलाई प्याकेज बेच्ने व्यवसायीसँग टिडिएसले सुदूरपश्चिमका प्रडक्टको मार्केटिङ गर्न आग्रह गरेको छ । ‘सुदूरपश्चिमको आर्थिक विकासको आधार नै पर्यटन बन्न सक्छ,’ महराले भने, ‘त्यसैले अब सबैले पश्चिमतिर पनि नजर लगाइदिनु प¥यो ।’

एक दशकअघि गोपी हमाल अध्यक्ष हुँदा कैलाली उद्योग वाणिज्य संघले ‘सुन्दर सुदूरपश्चिम’ अभियान चलाएर पश्चिममा पर्यटकीय सम्भावनाको ढोका खोलेको थियो । आज सुदूरपश्चिमका नौवटै जिल्ला सदरमुकाममा आधुनिक होटल खुलिसकेका छन् । धनगढी, महेन्द्रनगर, टीकापुर लगायत सहरमा करोडौं रुपैयाँका होटल खुलिसकेका छन् ।

खप्तड बाहेक अन्यत्र पदयात्रा गर्दा व्यवस्थित क्याम्पिङ जरुरी छ । आवश्यक भरिया र गाइड पश्चिममै उत्पादन भइसकेको टिडिएसले जानकारी दिएको छ । पर्यटन बोर्डको हलमा भएको कार्यक्रममा पर्यटन सम्बद्ध प्रमुख संस्थाका अगुवाको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले वाइल्ड वेस्टको मार्केटिङमा बोर्डले सघाउने बताए । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोपाल हमाल (गोपी), नाटाका अध्यक्ष मधुसूदन आचार्य, प्रमोद पाठक, नाटोका उपाध्यक्ष बिक्रम पाँडे, निट नेपालका दीपक महत लगायतले पश्चिमको पर्यटनमा हातेमालो गर्नुपर्नेमा जोड दिए ।

टिडिएस धनगढीका पर्यटनकर्मीको संस्था हो । यसले सुदूरपश्चिमको पर्यटन विकासमा उतै बसेर काम गर्दै आएको छ । पछिल्लो समय शुक्लाफाँटा र खप्तडमा पर्यटक आवागमन बढ्दै गएको छ । तेस्रो विश्वका पर्यटकलाई दिल्लीबाट सोझै महेन्द्रनगर हुँदै धनगढी ल्याउँदा प्याकेज सस्तो र सजिलो हुने उनीहरुको विश्वास छ । दिल्लीबाट महेन्द्रनगर तीन सय ३८ किलोमिटर दूरीमा पर्दछ । काठमाडौंबाट धनगढी पठाउन लामो बस यात्रा या महँगो (डलर फेयर) हवाई भाडा खर्चिनुपर्छ ।

कैलाश मानसरोवर जाने पर्यटकलाई समेत सुदूरपश्चिमको बझाङ हुँदै पठाउन सके पश्चिम क्षेत्रले यसबाट फाइदा लिन सक्ने देखिन्छ । कार्यक्रममा पत्रकार भरतबन्धु थापा र फोटोग्राफर गोरख विष्टले बनाएका वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

 

 

प्रकाशित: १९ श्रावण २०७३ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App