coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धर्मगुरुको ‘आशीर्वचन’ खोज्दै उम्मेदवार

पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ गत कात्तिक १९ गते लारुम्बास्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग भेटघाट गर्दै ।

इलाम– गत १६ गतेको उम्मेदवार मनोनयन दर्तापछि पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग दर्शन–भेट गर्न लारुम्बा (माङ्सेबुङ) पुगे । कात्तिक १९ गते माङ्सेबुङ गाउँपालिकास्थित गुरुको आश्रम रहेको लारुम्बा पुगेका नेम्बाङले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रचार अभियानको शुभारम्भ नै त्यहींबाट गरे। 

किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा नेम्बाङले लगातार ३ पटक निर्वाचन जितेको क्षेत्रमा पर्छ । र, नेम्बाङ आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पनि त्यही क्षेत्रबाट नेकपा एमाले–माओवादी (वाम गठबन्धन)को उम्मेदवार छन्। 

नेम्बाङ पुगेको अघिल्लै दिन अर्थात् कात्तिक १८ मा त्यही क्षेत्रको नेपाली कांग्रेसको उम्मेदवार केशव थापा गुरुलाई भेट्न त्यहीं पुगिसकेका थिए । प्रदेशसभा सदस्यका उम्मेदवारसहित पुगेका नेम्बाङ र थापाले गुरुसँग ‘दर्शन–भेट’ गरे र फर्किए । अहिले पनि नेम्बाङ र थापा त्यही आसपासका गाउँमा चुनावी प्रचार अभियानक्रममा छन् । २०७० सालको संविधानसभा निर्वाचनको केही दिनअघि एमाले नेता केपी शर्मा ओलीसमेत उनै धर्मगुरुलाई भेट्न लारुम्बा पुगेका थिए । नजिकै झापाको क्षेत्र ७ बाट चुनाव लडेका ओली चुनावको मुखैमा ‘गुरुको आशीर्वचन लिन’ पुग्दा देशभर चर्चाको विषय बनेको थियो।  

विश्वभर छरिएका किरात धर्मावलम्बीको मुख्य धार्मिक केन्द्र हो इलामको माङ्सेबुङ । यहाँ बस्छन्, राष्ट्रिय विभूति फाल्गुनन्दका चेला आत्मानन्द लिङ्देन । ठूलो समूहमा रहेका किरात धर्मावलम्बीलाई एकसूत्रमा बाँधेका गुरु लिङ्देनलाई त्यस समुदायका सबैले आदर–सत्कार गर्छन् र, उनको आशीर्वचन लिन पुग्छन् । यही मेसो पत्ता लगाएका राजनीतिक दलका नेता–कार्यकर्ताले चुनावका बेला गुरुलाई ‘अलि बढी नै आदर’ गर्ने गरेको स्थानीयको अनुभव छ। ‘चुनावको मिति घोषणा भएपछि यहाँ गुरु भेट्न आउने जुनसुकै दलका माथिल्लो तहका नेता–कार्यकर्ताको घुइँचोजस्तै हुन्छ,’ एक स्थानीय भन्छन्, ‘कहिलेकाहीं त विशिष्ट व्यक्तिसमेत आइपुग्छन् र गुरुको आशीर्वाद लिएर फर्किन्छन्।’ 

गुरुले आफ्ना चेलाहरूको ‘विश्वास जित्ने’ बुझेका उम्मेदवार चाहिँ गुरुको ‘मन जित्न’ यहाँ धाउने गर्छन् । उम्मेदवारहरूको यो अनुमानलाई गुरुको आश्रम रहेको स्थान (पुरानो बाँझो गाविस)को अहिलेसम्मको चुनावी नतिजाले पनि प्रमाणित नै गरिदिएको छ । २०५१ सालको चुनावमा नेकपा एमालेको सबैभन्दा बढी मत आएको गुरुआश्रम रहेको (बाँझो वडा–८)मा ०५४ सालको स्थानीय निर्वाचनमा प्यानल नै राष्ट्रिय जनमुक्ति पार्टी (राजपा) ले जितेको थियो । ०५६ र ०६४ सालका निर्वाचनमा नेकपा एमालेको सबैभन्दा बढी मत आएको यही स्थानमा ०७० सालको संविधानसभा चुनावमा भने संघीय समाजवादी फोरमको पहिलो मत आयो । तर, गत स्थानीय तह निर्वाचनमा चाहिँ माङ्सेबुङ गाउँपालिका–५ बाट वडाध्यक्षसहित सबै सदस्य पदमा फेरि राजपाले बाजी मार्‍यो।

