८ वैशाख २०८१ शनिबार
राजनीति

पुरानै अनुहारबीच प्रतिस्पर्धा

खोटाङ- प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा अधिकांश पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, मालेलगायत दलका तर्फबाट चुनाव लड्ने अधिकांश पुरानै अनुहारका छन् ।
एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यतर्फ १० र प्रदेशसभा सदस्यतर्फ ९ गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईजना चुनिनेछन् ।
मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विशेषगरी ठूला दलभित्र २०६४ सालयताको निर्वाचनमा उठिसकेका उम्मेदवार दोहोरिएका छन् । टिकटका लागि नयाँ र पुराना आकांक्षीको सूची केन्द्रमा सिफारिस भए पनि अधिकांश पुरानैले टिकट पाएका छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा लडेका कांग्रेस नेता सुवासकुमार पोखरेल दस वर्षपछि खोटाङबाट प्रदेशसभा (क) बाट उम्मेदवार छन् । प्रदेशसभा (ख) बाट कांग्रेसका विष्णुकुमार राई उम्मेदवार छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेदवार थिए ।  पोखरेल र राई त्यतिबेला चुनावमा पराजित भएका थिए । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा टिकट पाएकी सरस्वती बजिमय पनि पूर्वसभासद् हुन् । बजिमय २०७० सालमा समानुपातिक सभासद् बनेकी थिइन् ।
यस्तै, वाम गठबन्धनअन्तर्गत एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराई २०७० सालको संविधानसभा निर्वाचनमा विजयी सभासद् हुन् । २०६४ सालमा माओवादीका उम्मेदवार समिता कार्कीसँग पराजित भट्टराईले २०७० सालको संविधानसभा निर्वाचनमा भने कांग्रेसका उम्मेदवार विष्णुकुमार राईलाई पछि पारेका थिए । भट्टराई एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन् । वाम गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेदवार माओवादी केन्द्रका रामकुमार राई पनि २०६४ सालको निर्वाचनमा मैदानमा थिए । उसबेला कांग्रेसका सुवासकुमार पोखरेललाई पछि पारेका रामकुमार १० वर्षपछि पुनः चुनावी मैदानमा उत्रिएका हुन् ।
एमाले नेता राजन राई वाम गठबन्धनका तर्फबाट  प्रदेशसभा  (ख) सदस्य उम्मेदवार छन् । उनी एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन् ।  
२०७० सालको निर्वाचनमा राप्रपाबाट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका नेता धर्मराज पोखरेल पनि यसपल्ट दोहोरिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीबाट २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका कुलप्रसाद शर्मा फुँयाल अहिले नेकपा मालेबाट प्रदेशसभा सदस्यमा (ख) बाट चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता नगराएको नेकपा मालेबाट प्रदेशसभा (क) बाट नेत्रबहादुर कटवाल उम्मेदवार छन् ।
निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्यका लागि डा. कृष्णकुमार राई, प्रदेशसभा सदस्यका लागि (क) बाट नवीन राई र (ख) बाट टंकबहादुर थापा, नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मदन राई उम्मेदवार छन् । यस्तै, राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि खम्बुवान राष्ट्रिय मोर्चाका विश्वास राई तथा प्रदेशसभा सदस्य (क) मा तुलसीकुमार राई उम्मेदवार छन् ।
प्रतिनिधिसभा सदस्यका लागि मंगोल नेसनल अर्गनाइजेसनकाबाट वीरलाल राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट महेश बास्तोला र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गणेशबहादुर राई मैदानमा छन् ।

प्रकाशित: २६ कार्तिक २०७४ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App