coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

द्वन्द्वकालका घाइतेलाई कर्णालीमा निःशुल्क उपचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला । तस्बिर : डिबी बुढा

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो।

६ नम्वर प्रदेशका १० वटा र अछाम, वाजुरा र वझाङ जिल्ला गरेर १३ वटा जिल्लाका द्वन्द्वकालका घाइतेको उपचार कर्णाली अस्पतालमा हुने भएको हो । उपचार गराउन आउने द्वन्द्वकालका घाइतेको हकमा आतेजाते र उपचार सेवा निःशुल्क हुनेछ । साथै प्रसुती तथा स्त्री रोग, हाडजोर्नी तथा नसा, आँखा र रेडियोलोजी लगायतको सेवा विपन्न तथा सिमान्तकृत वर्गका बिरामीका लागि निःशुल्क प्रदान गरिने रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

उनका अनुसार द्वन्द्वकालका घाइतेको हकमा परिचय पत्र भएमा उपचार गर्न सकिने छ । भने विपन्न तथा सीमान्तकृत वर्गको बिरामीको उपचारका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस आवश्यक पर्ने उनले जनाए । कार्तिक १४ गते मन्त्रालय स्तरीय सचिवको बैठकले जुम्ला अस्पतालबाट सेवा शुरु गर्ने निर्णय पारित गरेपछि कार्तिक २४ गते प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले र शान्तिकोष बीचमा सम्झौता पत्रमा दस्तखत भई परियोजना शुरु भइसकेको छ। 

पहिलो चरण अन्तरगत १३ वटै जिल्लाका शान्ति समितिका प्रमुख, महिला तथा बालबालिका कार्यालयका प्रमुख र स्वास्थ्य कार्यालयका प्रमुखहरूको वैठकले थप कार्ययोजना बनाएर परियोजनालाई व्यवस्थित बनाउदै लग्ने रजिष्ट्रार काफ्लेले जानकारी दिए । हाल द्वन्द्वकालका घाइतेको उपचार खर्च, यातायात र खान बस्नको साथै उपचारका लागि चाहिने उपकरणका लागि १० करोड रुपैयाँ शान्तिकोषले दिने भएको छ। 

तत्काल नेत्र रोग विशेषज्ञ र फिजियो थेरापी विभाग खोल्नको लागि पहल शुरु भएको छ । द्वन्द्वकालका जस्तो सुकै कठिन बिरामी आएपनि सहजै रुपमा उपचार हुने व्यवस्था मिलाउन अस्पताल प्रशासन सक्रिय देखिएको छ । यो परियोजनाले पिछडिएको क्षेत्रको गुणस्तरीय स्वास्थ्य सेवा दिने हबका रुपमा स्थापित हुने आशा गरिएको छ। 

अन्य जिल्लाको विरामी आउने भएकोले भरपर्दो र विश्वासिलो उपचार सेवा कर्णालीमै पाइन्छ भन्ने प्रकारको सन्देश प्रवाह हुने अस्पताल प्रशासनले जनाएको छ। यो सेवा सञ्चालनका लागि अस्पतालकै जनशक्तिले धान्छ, रजिष्ट्रार काफ्लेले भने, आगामी असारसम्म उत्कृष्ठ सेवा दिनुपर्छ भन्ने मान्यतामा अडिग छाँै ।  यो कार्यक्रमले ६ नम्वर प्रदेशलाई प्रतिष्ठानको उपचारले धान्छ भन्ने सन्देश फैलाएर नीतिगत लेवलमा सहयोग पुग्ने देखिएको छ । सामान्य खालका घाइते उपचार तत्कालबाट शुरु भएपछि जटिल प्रकारका घाइतेको उपचारको लागि दुईचार हप्ता पर्खनु पर्ने रजिष्टार काफ्ले बताउँछन्। 
हाल डोल्पा जिल्लामा एमडिजीपी अनुप मंगल समाल,सुर्खेतमा एनएसथेसियाजिष्ट डा. प्रविण गिरी, जाजरकोटमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. राजिव शाह र हुम्लामा हाडजोर्नी विशेषज्ञ डा. मंगल रावलले सेवा दिइरहेका छन् । हुम्लामा ६० जना विरामीको सफल शल्याक्रिया भएको डां. मंगल रावलले जानकारी दिए।

जुम्ला अस्पतालमा विशेषज्ञ डाक्टर १७ जना, मेडिकल डाक्टर २४ जना छन् । फिजियो थेरापी सेवा शुरु हुँदैछ । जुम्ला अस्पतालमा स्त्री तथा प्रसुती, बाल रोग, जनरल सर्जरी र इन्टर मेडिसन सेवा शुरु भइसकेको छ । द्वन्द्वकालका घाइतेको निःशुल्क उपचार हुने खवरले सम्पूर्ण घाइतेजन खुसी छन् । द्वन्द्वकालमा कर्णाली निकै प्रभावित क्षेत्र भएकोले यहाँ घाइते अंगभंग भएकाहरू बढी छन । यसअघि घाइतेको उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगंजमा हुने व्यवस्था थियो। 

प्रकाशित: २६ कार्तिक २०७४ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App