८ वैशाख २०८१ शनिबार
राजनीति

पुराना आश्वासन नेतालाई घाँडो

बर्दिया- एमाले उपाध्यक्ष वामदेव गौतम ३० वर्षअघिदेखि बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा राजनीति गरिरहेका नेतामध्ये पर्छन् । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली मानिने गौतम २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ मा उपाध्यक्ष गौतमकोे उम्मेदवारी अहिले छैटौं पटक हो ।

यसअघि पटकपटक चुनाव जितेका नेताहरुलाई जसले जे भने पनि खिसिक्क हाँस्यो, सके सम्झायो, नसके भीडमा अपमानित हुँदै अघि बढ्नुपर्ने अवस्था छ ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ बाट वाम गठबन्धनको एकमात्र सम्भावित उम्मेदवारका रूपमा नाम सिफारिस भएकाले टिकटमा उनको टाउको दुखाइ भएन । तर टिकट पाएपछिका बग्रेल्ती समस्याले भोट माग्न मतदातामाझ पुग्दा कठिन महसुस गराइरहेको छ । वाम गठबन्धनका उम्मेदवार  गौतमलाई यसअघि चुनावका बेला आफैंले दिएका आश्वासन घाँडो बनेको कार्यकर्ता स्विकार्छन् । मतदाताले पुराना आश्वासन स्मरण गरेर कोट्याउँदा चित्तबुझ्दो जबाफ गौतमले दिन सकिरहेका छैनन् । २०४८ र २०५१ मा संसदीय निर्वाचनमा जमिनदारीविरुद्ध आगो ओकलेर मध्यम वर्ग र निम्न वर्गको साथ पाएका गौतमले चुनाव जितेको स्थानीय स्मरण गर्छन् । त्यसपछिका चुनावमा उनले प्रधानमन्त्री बन्ने उद्घोष र विकासे नारा, कृषिलाई व्यवसायीकरण गर्ने, उद्योगधन्धा विस्तार र पक्की सडक निर्माण गर्ने अजेन्डा अघि सारेको स्थानीय बताउँछन् । तिनै आश्वासन पूरा हुन नसक्दा यति बेला मतदाता रुष्ट बनेका छन् । पुरानो र अपूरा आश्वासनले नेता गौतमलाई सकस भइरहेको छ ।
गौतमका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जय गौतम तेस्रोपटक  चुनावी मैदानमा उत्रिएका हुन् । राष्ट्रिय राजनितिमा पहँुच बनाएका उनी बहालवाला सिँचाइमन्त्री हुन । विकासे अजेन्डा अघि सारेर दोस्रो संविधानसभा चुनाव जितेका मन्त्री गौतमले पनि अपेक्षाकृत काम गर्न नसकेको मतदाताको बुझाइ छ । निर्वाचन क्षेत्र नं. १ मा पर्ने जिल्लाको जेठो गुलरिया नगरपालिकामा  सडक, तटबन्धन र नेपाल–भारत नाका व्यवस्थापन उनले दोस्रो संविधानसभा चुनावमा उठाएका मुख्य अजेन्डा हुन । विकासप्रेमी नेताका रुपमा लिइएका उनले दोस्रो संविधानसभाको चुनावमा गुलरियावासीको भरपुर सहयोगले चुनाव जितेको स्थानीयको भनाइ छ ।
दुवै नेतालाई विगतका आश्वासनले अप्ठ्यारो  पारेको छ । उनीहरु जसले जेसुकै भने पनि खिसिक्क हाँस्यो, सके सम्झायो, नसके भीडमा अपमानित हुँदै अघि बढ्नुपर्ने अवस्था छ । ‘मतदाताको मतमार्फत चुनिन चाहेका प्रतिनिधिले भोग्ने यो एउटा यस्तो साझा सकस हो, जसलाई सजिलै सहन गर्नुबाहेक अरू उपाय हुन्न’, वाम गठबन्धनका एक उम्मेदवारले भने ।
बाहिरबाट देखिने र भित्र भोगिने जीवन फरक हुने औल्याउँदै नेताले जानीनजानी आश्वासनका समस्या गुजारिरहेको उनले प्रस्ट्याए । ‘कहिलेकाहीं त तिनका बाबुको ऋण खाएको छु र जस्तो  पनि लाग्छ’, नाम नखोल्ने सर्तमा उम्मेदवारको  बाध्यताबारे कार्यकर्ताले भने, ‘तर के गर्ने, बनिबनाउ कुरा गर्नैपर्छ ।’ २०५६ मा आफंै अध्यक्ष भएको नेकपा मालेबाट निर्वाचनमा उठेका उपाध्यक्ष गौतमलाई एमालेको चेपुवाबीच कांग्रेसकी काशी पौडेलले पराजित गरिन् । मन्त्री गौतम पनि पहिलो संविधानसभामा माओवादीका विष्णु थारुसँग पराजित भएका थिए । यसपटक दुवै नेता जसरी भए पनि चुनाव जित्ने रणनीतिमा छन् । यद्यपि उपाध्यक्ष गौतमको केन्द्रीय व्यक्तित्वको विज्ञापन अपेक्षाकृत आकर्षक बन्न सकेको छैन ।  विकासे नारा बोकेर हिँडेका गौतमद्वयको अजेन्डामा मतदाता पर्ख र हेर भन्ने अवस्थामा छन् । तर  वामगठबन्धन बलियो रहेको निर्वाचन क्षेत्रमा मन्त्री गौतमको उपाध्यक्ष गौतमसँग कडा टक्कर हुने स्थानीयको आकलन छ ।
 २०४८ र २०५१ को संसदीय निर्वाचनमा बर्दियाका तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका थिए भने २०५६ मा सबै सिट कांग्रेसको पोल्टामा परेका थिए । पहिलो संविधानसभा निर्वाचन २०६४ मा भने सबै सिट माओवादीले जित्यो । २०७० सालमा साबिकका चारवटा निर्वाचन क्षेत्रमा २ वटा माओवादी केन्द्र र एकएकवटा कांग्रेस र एमालेले जितेका थिए ।
बर्दियाका प्रतिनिधिसभाका २ सिट र प्रदेशसभाका चार सिटका लागि ‘हेभीवेट’ चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा भूमिसुधारमन्त्री गोपाल दहित र बिनाविभागीय मन्त्री सन्तकुमार थारुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।  कांग्रेसले प्रदेशसभाको १ (क) मा मंगल थारु, १ (ख) मा सोदे बिष्ट र २ (क) मा रामचन्द्र थापा, २ (ख) मा नाचुराम थारुलाई  उम्मेदवार बनाएको छ । वाम गठबन्धनबाट १ (क) मा तिलक शर्मा, १ (ख) मा कविराम थारु, २ (क) मा दिपेश थारु र २ (ख) मा कुलप्रसाद पोख्रेल उम्मेदवार छन् ।

प्रकाशित: २७ कार्तिक २०७४ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App