८ वैशाख २०८१ शनिबार
राजनीति

ओखलढुंगा : साख जोगाउने टक्कर

खोटाङ- आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगामा कांग्रेस, एमाले–माओवादी गठबन्धन, संघीय समाजवादी, नेकपा माले, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, मंगोल नेसनल अर्गनाइजेसनलगायतका ९ पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । विभिन्न पार्टीका दर्जनौं उम्मेदवार चुनावी मैदानमा भए पनि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीचका उम्मेदवारबीचमै कडा प्रतिस्पर्धा हुने विश्लेषण छ । त्यसमा पनि राष्ट्रिय राजनीतिमा कहलिएका र जनताले आशा गरेका कांग्रेस नेता रामहरि खतिवडा र एमाले नेता यज्ञराज सुनुवारको प्रतिस्पर्धाले चर्चा पाएको छ ।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा विजयी भएपछि राष्ट्रिय राजनीतिमा उदाएका प्रतिनिधिसभा सदस्यका दुवै उम्मेदवारले आसन्न निर्वाचनलाई साख र प्रतिष्ठाको विषय बनाएका छन् । उनीहरू त्यही प्रतिष्ठा जोगाउने रणनीति बनाएर चुनावी घरदैलोमा व्यस्त छन् ।
एक नगरपालिका र ७ गाउँपालिका रहेको ओखलढुंगामा प्रदेशसभा सदस्यका लागि कांग्रेसबाट प्रदेशसभा (क) मा मित्रसेन दाहाल र प्रदेशसभा (क) मा प्रदीप सुनुवारले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, वाम गठबन्धनबाट प्रदेशसभा (क) मा एमालेका अम्बिरबहादुर गुरुङ र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका मोहन खड्का चुनावी मैदानमा छन् ।

बलबहादुर राईले ओखलढुंगामा २००३ सालदेखि बनाएको कांग्रेसको गढ संविधानसभाको पहिलो निर्वाचनसम्म कायम रह्यो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दुईवटै निर्वाचन क्षेत्रमा जित हासिल गरेर तत्कालीन नेकपा माओवादीले कांग्रेसको गढ भड्कायो । तर, २०७० सालको निर्वाचनमा आएपछि माओवादी दुवै क्षेत्रमा पराजित भयो । क्षेत्र नम्बर १ बाट सुनुवार र क्षेत्र नम्बर २ बाट खतिवडा विजयी भए । सुनुवारको विजय ओखलढुंगाको इतिहासमा एमालेको पहिलो जित थियो । अहिले सुनुवारमाथि त्यही साख बचाउने चुनौती छ । खतिवडामाथि २०७० सालमा भएको कांग्रेसको ‘कमब्याक’ को इतिहासलाई निरन्तरता दिनुपर्ने चुनौती छ । तर, दुवै उम्मेदवार एउटै पदमा लडेका कारण ओखलढुंगाको चुनावी प्रतिस्पर्धा रोचक बनेको हो । निर्वाचनमा आशालाग्दा र उस्ता–उस्तै उचाइ भएका नेता आमनेसामने भएका कारण सबैको ध्यान तानिरहेको छ ।
आसन्न निर्वाचनमा ओखलढुंगाका १ लाख २ हजार २५० मतदाताले मताधिकार उपयोग गर्दैछन् ।
 

अंकको अन्तर
२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसले ओखलढुंगाको दुवै निर्वाचन क्षेत्रबाट कुल २३ हजार ८४७, एमालेले २१ हजार ४५३ र तत्कालीन नेकपा माओवादीले ६ हजार ५९९ मत पाएको थियो । कांग्रेसका क्षेत्र नम्बर १ बाट बालकृष्ण दाहालले ९ हजार ९४३ र क्षेत्र नम्बर २ बाट खतिवडाले १३ हजार ९०४ मत ल्याएका थिए । यस्तै, एमालेका क्षेत्र नम्बर १ बाट सुनुवारले १२ हजार ९४३ र क्षेत्र नम्बर २ बाट नानीबाबु बुढाथोकीले ८ हजार ५१० मत तथा माओवादीका क्षेत्र नम्बर १ बाट केशव राईले २ हजार ९६३ र क्षेत्र नम्बर २ का पेशल खतिवडाले ३ हजार ६३६ मत ल्याएका थिए । उसबेला एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा २८ हजार ५२ हुन पुग्छ ।

