coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इतिहास बनाउने लक्ष्य

काठमाडौं- नेपालले एक महिनाअघि मलेसियामा भएको एसिसी यु–१९ इस्टर्न रिजन छनोट क्रिकेट जितेर एसिसी यु–१९ एसिया कपका लागि छनोट भएको थियो ।
इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दा नेपालले कुनै पनि खेलमा हारको सामना गरेको थिएन ।
च्याम्पियन बनेपछि नेपाल पुनः मलेसियामै हुने यु १९ एसिया कपमा छनोट भयो । आइतबार भारतलाई हराएपछि जारी एसिया कपमा नेपाल विश्व क्रिकेटलाई सरप्राइज दिने नतिजा निकाल्ने टोली बनेको छ ।
मंगलबार नेपाल अर्को इतिहास बनाउने लक्ष्यका साथ आयोजक मलेसियासँग बायोमासमा खेल्दै छ । यसअघि नेपालले इस्टर्न रिजन छनोट क्रिकेटमा मलेसियालाई सहजै १० विकेटले हराएको थियो । अपराजित रहँदै उपाधि जितेर फर्कंदा प्रशिक्षक विनोद दासले एसिया कपमा टेस्ट राष्ट्रलाई हराएर सरप्राइज दिने लक्ष्य रहने बताएका थिए । नेपाल मलेसियामा जारी एसिया कपको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भयो । तर नेपालले बंगलादेशसँगको हारबाट पाठ सिकेको थियो ।
बंगलादेशसँगको हारबाट नयाँ अनुभव हासिल गरेको नेपालले आइतबार भारतलाई हराउँदै विश्व क्रिकेटमा एउटा सरप्राइज निकाल्यो । भारत विश्व क्रिकेटमा शक्तिशाली राष्ट्र हो । भारतजस्तो क्रिकेट क्रेजी देशलाई १९ रनले हराउनु नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो सफलतामा पर्छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनमा परे पनि नेपालले विश्व क्रिकेटमा आफ्नो क्षमतालाई प्रमाणित गरिरहेको छ ।
नेपालले जारी प्रतियोगितामा भारतलाई हराएपछि अर्को सफलता नजिक पुगेको हो । त्यो हो, नेपालको यु १९ एसिया कपको सेमिफाइनल लक्ष्य । यो लक्ष्य मंगलबारको खेलले निर्धारण गर्नेछ । नेपालले मंगलबार आयोजक मलेसियासँग खेल्दै छ । समूह ‘ए’ मा रहेका नेपाल, भारत र बंगलादेशले समान २ अंक जोडेका छन् ।
नेपालले समूहको अन्तिम खेल मलेसियासँग खेल्दा भारतले बंगलादेशसँग खेल्नेछ । भारत र बंगलादेशमध्ये जुनसुकै टोलीले जित हासिल गरे पनि सेमिफाइनलमा पुग्न नेपाललाई जित आवश्यक पर्नेछ । मलेसियाविरुद्ध जित हासिल गरे नेपाल अन्तिम चारमा पुग्नेछ ।

भारतजस्तो शंक्तिशाली देशलाई हराएको नेपालका लागि मलेसिया कठिन प्रतिद्वन्द्वी होइन । तर मलेसिया पनि घरेलु मैदानमा अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ । मलेसियाले जारी प्रतियोगितामा भारतसँग २ सय २ रनको लज्जास्पद हारको सामना गरेको थियो ।  त्यो हारलाई बिर्सन पनि मलेसियाले नेपाललाई कडा चुनौती दिन सक्छ ।
प्रतियोगिताअघि नेपालले बंगलादेशसँग तीन मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले तीनमध्ये एकमा जित हासिल गरेको थियो ।
बंगलादेश भ्रमणबाट नेपालले आफ्नो कमजोरीलाई सुधार गर्ने अवसर पाएको थियो ।
गल्तीबाट सिक्दै अगाडि बढेको नेपालले भारतलाई प्रतियोगितामा निराश बनाउन सफल भयो । जुन हार भारतका लागि नमीठो हो । प्रतियोगितामा भारतले अहिलेसम्म पराजित हुनु परेको थिएन । भारतलाई हराएपछि युवा टोलीका प्रशिक्षक विनोद दासले
ऐतिहासिक सफलताको श्रेय कडा मिहिनेत र टिमको लगावलाई दिएका थिए । उनले भनेका थिए, ‘भारतविरुद्धको जितलाई शब्दमा बयान गर्न गाह्रो छ । समय परिवर्तनशील छ । हामीलाई थाहा थियो समयले हामीलाई पनि कुनै बेला साथ दिनेछ । आज हामीले आफ्नो क्षमतालाई देखायौं । कप्तान दीपेन्द्र खेलका नायक हुन् र टिमको मिहिनेत अद्भुत छ ।’
टेस्ट राष्ट्र भारतलाई सिकार बनाउने क्रममा उच्च प्रदर्शन गर्ने नेपाली खेलाडी हुन् कप्तान दिपेन्द्र ।
दीपेन्द्र पछिल्लो समय राष्ट्रिय टोलीमा पनि मिडिल अर्डरमा भरपर्दा ब्याट्सम्यानका रूपमा देखिएका छन् । अलराउन्डर दीपेन्द्रले भारतविरुद्ध सानदार अलराउन्ड प्रदर्शन गरे । उनले ८८ रन बनाउनुका साथै ४ विकेट लिएर भारतलाई नमीठो हारको अनुभव गराएका थिए ।
नेपालले टेस्ट राष्ट्रलाई हराएको पहिलो पटक भने होइन । नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई पराजित गरिसकेको छ । मलेसिया नेपालका लागि कठिन प्रतिद्वन्द्वी होइन । तर घरेलु मैदानमा मलेसियालाई पनि सहज प्रतिद्वन्द्वी मान्न सकिन्न । मलेसियालाई हराएर नेपालले अर्को इतिहास बनाउनेछ एसिया कपमा । त्यो हो,
एसिया कपको सेमिफाइनलमा पुग्ने ननटेस्ट राष्ट्र नेपाल ।

प्रकाशित: २८ कार्तिक २०७४ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App