७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनको मुखमा राष्ट्रपतिको युएई यात्रा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी मुलुक निर्वाचनमा होमिएका बेला चार दिनको औपचारिक भ्रमणका लागि सोमबार प्रस्थान गर्दै छन् ।
युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्ने निम्तो आएको साता दिनमा सोमबार प्रस्थान गर्दै छन् । मुलुक निर्वाचनको तयारीमा रहेका बेला राष्ट्रपति भण्डारीको ‘अकस्मात’ भ्रमणलाई लिएर आश्चर्य प्रकट गरिएको छ ।
त्यसमा पनि साउदी अरेबिया, युएई, इजिप्टलगायतका मुलुकले कतारमाथि नाकाबन्दी लगाएका बेला हुन लागेको यो भ्रमणले विवाद निम्त्याउने देखिएको छ । तथष्ट परराष्ट्र नीतिका हिसाबले पनि यो भ्रमणले अरब मुलुकको एउटा ‘ब्लक’को पक्ष लिएकोजस्तो अर्थ लाग्न सक्ने संभावना छ ।
सरकारी स्रोतका अनुसार, कतारले धेरै अघिदेखि निमन्त्रणा गरिरहेको भए पनि अकस्मात युएईको भ्रमण हुन लागेको हो । भ्रमणमा कुनै विषयमा सन्धिसम्झौता हुन सक्ने सम्भावना देखिएको छैन ।
राष्ट्रपति भण्डारी युएईका युवराज तथा सेनाका डेपुटी सुप्रिम कमान्डर शेख मोहम्मद बिन जयद अल नह्यानको निमन्त्रणामा चार दिने भ्रमणमा त्यसतर्फ जान लागेकी हुन् ।
नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध गाँसिएको ४० वर्ष पुगेको अवसर पारेर राष्ट्रपतिले युएईको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका अनुसार राष्ट्रपति भण्डारी र युएईका युवराज शेख मोहम्मदबीच मंगलबार द्विपक्षीय वार्ता हुनेछ । भ्रमणका बेला दुई देशका अधिकारीबीच आपसी हीत र द्विपक्षीय सहयोगका विषयमा छलफल हुने जनाइएको छ । भ्रमणका बेला राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीसँगै उनकी छोरी निशाकुसुम भण्डारी, सवारीमन्त्रीका रुपमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिको विदेश मामिला सल्लाहकार मदनकुमार भट्टराई, राष्ट्रपतिका सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा, परराष्ट्रसचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललगायतको टोली सोमबार युएई प्रस्थान गर्ने परराष्ट्रले जनाएको छ  ।
२६ सदस्यीय जम्बो भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका ६ जना, मन्त्री एकजना, सरकारी पत्रकार दुईजना र बाँकी राष्ट्रपति निवासका अधिकारीहरू रहेका छन् ।
स्थानीय तह निर्वाचनका बेला राष्ट्रपतिलाई श्रीलंकाको भ्रमण गराउने राष्ट्रपति कार्यालयको सल्लाहकार समूह सक्रिय भनेको थियो । परराष्ट्रले यस्तो भ्रमण उपयुक्त नहुने ठान्दाठान्दै पनि राष्ट्रपति कार्यालयको सल्लाहकार समूह फेरि हावी भएको स्रोतको दावी छ ।

तत्कालीन राष्ट्रपति रामवरण यादवले कतार र कुबेतको भ्रमण गरेका थिए । राष्ट्रपति भण्डारीलाई कतारको निम्ता आए पनि त्यताको भ्रमणतर्फ भने चासो नहुनुलाई समेत परराष्ट्र मन्त्रालयमा आश्चर्यको रुपमा लिइएको छ ।
युएईले नेपालसँग हवाइ सम्झौता, दोहोरो कर हटाउनेसम्बन्धी व्यवस्था र दुई देशबीचको व्यापार सम्झौता गर्न चाहेको छ । प्रायः अरब देशहरूले राष्ट्रपतिलाई कार्यकारी अधिकारसहितको ठानेर निमन्त्रणा गर्ने भए पनि तिनले त्यहाँ कुनै सम्झौता गर्न सक्दैनन् ।
स्रोतका अनुसार, सम्बन्ध सुधारकै निम्ति भ्रमण हुन लागेको भए चार लाख नेपाली कार्यरत कतारको भ्रमणको पनि व्यवस्था हुने थियो । युएईमा दुई लाख नेपाली कार्यरत छन् ।
राष्ट्रपति भण्डारी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमणसम्बन्धमा देखिएको विवादबारे उनका प्रेस सल्लाहकार माधव शर्माले भने, ‘भ्रमणलाई लिएर भएका अनावश्यक प्रतिक्रिया देखेर मलाई आश्चर्य लागेको छ । यो राष्ट्रपति कार्यालयले निर्णय गरेको होइन । यो भ्रमणको उपय्क्त समय नभएको भए परराष्ट्र मन्त्रालयले स्वीकृत नै गर्ने थिएन ।’

प्रकाशित: २७ कार्तिक २०७४ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App