तर, स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने कांग्रेसको पकड अन्यको तुलनामा बलियो देखिएको छ । ८ स्थानीय तहमध्ये कांग्रेसले ४, एमालेले ३ र माओवादी केन्द्रले १ तहमा विजयी भएको थियो । एमाले र माओवादी केन्द्र एक ठाउँमा आएपछि मात्र स्थानीय तहमा लोकतान्त्रिक र वाम गठबन्धनको जितको स्थिति बराबरको अवस्थामा पुग्छ ।

सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र लिखु गाउँपालिकामा एमाले, चिसंखुगढी गाउँपालिकामा माओवादी केन्द्र तथा चम्पादेवी गाउँपालिका, खिजीदेम्बा गाउँपालिका, मानेभन्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा कांग्रेसले जितेको थियो । स्थानीय तहको निर्वाचनमा जिल्लाका ७५ वडामध्ये कांग्रेसले ३८ वडा, एमालेले २६ र माओवादी केन्द्रले ११ वडामा बाजी मारेको थियो । यस हिसाबले पनि ओखलढुंगामा लोकतान्त्रिक र वाम गठबन्धनको कडा टक्कर हुने देखिएको हो ।

प्रतिनिधिसभा सदस्यमा खतिवडा र सनुवारबीच कडा प्रतिस्पर्धा हुने सम्बद्ध नेताहरु बताउँछन् । उनीहरुको हारजित असन्तुष्टि व्यवस्थापन, अतिरिक्त मेहनत, कार्यकर्ता परिचालन, जनताले गर्ने विश्वासलगायतमा निर्भर रहनेछ ।
 

कांग्रेसको बागी चुनौती
ओखलढुंगामा आधिकारिक उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी पनि कांग्रेसका लागि चुनौतीको विषय छ । प्रदेशसभा (क) का प्रदीप सुनुवारलाई प्रदेशसभा (ख) बाट टिकट दिइएको भन्दै तरुण दलका जिल्ला सभापति ज्ञानेन्द्र रुम्दालीले बागी उम्मेदवारी दिएपछि कांग्रेसलाई असर पर्ने आकलन गरिएको हो । फरक भूगोलका नेतालाई उम्मेदवार बनाएको विरोधमा २०६४ सालमा बागी उम्मेदवारी खेपेको ओखलढुंगा कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि बागी उम्मेदवारी बेहोर्नुपरेको छ । २०६४ सालको निर्वाचनमा रुम्दालीले नै आधिकारिक उम्मेदवार बालाराज कार्कीविरुद्ध उम्मेदवारी दिएका थिए ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै महासमिति सदस्य कुमार लुइँटेल र बाला अधिकारी, महाधिवेशन प्रतिनिधि बालकृष्ण दाहाल, रामजी बाँस्तोला, लीलाबल्लभ दाहाल, कमल तामाङलगायतले पार्टीको जिम्मेवारीबाट हटेको बताएपछि रुम्दालीको बागी उम्मेदवारी परेको हो । कांग्रेसभित्रको यही कहल व्यवस्थापन नगर्दाको असर प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडालाई समेत पर्ने वाम गठनबन्धको बुझाइ छ ।
 

वाम गठबन्धनलाई पनि सहज छैन
आसन्न निर्वाचनमा ओखलढुंगामा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई पनि सहज छैन । विगतमा पटकपटक विवादको घटना हुँदा दुई पार्टीबीचमा तिक्ततापूर्ण सम्बन्ध छ । विगतका कुरालाई लिएर एमाले–माओवादी तल्ला तहका कार्यकर्तालाई मिलाउन वाम गठबन्धनलाई सकस देखिन्छ । माओवादी कार्यकर्तालाई एमालेको चुनाव चिह्नमा भोट हाल्न तत्पर बनाउने र एमालेका कार्यकर्तालाई माओवादीको चुनाव चिह्नमा भोट हाल्न तयार तयार पार्नु वाम गठनबन्धनको मुख्य चुनौती हो ।

प्रकाशित: २८ कार्तिक २०७४ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App