coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

माथिल्लो मूलपानी मैदान सञ्चालनमा

काठमाडौं- बहुप्रतीक्षित मूलपानी क्रिकेट मैदानको माथिल्लो मैदान सञ्चानलनमा आएको छ । शनिबार सम्पन्न सदस्यसचिव ११ र भेट्रान ११ बीचको मैत्रीपूर्ण खेलसँगै मैदान औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले नेपाली क्रिकेटले वैकल्पिक मैदान पाएको भन्दै यो सकारात्मक कदम भएको बताए ।
‘खेलकुद मन्त्रालय, खेलाडी र स्थानीय जनताको संयुक्त प्रयासमा मैदान खेल्नयोग्य भएको छ,’ विष्टले अगाडि भने, ‘यो मैदान अभ्यास तथा घरेलु प्रतियोगिता सञ्चालनका लागि भए पनि हामी छिट्टै एक हजार दर्शक क्षमताको तीन तहको प्याराफिट निर्माण गर्नेछौं । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि  तल्लो मैदानका जग्गाधनीलाई मुआब्जा दिने सहमति भइसकेको छ । त्यसैले यो मैदान पनि छिटोभन्दा छिटो सञ्चालनमा आउनेछ ।’
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मूलपानी मैदानमा खेल्ने आफ्नो सपना साकार भएको बताए । खड्काले भने, ‘हामीले सानैदेखि मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने कुरा सुन्दै आएका थियांै । मलाई मेरो खेलजीवनमा यस मैदानमा क्रिकेट खेल्ने सपना पूरा हुनेमा शंका थियो । मन्त्रालय, खेलाडी र स्थानीयको पहलमा मैदान खेल्नयोग्य भएको छ । यो नेपाली क्रिकेटका लागि सुखद कदम हो ।’
यता राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले  लामो संघर्षपछि  नेपाली क्रिकेटले नयाँ मैदान पाएको बताए । यस मैदानका लागि मन्त्रालयको सहयोग र उपभोक्ता समितिले गरेको मिहिनेतले पूूर्णता पाएको छ,’ टमाटाले भने, ‘म खेलकुद मन्त्रालय, राखेपलाई विशेष धन्यवाद दिन चाहन्छु । नेपाली क्रिकेटले नयाँ गति लिनेमा आशावादी  छु ।’
सदस्यसचिव–११ विजयी
सदस्यसचिव–११ ले  शनिबार सम्पन्न मैत्रीपूर्ण खेलमा भेट्रान–११ लाई ८७ रनले पराजित गरेको छ ।
सदस्य सचिव–११ ले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको भेट्रान–११ १४.१ ओभरमा १ सय ९ रनमा सीमित भयो ।
भेट्रान–११ का मञ्जित श्रेष्ठले सर्वाधिक ६२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
भेट्रान–११ लाई सस्तोमा समेट्ने क्रममा सदस्यसचिव–११ का राजु बस्न्यातले ५, दीपेन्द्र चौधरीले २ तथा आमिर अख्तर र जगत टमाटाले समान एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको सदस्यसचिव–११ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९५ रनको विशाल योगफल खडा गरेको थियो ।
सदस्य सचिव–११ का सुनील धमलाले ४४, आमिर अख्तरले  २१ र विनोद भण्डारीले २० जोडे ।
खेलमा पाँच विकेट लिएका सदस्यसचिव–११ का राजु बस्न्यात म्यान अफ दी म्याच भए ।

प्रकाशित: २६ कार्तिक २०७४ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App