coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीलाई आइजिपीको निर्देशन : दलपछि लागेर संगठनलाई बदनाम नबनाऊ

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभामा प्रहरी संगठनका सदस्यको निष्पक्ष भूमिकाबारे आशंका बढिरहेको बेला प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उपत्यका र प्रहरी प्रधान कार्यालयका प्रहरी कर्मचारीलाई बोलाएर कुनै दलको पक्षमा नलाग्न निर्देशन दिएका छन् ।
उपत्यकाका प्रहरी कार्यालयका प्रमुख असईदेखि एआइजीसम्म र प्रहरी प्रधान कार्यालयका प्रहरी निरीक्षकदेखि माथिल्लो तहका प्रहरी अधिकारीलाई प्रहरी क्लबमा भेला पारेर कुनै कर्मचारी दलविशेषको पक्षविपक्षमा लाग्दा संगठनकै बदनामी हुने भएकाले निर्वाचन सुरक्षामा निष्पक्ष भएर खटिन निर्देशन दिएका हुन् । ब्रिफिङमा सहभागी प्रहरी अधिकारीका अनुसार उनले पटकपटक कुनै दल र उम्मेदवारको पक्षमा नलाग्न निर्देशन दिँदै निर्देशनको अवज्ञा भए प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी दिएका थिए ।
निर्वाचन सुरक्षामा कार्यालय सुरक्षार्थ खटिनुपर्ने जनशक्तिबाहेक सबै प्रहरी कर्मचारी परिचालित हुनुपर्ने भएकाले त्यसको तयारीमा लाग्न समेत उनले निर्देशन दिए । संगठनले खटाएको स्थानमा नजान र आफू अनुकूलको क्षेत्रमा जान नेताहरुलाई फोन गर्न लगाउनेजस्ता गतिविधि नगर्न सचेत गराउँदै उनले अनुशासनमा बसेर संगठनले खटाएअनुसारको काम गर्न निर्देशन दिएको ब्रिफिङमा सहभागी एक प्रहरी अधिकारीले बताए ।
आफू अनुकूलको सरुवा गराउन संगठनभन्दा पनि बलियो देखिने तर संगठनलाई पर्दा केही नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले संगठनका माथिल्ला तहका प्रहरी अधिकारीको व्यवहारको समेत आलोचना गरेका थिए । करिब डेढ घण्टाको निर्देशनमा उनले पटकपटक अनुशासनमा बसेर दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए ।
काठमाडौंमा एक साताअगाडि ५१ राउन्ड गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेको घटनालाई उद्धृत गर्दै उनले उपत्यकामा प्रवेश गरेपछि पक्राउ गर्नुले मात्र सुरक्षा अवस्थामा सुधार आउन नसक्ने उल्लेख गर्दै उनीहरु प्रवेश नै गर्न नसक्नेगरी चुस्त सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । निर्वाचन प्रचारप्रसारले तीव्रता पाएसँगै उपत्यकाबाहिरका जिल्लामा उम्मेदवारमाथि सांघातिक आक्रमणका घटना प्रारम्भ भएको र उपत्यकामा पनि त्यसको प्रभाव पर्नसक्ने भन्दै उनले सुरक्षा अवस्थाको विश्लेषणका आधारमा सुरक्षाकर्मी परिचालनमा जोड दिएका थिए । ‘अहिले विशेष परिस्थिति रहेकाले सुरक्षाकर्मी बढी खटिनुपर्ने हुनसक्छ,’ आइजिपी अर्यालको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘बढी खटिनुप¥यो भनेर चित्त नदुखाउनू ।’
निर्वाचन सुरक्षाबारे ब्रिफिङका लागि आयोजित कार्यक्रममा उनी प्रहरी महानिरीक्षक फेर्ने चर्चामा समेत प्रवेश गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी महानिरीक्षकको सम्बन्ध चिसो रहेकाले निर्वाचनअगाडि आइजिपी परिवर्तन हुने चर्चा चल्ने गरेको छ । त्यसैलाई लक्षित गर्दै आइजिपी अर्यालले ‘तल्ला तहका प्रहरी कर्मचारी पनि प्रहरी महानिरीक्षक परिर्वतन हुने भए भन्दै हल्ला गर्दै हिँड्ने गरेको रिपोर्ट आइरहेको’ उल्लेख गर्दै उनले त्यस्ता प्रहरी कर्मचारीलाई बेलैमा सच्चिन चेतावनी दिएका थिए ।
‘प्रहरी निरीक्षकदेखि माथिल्ला तहका प्रहरी अधिकारी आइजिपी चेन्ज गर्छु भन्दै हिँड्ने गरेको सूचना आइरहेको छ,’ अर्यालको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘यसरी अफवाह फैलाउँदै हिँड्ने प्रहरी कर्मचारीले प्रहरी नियमावली राम्रोसँग हेर्नू ।’
उनले प्रहरी नियमावली २०७१ ले संगठनविरुद्ध अफवाह फैलाउँदै हिँड्नेलाई कारबाही गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको उल्लेख गर्दै नसच्चिने प्रहरी कर्मचारीलाई नियमावलीको नियम देखाएर कारबाही गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित: २८ कार्तिक २०७४ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App