८ वैशाख २०८१ शनिबार
समाज

नगरपालिकामा भित्रका सडक बिग्रेका मात्रै

मध्यपहाडी लोकमार्ग  छेउमा रहेको  जगतिपुर – काफलचौर पाँचकटिया सडकमा  गाडी  धकेलेर पार लगाउदै स्थानीय । तस्बिर : जनक केसी

जाजरकोट –  जिल्लाको सदरमुकाम रहेको  भेरी नगरपालिका भित्र आउने र यहाँबाट बाहिर जाने  राजमार्ग र अन्य सडकको अवस्था निकै जिर्ण बनेको छ । सडक विभाग,  स्थानीय प्रशासन, नगरपालिका र अन्य सरोकारवाला निकायले वास्ता नगरेका कारण सडकको अवस्था  निकै  बिग्रेको  हो।

वर्षात र  पहिरोका कारण  बिग्रेका र भत्केका सडकहरू मर्मत गर्ने र बनेका  सडकहरूको स्तरोन्नति गर्ने तर्फ  यी निकायले  कुनै ध्यान नदिँदा स्थानीयहरूलाई  यात्रामा सास्ती मात्र होइन दुर्घटनाको जोखिम पनि  उच्च बनेको छ । सदरमुकाम  खलंगादेखि पाँच कटिया, रिम्ना र काफल चौरतिर जाने सडकको अवस्था निकै  बेहाल बनिसकेको छ तर सडक मर्मत तथा स्तर उन्नतिको पनि कुनै पहल भएको देखिदैन।

यस्तै भेरी नगरपालिकाको १३ नम्बर कुदुदेखि जगतिपुर हुँदै जाने मध्यपहाडी सडकको अवस्था झनै बिग्रिएर मोटरसाइकल समेत चलाउन कठिन हुने अवस्थामा पुगेको स्थानीय रमेश शर्माले बताए । बाटोमा वर्षातले  बनाएका ठूला ठूला खाल्डाहरू र  पहिरोहरूको व्यवस्थापनमा नगरपालिका र  सडक विभागले कुनै चासो नदिएका कारण जनताले ठूलो  सास्ती पाएको शर्माले बताए । गाउँमा सडक पहुँच पुगेको छ भन्ने नाम मात्र छ सडकमा यात्रा गर्दा जनताले कति दुःख पाएका छन् कसैलाइ थाहा छैन उनले भने। 

‘सदरमुकामको बजार नजिकैको सडकको दसा त यस्तो छ झन  विकट गाउँमा बनेका सडकहरूको हालत के होला,’ स्थानीय सीता जैसीले भनिन्, ‘सडक खन्छन् वर्षातको पानी र पहिरो व्यवस्थापनको कुनै काम गर्दैनन् अनि  सडक नाम मात्रको हुन्छन् यात्रा गर्नेले साह्रै कष्ट व्यहोर्नु पर्छ,’ उनले भनिन् । करोडौं खर्चेका सडकहरू पनि बिना कामका भएको स्थानीय वासीहरूको गुनासो छ। कुदुदेखि जगतिपुर भुर तथा जगतिपुरदेखि  काफलचौरसम्मको सडकमा यात्रा गर्ने सबैले सडक डिभिजन कार्यालय र  नगरपालिका प्रति तिव्र आक्रोस पोख्ने गरेको  विजय माध्यमिक विद्यालय काफलचौरका शिक्षक कमल चन्दले बताए । उनले  सदरमुकामको बजारदेखि गाउँका विभिन्न वस्तीहरू जोड्ने सडकहरु निकै विग्रेको बताए। 

उनले सडक विभागले नगरपालिका र नगरपालिकाले सडक विभागलाई सडक बिग्रेको आरोप लगाउने गरेको  चन्दले बताए । भेरी नगरपालिकाका उममेयर भावना भण्डारीले नगरपालिका भित्रका राजमार्गहरूको स्तरोन्नतिको काम सडक विभागले गर्नु पर्ने र अन्य साना सडकहरूको मर्मतको काम नगरपालिकाले गरिरहेको बताइन् । उनले सडक विभागले गतिलो चासो नदिएका कारण मध्यपहाडी लोकमार्ग लगायतका  अन्य प्रमुख सडकहरूको अवस्था निकै जिर्ण रहेको बताइन् । उता सडक डिभिजन कार्यालय चौरजहारी रुकुमका प्रमुख आशिस थापा मगरले  नगरपालिका क्षेत्र भित्रको  कुनै पनि सडकको जिम्मेवारी नगरपालिकाकै हुने भएकोले आफूहरूले केही नगरेको बताए।

उनले नयाँ निर्माण हुने सडकको जिम्मा आफूहरूको भएको र बनिसकेकाहरूको मर्मत सम्भार गर्ने काम  स्थानीय सरकारको हुने बताए ।  सडक बनेको  ६ वर्ष सम्म पनि  गाडी गुड्न नमिल्ने गरी सडकहरू  बिग्रिएको  नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । ‘मुलुकमा राज्य छ सरकार छ कानुन छ भन्ने कुराको सून्य अनुभुति हुन्छ  यी सडकहरू देखेको बेला’  शाहले  भने ।  सडक बनेको ७ वर्ष बितिसक्दा पनि  खलंगा पाँचकटिया, खलंगा काफलचौर जगतिपुर काफलचौर, छेडा थलह सडकमा सहज रुपमा गाडी नचलेको स्थानीयवासीको गुनासो  छ। 

 

प्रकाशित: २६ कार्तिक २०७४ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App