८ वैशाख २०८१ शनिबार
राजनीति

आपसमा ‘ह्याट्रिक’ हार चखाउने दाउ

सिन्धुपाल्चोक- राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ आपसमा एकअर्कालाई ‘ह्याट्रिक’ हार चखाउँदै जितको खोजीमा छन् ।

हारको निरन्तरता क्रमभंग गरेर बदला लिने पशुपतिशमशेरको रणनीति । एमाले उम्मेदवार शेरबहादुर भन्छन्– खुला राजमार्गमा एक्लै दौडिरहेको छु ।

राणा र तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा छन् । कांग्रेस समर्थनमा राणा लोकतान्त्रिक गठबन्धन र तामाङ एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट  मैदानमा उत्रिएका हुन् । उनीहरुमध्ये जो पराजित भए पनि यो ‘ह्याट्रिक’ हार हुनेछ ।
पञ्चायतकालीन राजनीतिका एक हस्ती राणाले संविधानसभाका दुवै निर्वाचनमा पराजय भोगेका थिए भने तामाङले २०५६ को संसदीय र पहिलो संविधानसभा निर्वाचनमा हार बेहोरेका थिए । दुवै नेता तेस्रो पराजयबाट जोगिने दाउमा रहँदा तामाङ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राणालाई पराजित गरेको चुनावी परिणामलाई निरन्तरता दिन चाहन्छन् । राणा भने हारविरुद्ध बदला लिने दाउमा छन् ।
    चार दशकदेखि सिन्धुपाल्चोकलाई राजनीतिक थलो बनाउँदै आएका राणाले तत्कालीन क्षेत्र नं. ३ बाट २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेर ह्याट्रिक गरेका थिए । चुनावी मैदानमा चौथो पटक आमनेसामने हुँदा राणा र तामाङ ‘निरन्तरता कि क्रमभंगता’ को अर्को लडाइँमा समेत हुनेछन् । जितेमा तामाङले विजयीयात्रालाई निरन्तरता दिनेछन् भने हारे उनको जित क्रमभंग हुनेछ । त्यस्तै यो चुनाव जिते राणाले हारमा क्रमभंग गर्नेछन् भने पराजित भए हार यात्रालाई निरन्तरता दिनेछन् ।
    त्यसैले बाबुछोरा उमेरका राणा र तामाङको यो चुनाव रोचकसमेत बनेको छ । राणाले २०४६ को परिवर्तनअघिका चार राष्ट्रिय पञ्चायत सदस्य चुनाव सिन्धुपाल्चोकबाटै निरन्तर जितेका थिए । राणा र तामाङबीच पहिलोपटक २०५६ को संसदीय निर्वाचन मैदानमा भेट भएको थियो ।
    त्यो चुनाव राणाले जिते भने मालेका उम्मेदवार तामाङ निकै तल्लो स्थानमा रहेर पराजित भए । राणाले त्यतिबेला कांग्रेसका कान्छा तामाङलाई झिनो मतले हराउँदा एमाले नेता अमृत बोहरा तेस्रा भएका थिए । चुनावी मैदानमा पहिलो हार चाखेका तामाङ त्यो निर्वाचन एमाले र माले फुटेका बेला भएकाले राणाले आफूलाई हराएको नमान्ने बताउँछन् ।
राणाले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पहिलो हारको स्वाद चाखे । उनलाई हारको स्वाद चखाएका थिए, माओवादीका दावा तामाङले । सिन्धुपाल्चोक क्षेत्र नं. ३ मा सय मतले दावा जित्दा राणा तेस्रो स्थानमा खुम्चिए । १३ हजार १ सय मत पाएका तामाङ दोस्रो स्थान रहेर पराजित भए । तामाङद्वयले उक्त निर्वाचनमा जसले जिते पनि राणा हराउने अभियान नै चलाएका थिए ।  यो हार राणाका लागि पहिलो र तामाङको हकमा दोस्रो थियो ।     
    २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राणा उक्त क्षेत्रबाटै पाँचौंपटक चुनावी मैदानमा उत्रिए । उनका प्रतिस्पर्धी थिए, उनै एमालेका तामाङ । साढे २ हजार मतले तामाङसँग राणा पराजित भए । हारमा राणाले तामाङसँग बराबरी गरे । ‘राजनीतिमा यस्ता अनौठा संयोग हुन्छन्,’ हारको ह्याट्रिक रोक्दै जितलाई निरन्तरता दिने दाबी गर्दै एमाले उम्मेदवार तामाङले चुनावी घरदैलोकै बीच नागरिकसँग टेलिफानेमा भने, ‘यसपटक खुला राजमार्गमा एक्लै दौडिएको अनुभव भइरहेको छ ।’
तामाङ मेलम्चीमा चुनावी अभियान गरिरहँदा जितकै खोजीमा रहेका राणा आफ्नो परम्परागत किल्ला पाँचपोखरी गाउँपालिकामा सभामा व्यस्त थिए । ‘सिन्धुवासीले चाहेरै फेरि उम्मेदवार बनेर आएको हुँ,’ दसौंपटक चुनावी मैदानमा रहेका राणाले भने, ‘मेरो लोकप्रियता अझै उस्तै छ । मप्रतिको आकर्षण र जनलहर देख्दा जित्नेमा विश्वस्त छु ।’
राप्रपाको परम्परागत गढ मानिने तत्कालीन क्षेत्र नं. ३ को पूरै भूगोल अहिले २ नम्बर क्षेत्रमा समेटिएको छ । यहाँ तत्कालीन क्षेत्र नं. २ को आधा भूभाग गाभिएको छ । पुरानो क्षेत्रमा आफ्नो लोकप्रियता अझै रहेको र थपिएको क्षेत्रमा आफ्ना उल्लेख्य पुराना नेताकार्यकर्ता रहेकाले राणा उत्साही छन् ।

चौतारा नगरपालिकाका नौवटा वडा, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी र हेलम्बु गाउँपालिका समेटिएको यो क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा राणा होमिएको यो क्षेत्रमा राप्रपाको ४ हजार ८ सय ३ भोेट छ । कांग्रेसले १९ हजार ४ सय ९१ मत ल्याएको थियो । दुवैको मत जोड्दा लोकतान्त्रिक गठबन्धनको २४ हजार २ सय ९४ मत छ । स्थानीय चुनावमा वाम गठबन्धनको मत हिसाब गर्दा एमाले–माओवादी केन्द्रका पक्षमा ४३ हजार १ सय २९ मत छ । यहाँ एमाले २३ हजार ४ सय ३३ र माओवादी केन्द्रले १९ हजार ६ सय ९४ मत प्राप्त गरेको थियो ।
    स्थानीय तहको मात्रै मत कोलाउँदा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा १८ हजार ८ सय ३५ मतले अगाडि देखिएको छ । राणाको आधार क्षेत्र पाँचपोखरी एमालेले जितेको थियो भने अर्को प्रभाव क्षेत्र मेलम्चीमा राप्रपाले निकै कम मत प्राप्त गरेको थियो । बिग्रेका गाउँ, तह सुधार्दै, अन्यत्र भोट हालेका कार्यकर्ता फर्काएर जित सुनिश्चित गर्न राणा तल्लीन छन् । ‘यस पटक अवश्य जित्छु,’ राणाले दाबी गरे ।

प्रकाशित: २६ कार्तिक २०७४ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App