४ वैशाख २०८१ मंगलबार
राजनीति

स्थानीय निर्वाचनमा जस्तो देखिएन चुनावी रौनक

रम्भा गाउँपालिका ५, ताहुँमा नमूना मतदानमा सहभागी हुँदै निर्वाचन शिक्षा कार्यकर्ता तथा स्थानीय । तस्बिरः मुक्तिप्रसाद न्यौपाने

पाल्पा – निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका मतदाता भने अझै अन्यौलमै छन् । उम्मेदवारका गाउँ केन्द्रित कार्यक्रम भैरहँदा टोपी, टिसर्ट, झण्डा, तुलब्यानर तथा शहर केन्द्रित कार्यक्रम नदेखिँदा चुनावी रौनकता समेत देखिएको छैन् । 

रम्भा गाउँपालिका–१, का मतदाता दिनेश भट्टराईले गाउँघरमा स्थानीय चुनावमा जस्तो उत्साह नदेखिएको बताए । ‘गाउँमा उम्मेदवार पनि अहिलेसम्म देखिएका छैनन् । उनीहरू आफ्नै संगठन भित्रका कार्यक्रममा भएर होला । ब्यानर, झण्डा, टिसर्ट जस्ता सामाग्री पनि प्रयोगमा छैनन्,’–भट्टराईले भने । उनले आफुहरू कुन क्षेत्र र प्रदेश अन्तर्गत भोट हाल्ने समेत अन्यौलमा रहेको बताए । भोट कति जनालाई कसरी हाल्ने हो भन्ने अझै धेरै अन्यौलमै छन् । केही सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बाहेक मतदाता भोट खसाल्ने तरिका बारे जानकारी पाउन नसक्दा कुन उम्मेदवार हो र कसरी भोट दिने भन्ने अन्यौलमै छन्। 

जिल्लामा प्रमुख राजनीतिक दलहरू कांग्रेस र वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सहित आफ्ना क्षेत्रीय कमिटी, बुद्धिजिवी र विभिन्न भातृ संगठनलाई एक ठाउँमा राखेर चुनावी अभियानमा लाग्न उत्प्रेरित गरिरहेका छन् । अन्य दलहरूले भने घरदैलो कार्यक्रमलाई तिव्रता दिएको देखिन्छ। 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जिल्लाका २ सय २६ निर्वाचन शिक्षा स्वयंसेवकहरूलाई मतदाता शिक्षा तालिम सम्पन्न गरेको बताए । ‘तानसेन नगरपालिका २४ गते, रामपुरमा २६ गते र ताहुँमा २७ गते गरी तीन दिन सामाजिक परिचालक र बाल कक्षा शिक्षिकालाई तालिम दिइएको छ । उनीहरू अब गाउँगाउँमा खटिँदैछन्,’– सारुले भने । निर्वाचन सम्बन्धी जानकारी प्रदान गर्न नमूना मतदान सहित सबै जानकारी तालिम प्रदान गरिएको छ । 
देश चुनावमय हुनुपर्ने हो । निर्वाचनको मिति आउन एक महिना पनि छैन तर चुनावी पारो पनि उति साह्रो उक्लिएको छैन । न त प्रतिबद्धताको पोको बोकेर उम्मेदवार पुगेका छन् न मतदाता शिक्षा कार्यक्रम लिएर सरकारी कर्मचारीहरू नै । स्थानीयहरूले रेडियो, टीभी र पत्रपत्रिकाबाट चुनावको गर्मी महसुस गरेका छन् । सामाजिक सञ्जालहरूको भूमिका पनि उत्तिकै प्रभावकारी बनेको छ । तर पहिलेको निर्वाचन क्षेत्रहरू हेरफेर हुँदा अन्यौलता समेत बढेको छ, ताहुँकी बसन्ती रानाले बताइन्। 

तानसेनका व्यवसायी बिष्णुप्रसाद खनालले विगतका चुनावमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै बाटोघाटो र सार्वजनिक स्थलहरू रङ्गिविरङ्गी बनाएकै कारण पनि अहिले उत्साह कम भएको हुनसक्ने बताए । उनी भन्छन्, ‘स्थानीय चुनाव जस्तो उत्साह हुने कुरा त भएन तर घरघरमा उम्मेदवार पुगेकै छैनन्।’

चुनावको समय ठूलाठूला कुरा गर्ने जनप्रतिनिधिहरु पनि आफ्नै दलहरुलाई समातेर कता हिँडेका छन् ? जसले जिते पनि मतदातालाई हुनेवाला केही छैन । ‘विजयी हुनेहरुले केही गर्छन् भन्ने त कसैले पत्याउन छाडे । शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रका समस्या ज्यूँका त्यूँ छ,’–ताहुँकै तिलकराम थापाले भने। 

 

प्रकाशित: २७ कार्तिक २०७४ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App