४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रदेश २ : त्रिपक्षीय चेपुवामा मधेसी नेता

सिरहा- मुलुकको राजनीतिमा मधेसलाई चासोपूर्वक हेरिँदैछ । यसका विभिन्न कारणमध्ये एउटा हो,  प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मधेस गठबन्धन (संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी) ले साझा उम्मेदवार उतारेको छ । यी उम्मेदवारलाई कसले ‘चेक’ दिँदैछन् ? मधेस गठबन्धनका साझा उम्मेदवारको जितहारमा कुन दल तथा गठबन्धनले कसरी भूमिका खेल्दैछन् ?
मधेसी नेताहरुको राजनीतिक भविष्यकै जोडघटाउमा प्रदेश २ को चुनावी राजनीति तातेको छ । मधेस केन्द्रित दलका ‘शीर्ष’ नेताहरु प्रदेश २ बाटै मैदानमा उत्रिएका छन् । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा मधेस गठबन्धनका शीर्ष नेतृत्वका लागि कुनै पनि क्षेत्र पूर्ण सुरक्षित नभएको स्थानीय बुद्धीजीवीहरू बताउँछन् ।

गठबन्धनकै सदस्य बाधक
स्थानीय तह निर्वाचनमा पाएको मतले उत्साहित समाजवादी फोरम र राजपाले ‘मधेस गठबन्धन’ का नाममा चुनावी तालमेल गरेर साझा उम्मेदवारलाई मैदानमा उतारेका छन् । तर, गठबन्धनका कारण उम्मेदवार बन्न नपाएका असन्तुष्ट आकांक्षीहरू गठबन्धनकै उम्मेदवारविरुद्ध मैदानमा छन् ।
सप्तरी क्षेत्र नम्बर २ बाट मधेस गठबन्धनका साझा उम्मेदवार बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध गठबन्धनकै नेता जयप्रकाश ठाकुर बागी बनेका छन् । ठाकुरले दोस्रो संविधानसभा निर्वाचनमा तराईमधेस लोकतान्त्रिक पार्टीबाट चुनाव लडेर सम्मानजनक मत पाएका थिए । यसपालि उनले गठबन्धनकै उम्मेदवार यादवलाई ठक्कर दिँदैछन् । ठाकुरबाहेक यादवलाई वाम गठबन्धनका साझा उम्मेदवार पूर्वसिँचाइमन्त्री उमेश यादवले कडा टक्कर दिँदैछन् ।
सप्तरीका तत्कालीन क्षेत्र ३ र २ का केही भाग समेटेर हालको क्षेत्र २ बनाइएको छ । दोस्रो संविधानसभा निर्वाचनमा २ बाट माओवादीका अशोककुमार मण्डल र ३ बाट माओवादीकै उमेशकुमार यादव विजयी भएका थिए । फोरम दुवैमा दोस्रो भएको थियो । स्थानीय तह निर्वाचनमा फोरम र राजपाले उत्साहजनक मत पाएका छन् ।
महोत्तरी ३ बाट उम्मेदवारी दर्ता गराएका राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध उनकै पार्टीका नेता चन्देश्वर झा उठेका छन् । झा पूर्वस्वतन्त्र सांसद हुन् । दोस्रो संविधानसभा निर्वाचनमा झा स्वतन्त्रबाट निर्वाचित भएका थिए । टिकट दिने सर्तमा स्थानीय तह निर्वाचनताका ठाकुरले झालाई पार्टी प्रवेश गराएका थिए । टिकट नदिएपछि झा ठाकुरका प्रतिस्पर्धी बनेका छन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाविरुद्ध संघीय समाजवादी फोरमका नेता बबन सिंह बागी उम्मेदवार छन् । पहिलो संविधानसभा निर्वाचनमा सिंह स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट मधेस गठबन्धनका उम्मेदवार शरदसिंह भण्डारीलाई गठबन्धनका बागीबाट असुरक्षा छैन । तर, उनलाई कांग्रेस उम्मेदवार किरण यादवले कडा टक्कर दिँदैछिन् । स्थानीय तह निर्वाचनमा यो निर्वाचन क्षेत्रका अधिकांश गाउँपालिका र नगरपालिकामा कांग्रेसले जितेको छ ।
 सर्लाही २ मा गठबन्धनका अर्का उम्मेदवार राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवलाई राजपाबाट कांग्रेसमा नवप्रवेशी उम्मेदवार जंगीलाल यादवले कडा टक्कर दिँदैछन् । जंगीलाल राजपा महासचिव थिए ।
धनुषा ३ मा मधेस गठबन्धनका उम्मेदवार राजेन्द्र महतो कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिसँग प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र परिवर्तन गर्दै धनुषा पुगेका महतोलाई ‘टुरिस्ट’ उम्मेदवार भनेर आलोचना गर्न थालिएको छ । स्थानीय तह निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा राजपाका लालकिशोर साहले झन्डा फहराएपछि महतो हौसिएर चुनाव लड्न त्यहाँ पुगेका छन् ।
सर्लाही ४ बाट कांग्रेसका अमेरश सिंहले नछाडेपछि महतो धनुषा ३ पुगेका हुन् । निधिसँग टक्कर लिइरहेका महतो पनि पूर्ण सुरक्षित देखिँदैनन् ।
