८ वैशाख २०८१ शनिबार
राजनीति

पहिलोपटक प्रत्यक्ष चुनावमा

काठमाडौं- मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका चर्चित नेतामध्ये केही  यस्ता पनि छन्, जसले पहिलोपटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली कांग्रेसले १० केन्द्रीय सदस्यलाई पहिलोपटक प्रत्यक्षतर्फ उम्म्मेदवार बनाएको छ । तीमध्ये दुई मन्त्री र दुई राज्यमन्त्री छन् । यसैगरी माओवादी केन्द्रबाट एक मन्त्री पहिलोपटक प्रत्यक्ष चुनाव लड्दैछन् ।
कांग्रेसबाट महेन्द्र यादव, अम्बिका बस्नेत, सीता गुरुङलगायत पहिलोपटक प्रत्यक्ष चुनावमा होमिएका छन् । खानेपानी तथा सरसफाइमन्त्री यादव धनुषा–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । नेपाल तरुण दलका पूर्वअध्यक्ष यादव पहिलो र दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
सहकारी तथा गरिबी निवारणमन्त्री बस्नेत काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन् । उनी नेपाल महिला संघकी पूर्वअध्यक्ष हुन् । पहिलो र दोस्रो संविधानसभामा उनी समानुपातिक कोटामा सांसद भएकी थिइन् ।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री गुरुङ तेहथुमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छिन् । उनी पनि पहिलो र दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् ।
यसैगरी सिँचाइ राज्यमन्त्री अमरसिंह पनि प्रत्यक्षतर्फ पहिलोपटक उम्मेदवार भएका छन् । उनले रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी भन्छन्, ‘संसदीय चुनाव लडेको मैले पहिलोपटक हो तर पनि खासै नौलो अनुभव भने गरेको छैन ।’ उनी दोस्रो संविधानसभामा समानुपातिक सांसद थिए ।
यसैगरी कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत र ईश्वरी न्यौपाने पनि पहिलोपटक प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । रिजाल पहिलो र दोसो संविधानसभामा समानुपातिकबाट सांसद थिए । यसपटक उनले मोरङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी भन्छन्, ‘यसअघि  चुनाव नलडे पनि पार्टीलाई जिताउन आफंै उम्मेदवार भएजस्तो हुन्थ्यो । त्यसैले नयाँ महसुस भएको छैन ।’  
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट महत यसपटक काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । यसअघि उनी समानुपातिकबाट सांसद भएका थिए । महत पटकपटक मन्त्री भएका छन् । न्यौपाने कैलाली १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन् ।  प्रधानमन्त्रीकी पत्नी आरजु राणा देउवा पनि पहिलोपटक प्रत्यक्ष चुनावमा छिन् । यसअघि समानुपातिक सांसद बनेकी उनी कैलाली ५ बाट प्रतिस्पर्धामा छिन् ।  
यसैगरी कांग्रेसका चार केन्द्रीय सदस्य पहिलोपटक प्रत्यक्ष निर्वानअन्तर्गत प्रदेशसभा सदस्यका लागि  उम्मेदवार बनेका छन् । यसरी उम्मेदवार बन्नेमा जीवन परियार, प्रदीप पौडेल, गोविन्द भट्टराई र श्याम घिमिरे छन्  परियारले कास्की १ (क), पौडेलले तनहुँ २ (क) र  भट्टराईले  तनहुँ  १  (क) र घिमिरले सिन्धुली १ (ख ) बाट उम्मेदवारी दिएका छन् ।
यसैगरी माओवादी केन्द्रकी  नेतृ तथा बिनाविभागीय मन्त्री आशा कोइरालाले तनहुँ २ (क) बाट प्रदेशसभामा पहिलोपटक उम्मेदवार दिएकी छन् । माओवादी केन्द्रका नेता अजयशंकर नायक र मातृका यादव पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार भएका छन् । नायकले सिरहा ३ र यादव धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको मैदानमा छन् । नायकले आफू पहिलोपटक प्रतिनिधिसभाको उम्मेदवार भएको बताए । उनले भने, ‘पहिलो पटक चुनाव लडेको छु । नयाँ अनुभव गर्दैछु ।’ यसैगरी माओवादी केन्द्रकी नेतृ तथा पूर्वराज्य मन्त्री राधिका तामाङ पहिलो पटक नुवाकोट १ (क) बाट प्रदेशसभामा उम्मेदवार भएकी छन् ।
एमालेका नेता भानुभक्त ढकालले पनि पहिलोपटक प्रत्यक्षबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । यसअघि उनी एमालेबाट समानुपातिक सांसद थिए । ढकालले मोरङ ३ बाट प्रतिनिधिसभामा सदस्यमा उम्मेदवारी दिएका छन् । यसैगरी एमालेका नेता तथा पूर्वमन्त्री सत्यनारायण मण्डल पनि पहिलोपटक प्रत्यक्ष चुनाव लडेका छन् । उनी केपी ओली प्रधानमन्त्री हँुदा युवा तथा खेलकुदमन्त्री थिए । उनले सप्तरी १ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार दिएका हुन् ।

प्रकाशित: २६ कार्तिक २०७४ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App