जिल्लाको दुर्गम भेगमा रहेर पनि यतिका अस्थिर मतदाता देखिएपछि उम्मेदवारको ध्यान चुनावको मुखमा त्यतै तानिएको हो । अहिले विभिन्न दलका नेता–कार्यकर्ता गुरुको आशीर्वाद लिन दिनहुँ पुगिरहनुका पछाडि धार्मिक आस्था मात्रै नजोडिएको दलका नेता नै स्वीकार्छन् । नेपाली कांग्रेसको जिल्ला तहका एक नेता भन्छन्, ‘किरात धर्मगुरुले त्यहाँ धेरैजनाको मत प्रभावित पारिदिन सक्छन् भन्ने बुझाइ सबै पार्टीमा छ । त्यसैले चुनावका बेला अलि बढी त्यतै ध्यान केन्द्रित गर्छन् उम्मेदवारले।’

धर्मगुरु लिङ्देन र किरात धर्म उत्थानका लागि यहाँ मांगेना समिति र किरात धर्म तथा साहित्य उत्थान मञ्च गठन गरिएका छन् । यी समितिलाई समेत समेटेर मतदाता आकर्षित गर्न दलहरू लागिपरेका छन् । समितिका अध्यक्ष केहेरसिंह योङहाङलाई एमालेले प्रदेशतर्फको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको छ । एमालेका एक जिल्ला नेता भन्छन्, ‘त्यहाँकै व्यक्तिलाई उम्मेदवार बनाएपछि अलि बढीले वाम गठबन्धनलाई सघाउँछन् भन्ने विश्वास हो।’ 

पूर्वसभामुख नेम्बाङ आफूले लगातार त्यही क्षेत्रबाट चुनाव जितेको हुनाले पटक–पटक आफू त्यहाँ पुगेको बताउँछन् । ‘मैले त्यही पवित्र धार्मिकस्थल भएको क्षेत्रबाट चुनाव जितेकाले गुरुसँगको भेटघाट मेरो जिम्मेवारीभित्र पर्छ,’ नेम्बाङले नागरिकन्युजसँग भने, लारुम्बा विश्वकै प्रसिद्ध धार्मिकस्थल र सम्पदा हो । त्यसैले लारुम्बाजस्तो स्थान पाउनु इलामको क्षेत्र नम्बर २ र सिंगो जिल्लाकै लागि गर्वको विषय हो।’ 

नेम्बाङले यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्न अहिलेसम्मका राष्ट्रपति र प्रधानमन्त्रीसमेत गरी धेरै उच्च तहका नेतालाई समेत आफैंले त्यहाँसम्म पु¥याएको बताए । ‘मैले धेरै विशिष्ट व्यक्तिलाई आफैं निम्तो दिएरसमेत त्यहाँ पु¥याएको छु, आफू पटकौंपटक पुगेको छु,’ उनले भने, ‘लारुम्बाको धार्मिक पर्यटन प्रवद्र्धन गर्नसके इलामका लागि समृद्धिको ढोका खुल्नसक्छ ।’ उनले आफ्नो हारजित गुरुमा भर पर्ने भएर त्यहाँ पुगेकोभन्दा पनि आफूले चुनाव जितेको र अहिले पनि त्यही क्षेत्रको उम्मेदवारको हैसियतले त्यहाँ पुगेको बताए। 

कांग्रेसका उम्मेदवार थापाले आफूले उम्मेदवारी मनोनयनपछि धर्मगुरु लिङदेनलाई त्यही पुगेर भेटिसकेको बताए । ‘चुनाव प्रचार गर्न जाने सिलसिलामा धर्मगुरुसँग दर्शन–भेट भयो,’ उनले भने, ‘गुरुको आशीर्वचन लिए फर्कियौं ।’ उम्मेदवार थापाले सिंगो किरात समुदायको गुरु भएकाले उनको भनाइमा धेरैले विश्वास गर्ने आफूलाई लागेको जनाए । ‘धर्मगुरु नै भएकाले उहाँले जे भन्नुहुन्छ, त्यो एउटा ठूलो समूहले मान्नु त स्वभाविक नै हो नि,’ थापाले नागरिकन्युजसँग भने, ‘तर, ठूलो संख्याको मतको आशाले होइन, चुनावी प्रचारक्रममा उहाँलाई पनि भेटौं भनेर पुगिएको मात्र हो।’ 

