८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय फोरमको घोषणापत्र आज आउने

काठमाडौं- दुई नम्बर क्षेत्रमा चुनावी तालमेल गरेका संघीय फोरम र राजपाले अलगअलग घोषणापत्र ल्याउने भएका छन् । फोरमले सोमबार काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ भने राजपाले दुईतीन दिनपछि घोषणापत्र बाहिर ल्याउने जनाएको छ ।
दुई नम्बर क्षेत्रमा चुनावी तालमेल गर्ने बेलामा घोषणापत्र पनि साझा बनाउने अनौपचारिक सहमति दुवै पार्टीका नेताले गरेका थिए । संघीय फोरमले आफूहरुसँग सरसल्लाह नै नगरी घोषणापत्र बनाएको आरोप राजपा नेताले लगाएका छन् । फोरमका नेताहरूले भने राजपासँग दुई नम्बर प्रदेशमा मात्रै तालमेल भएकाले साझा घोषणापत्र बनाउन आवश्यक नभएको जनाएका छन् ।
संघीय फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सोमबार घोषणापत्र सार्वजनिक गर्ने बताए । घोषणापत्र तयार गरेर संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव शनिबार सप्तरी गएका छन् ।
राजपाका प्रवक्ता सन्तोष मेहताले भने दुई नम्बर प्रदेशबाहेक अरु प्रदेशमा संघीय फोरमले एकलौटी उम्मेदवार घोषणा गरेकाले दुई पार्टीको साझा घोषणापत्र बनाउन नसकिएको बताए । ‘दुई नम्बर क्षेत्रमा चुनावी तालमेल गर्ने बेलामा साझा घोषणापत्र बनाउने मौखिक सहमति भएको थियो तर फोरमले राजपासँग सरसल्लाह नै नगरी एकलौटी उम्मेदवार घोषणा ग¥यो’, उनले भने । राजपाले पनि केही दिनमै घोषणापत्र सार्वजनिक गर्ने उनले बताए ।
संघीय फोरमले तयार गरेको घोषणापत्रमा नयाँ प्रदेशको सिर्जना, सीमा हेरफेरजस्ता विषयमा पहिचानलाई सम्बोधन गर्नुपर्ने कुुरा उठाइएको पार्टी स्रोतको भनाइ छ । पुराना दल पहिचानको पक्षमा नभएको पनि घोषणापत्रमा जनाइएको छ ।
यसैगरी घोषणापत्रमा संघमा राष्ट्रपति, प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुने शासकीय स्वरूपको पक्षमा पार्टी रहेको जनाइएको छ । राजपा भने संसद्बाट निर्वाचत कार्यकारी प्रधानमन्त्रीको पक्षमा छ ।

प्रकाशित: २७ कार्तिक २०७४ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App