८ वैशाख २०८१ शनिबार
कला

एकादेशमा २१ नेपाली फिल्म

काठमाडौं- समाजले वेवास्ता गरेका सामाजिक विषयबस्तुलाई कथात्मक रुपमा तयार पारिएका छोटा फिल्महरूको महोत्सव ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा यो वर्ष नेपालबाट २१ वटा छोटा फिल्म छानिएका छन् । आगामी कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म हुने पाँचौं संस्करणको यो फेस्टिभलमा नेपालसहित ४३ मुलुकका ९९ वटा फिल्म देखाइनेछन् ।

४३ देशका ९९ सय फिल्म देखाइने फिल्म फेस्टिभल कुमारी हलमा ४ दिनसम्म चल्नेछ । ५ औं संस्करणको फेस्टिभलमा नेपाली फिल्मकर्मीले बनाएका २१ वटा फिल्म फेस्टिभल अवधिभर देखाइनेछ ।


फेस्टिभलले राजधानीमा पत्रकार सम्मेलन गर्दै विगतका झैं यसपटक पनि युवापुस्ताका निर्देशकको संख्या फेस्टिभलमा उल्लेख्य रहेको जनाएको छ । ‘लेट लियर बि लाइट ’ नारा दिएर हुन लागेको फेस्टिभलमा विभिन्न सामाजिक मुद्धाका ३३ सर्ट फिल्ममध्ये विशेष छनौटमा परेका १४ फिल्म नियमित प्रदर्शनसँगै काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायरमा खुला प्रदर्शन पनि गरिनेछ ।
फेस्टिभलमा ‘परिपक्व परिवर्तन’, ‘सिनेमाको भविष्य’का गरी ३७ सर्ट फिल्म देखाइनेछन् । ‘परिपक्व परिवर्तन’मा २० सर्ट फिल्म देखाइनेछन् । अप्रचलित अभिव्यक्ति बोकेका, गहन काल्पनिकता बोकेका तथा केन्द्रित कथन शैलीलाई आत्मसाथ गरिएका सर्ट फिल्मलाई समेटिएको यो श्रृंखलामा मनिषा कोइरालाको नेतृत्वमा इटालीका पाओलो बेर्टोलिन र बंगलादेशका मोस्ताफा सार्वर फारोकी सम्मिलित निर्णायक समिति बनाइएको छ ।
त्यस्तै ‘सिनेमाको भविष्य’मा १७ फिल्म देखाइनेछन् । विद्यार्थीहरुले बनाएका फिल्म प्रदर्शन गर्ने यो श्रृंखलामा अभिनेत्री नम्रता श्रेष्ठको नेतृत्वमा बंगलादेशका अबु साहेद इमोन र नेपालकै यज्ञश सम्मिलित निर्णायक समिति बनाइएको छ ।
अघिल्लो संस्करणमा भुटानका फिल्मलाई प्राथमिकतामा राखेको आयोजकले यसपटक बंगलादेशका फिल्मलाई फेस्टिभलमा बहसको विषय बनाउने जानकारी गरायो । फेस्टिभलमा विशेष छनौटमा परेका ११ बंगलादेशी फिल्मलाई तीन सहायक खण्डमा प्रदर्शन गरिनेछ ।
पत्रकार सम्मेलनमा नेपालका लागि ब्राजिलकी राजदुत मारिआ टेरेसा मस्कुइटा पेसेवाले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल’मा आफ्नो देशको फिल्म पनि छानिएकोमा खुशी व्यक्त गरिन् । ‘काठमाडौं जस्तो सांस्कृतिक सम्पदा र सामाजिक विविधताले भरिएको ठाउँमा विश्वका ४२ मुलुकका फिल्मकर्मी भेला हुनु पक्कै पनि खुशीको कुरा हो,’उनले भनिन्,‘सामाजिक विषयलाई उठान गरिएका फिल्मले एकअर्काको देशको मर्मलाई बुझ्न सजिलो बनाउनेछ ।’
नेपाल पर्यटन बोर्डका अधिकृत विमल कँडेलले बोर्डका जनसम्पर्क शाखाले भिडियो, फोटो तथा अन्य कलात्मक विषयलाई नियालिरहेको अवस्थामा एकादेशसँग सहकार्य गरेर फेस्टिभल गर्न पाउनु गर्वको कुरा भएको बताए । ‘यो फेस्टिभलमा छानिएका नेपाली फिल्महरुलाई अन्य मुलुकमा सबटाइटल राखेर प्रदर्शन गरिनेछ भन्नेमा बोर्ड आशावादी छ ’ उनले भने । फेस्टिभलकी जुरी अभिनेत्री नम्रताले युवापुस्ताको रचनालाई फेस्टिभलले एउटा नयाँ उचाइसम्म पु¥याउने विश्वास व्यक्त गरिन् ।
फेस्टिभलमा नेपाली फिल्ममा महिलाको भूमिका र दक्षिण एसियाली आबद्धता विषयमा अन्तरक्रिया पनि हुनेछ । सगुना शाह  सहजकर्ता हुने पहिलो सत्रको छलफलमा मनिषा कोइराला, रम्यता लिम्बु, सुबिना श्रेष्ठ र मेनुका राई तथा प्रविण अधिकारीले सञ्चालन गर्ने दोस्रो सत्रमा इमाने र फारोकीबीच अन्तरसंवाद हुनेछ ।
फेस्टिभलको पहिलो दिन नेपाली निर्देशक रोशन ठकुरीको ‘सिल्भर ब्याङगल’सहित अष्ट्रियाका पल सेउफ्लेको ‘टेष्ट अफ लभ’, इरानको काभी माजाहेरीको ‘रिटो’ र चिनियाँ निर्देशक क्वी याङको ‘ए जेन्टल नाइट’ देखाइनेछ भने अन्तिम दिन नेपाली निर्देशक रइसप्रसाद खत्रीको ‘क्युरियस गर्ल’, स्पेनका जुआन्जो गिमेनेजको ‘टाइम कोड’, ब्राजिलका दर्बारा वाग्नेर र बेञ्जामिन डे बुर्साको ‘यु आर सिइङ थिङ्स’ र जर्जियाका गेगा खेमलेजको ‘८ मिनेट्स’ प्रदर्शन हुनेछन् ।

प्रकाशित: २८ कार्तिक २०७४ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App