हरेक मंसिर १८ मा धर्मगुरु लिङ्देनको यहाँ जन्मोत्सव आयोजना गरिन्छ । त्यस अवसरमा औपचारिक समारोह र विभिन्न खेलकुदसमेत गरिन्छन् । जन्मोत्सवको औपचारिक कार्यक्रम उद्घाटन गर्न बर्सेनि देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसदलगायत आइपुग्छन् । गुरु लिङ्देनको आश्रम भएको आसपासमा किरात समुदायको बाक्लो बस्ती छ । गुरु आश्रमको करिब २ किलोमिटर वरपर  मदिरा, मासु, खैनी, चुरोट, सूर्ती सबै निषेध छ भने अहिंसाको चेतना फैलाउने उद्देश्यले यहाँ मासुका लागि पशु–पन्छी पाल्नसमेत पाइँदैन । भौगोलिक रूपले दुर्गम भएपनि बर्सेनि हजारौं नर–नारी धार्मिकस्थल अवलोकन र गुरुको दर्शनका लागि त्यहाँ पुग्छन्।

गत स्थानीय तह निर्वाचनमा राजपाबाट प्यानलसहित वडा–५ को वडाध्यक्ष जितेका नरेन्द्रकुमार राई भन्छन्, ‘अहिलेसम्मको चुनाव नतिजाले यहाँको मत अस्थिर छ भन्ने देखेपछि सबै दलका उम्मेदवार चुनावको मुखमा यता आउनु अस्वभाविक होइन । तर, गुरु चाहिँ कुनै दलविशेषको हुनुहुन्न । उहाँ सबैको साझा गुरु हुनुहुन्छ ।’ नेकपा एमालेका स्थानीय नेता नन्दकुमार नेम्बाङ पनि गुरु लिङ्देनले यो दल वा त्यो दल भनेर कहिल्यै चुनावी प्रचार नगरेको दाबी गर्छन् । ‘व्यक्तिगत रूपमा गुरुलाई कुन उम्मेदवार ठीक लाग्छ भन्ने कुरा आफ्नो ठाउँमा छ तर भोट यसैलाई हालौं भन्ने आग्रह–पूर्वाग्रह उहाँबाट आउँदैन,’ नेम्बाङले भने, ‘गुरुले आफूलाई भेट्न आउने सबै दलका उच्च तहका नेतालाई अहिंसा, भ्रातृत्व, प्रेम र सद्भावको उपदेश दिनुहुन्छ, पहिले नै उपदेश पाएका नेता फेरि आउँदा पहिलाको उपदेश कति पालना गरियो भनेरसमेत सम्झाउनुहुन्छ।’ 

यो वडामा स्थानीय तह चुनावमा १ हजार ६ सय ७८ मतदाता रहेकामा १ हजार २ सय १४ मत खसेको थियो । आउँदो चुनावका लागि यहाँ २ हजार हाराहारी मतदाता छन् । धार्मिकस्थल लारुम्बासमेत परेको प्रतिनिधिसभा क्षेत्र २ मा वडाध्यक्षहरूले ल्याएको कुल मत तुलना गर्दा एमाले कांग्रेसभन्दा १ हजार ५ सय ८ मतले मात्रै अगाडि छ । गुरुलाई प्रभावित गर्दा यो वडाको मात्र होइन, किरात धर्मावलम्बीको बाहुल्य रहेको क्षेत्र २ को धेरै मत आफ्नो पक्षमा पार्ने बुझाइमा समेत छन् दलहरू । स्थानीय चुनावमा प्रतिनिधिसभातर्फ क्षेत्र २ का सबै (४२) वडामा एमालेको मत २७ हजार ७ सय १ आएको आएको थियो भने कांग्रेसको २६ हजार १ सय ९३ मत थियो ।  यहाँ ६ हजार ८ सय ३९ मत भएको माओवादी एमालेसँग चुनावी तालमेलमा रहेकाले एमालेले राहत अनुभव गरिरहेपनि कांग्रेस दुवै दलको गठबन्धनको भन्दा मत उछिन्ने दाउमा छ।

प्रकाशित: २६ कार्तिक २०७४ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App