सिरहा ४ मा उठेका राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव कांग्रेस र वाम गठबन्धनको चेपुवामा छन् । उनलाई वाम गठबन्धनका उम्मेदवार अजयशंकर नायक र कांग्रेसका मोक्तार अहमतले कडा टक्कर दिँदैछन् ।
केन्द्रीय नेताविरुद्ध मात्र नभई जिल्लास्तरीय नेताविरुद्ध पनि अधिकांश क्षेत्रमा बागी परेको छ । समयमै यसको व्यवस्थापन नभए चुनावको परिणाममा असर गर्ने सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा बताउँछन् । उनले भने, ‘यहाँ मधेस गठबन्धनका उम्मेदवारलाई त्रिकोणात्मक चुनौती छ – पहिलो गठबन्धनकै बागी, दोस्रो कांग्रेस र तेस्रो वाम गठबन्धन ।’ मधेसी दलका उम्मेदवारलाई पहिलो घरकै असन्तुष्टको चुनौती सामना गर्नुपर्ने पनि उनी बताउँछन् । उनले भने, ‘बागीको वजन कमजोर भएको क्षेत्रमा भिडन्त त्रिकोणात्मक नै हुन्छ ।’
एमाले र माओवादी केन्द्रको गठबन्धन निर्माणपछि यसअघि मधेसमा कमजोर देखिएको वामशक्ति बलियो भएर आएको मधेस मामिलाका विश्लेषक प्राध्यापक विजयप्रसाद मिश्रको विश्लेषण छ ।
मधेस मामिलाका अर्का विश्लेषक तुलानारायण साह भन्छन्, ‘२० जिल्लाबाट ८ जिल्लामा खुम्चिएको मधेस अर्थात् प्रदेश २ को चुनावी प्रतिस्पर्धा अहिलेसम्म त्रिपक्षीय देखिन्छ ।’ उनका अनुसार वाम गठबन्धनका कारण वाम दललाई नाफा हुने देखिन्छ । उनले भने, ‘मधेस गठबन्धनको अवस्था सन्तोषजनक हुने र कांग्रेसलाई घाटा हुने देखिन्छ ।’
निर्वाचनमा वाम गठबन्धन, कांग्रेस र मधेस गठबन्धनबीचमै टक्कर हुने देखिन्छ । यद्यपि गठबन्धनभित्रका प्रमुख नेताहरु जितका लागि आन्तरिक तालमेलमा व्यस्त छन् । सप्तरी २ र महोत्तरी ३ मा गठबन्धनका शीर्ष नेता उपेन्द्र यादव र महन्थ ठाकुरलाई कांग्रेसले सहयोग गर्ने घोषणा गरेको छ । तर, धनुषा ३ का मधेस गठबन्धनका उम्मेदवार राजेन्द्र महतो, सर्लाही २ का उम्मेदवार महेन्द्र राय यादव, सिरहा ४ का राजकिशोर यादव, महोत्तरी २ का शरद्सिंह भण्डारीको हकमा कांग्रेसका उम्मेदवार कडा प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
मधेस मामिला विश्लेषक मिश्रले नतिजा चुनावी माहोलमा भर पर्ने बताए । उनले भने, ‘मतदाताले प्रदेशमा नाता सम्बन्धकालाई र प्रतिनिधिसभा पहुँच एवं पावरवालालाई मत दिने परिस्थिति देखिन्छ ।’ आसन्न निर्वाचनमा पैसा, पावर र पहँुच, नातासम्बन्ध र जातिले प्रमूख भूमिका खेल्ने उनले बताए । उनले भने, तसर्थ अहिल्यै नै चुनावी नतिजा आकलन गर्न मुस्किल छ ।’
चुनावी रणनीति र राजनीति फरक विषय भएकाले यस प्रदेशमा मधेसी दलले सम्मानजनक मत पाउने लहानका बुद्धिजीवी देवनारायण यादवको तर्क छ । ‘आन्दोलनको संकेत मेटिएको छैन,’ उनले भने, ‘यसपालि मधेसका मतदाताले मुद्दाका पक्षमा मतदान गर्नेछन् ।’
प्रदेश २ मा संविधान संशोधनको मुद्दाले वाम गठबन्धन र कांग्रेसलाई घाटा र मधेस केन्द्रित दललाई फाइदा पुग्ने सिरहास्थित सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसका प्राध्यापक सुरेन्द्र यादव बताउँछन् । संविधान संशोधनका लागि लडेको मधेस केन्द्रित दललाई कांग्रेस, माओवादी र एमालेले असहयोग गरेका कारण मतदाताले निर्वाचनमा यसको जोडघटाउ गर्ने विश्वास उनको छ ।
सिरहा सन्हैठाका बुद्धिजीवी जगदीशप्रसाद यादवको भनाइमा वाम गठबन्धन निर्माणले प्रदेश २ मा त्रिकोणात्मक टक्कर देखिए पनि चुनाव नजिक आउँदासम्म दृश्य फेरिनेछ ।  उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा जिल्लाअनुसार फरक दलका पक्षमा आउनेछ । मधेस गठबन्धनको ‘मजबुत संगठन’ नहुँदा सोचेअनुसारको नतिजा ल्याउन सकस पर्ला ।’
स्थानीय तह निर्वाचनदेखि अहिलेसम्म आइपुग्दा मधेसका मतदातामा धेरै परिवर्तन आइसकेको राजनीतिशास्त्रका सहप्राध्यापक डा. नमोनारायण झाले बताए । उनले भने, ‘अहिले मधेसी मतदाताको तराजुमा तीनवटै गठबन्धन उस्तैउस्तै वजनका देखिएका छन् । त्यसैले प्रतिस्पर्धा त्रिकोणात्मक हुने अवस्था छ ।’

प्रकाशित: २८ कार्तिक २०७४ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App