रक्सौल-अमलेखगञ्ज पेट्रोल पाइपलाइन निर्माण अर्को महिनाबाट

आइतबार, २६ कार्तिक २०७४, ०७ : २९ दिलीप पौडेल

काठमाडौं- बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण कार्य अर्को महिना (डिसेम्बर) देखि सुरु हुने भएको छ । भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य अर्को महिनादेखि अघि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारी सहमत भएका छन् ।

३७ किलोमिटर लामो पाइपलाइन ४ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो ।

परियोजना निर्माण कार्य थाल्ने सहमति भएपछि नेपाली अधिकारी उत्साहित बनेका छन् । पाइपलाइन बिछ्याउने रुटको स्थलगत अध्ययनपछि भएको दुईपक्षीय छलफलमा आइओसीले नोभेम्बरबाट पाइप ल्याउन सुरु गर्ने सहमति जनाएको छ । ‘आइओसीले अक्टुबरमा टेन्डर गरेर पाइप बनाउन सुरु गरेको जानकारी दिएको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘अर्को महिना (नोभेम्बर) देखि पाइप भित्रिन थाल्छ । जनवरीदेखि निर्माण चरणमै प्रवेश हुन्छ ।’
आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, आइओसी पाइपलाइन परियोजना निर्देशक अनिश अग्रवाल, निगम कार्यकारी निर्देशक भट्टराईसहितको टोलीले शुक्रबार र शनिबार पाइप बिछ्याउने स्थानको स्थलगत निरीक्षण गरेका थिए । पाइपलाइन निर्माण विषयमा छलफल गर्न अग्रवाल नेतृत्वको टोली नेपाल आएको हो ।
स्थलगत अध्ययनपछिको छलफलमा परियोजना तुरुन्तै अघि बढाउने सहमति भएको भट्टराईले बताए । ‘अहिलेसम्मको प्रगति समीक्षा ग¥यौं,’ उनले भने, ‘हामीले गर्नुपर्ने काम पनि तत्काल सकाएपछि निर्माण सुरु गर्ने प्रतिबद्धता आइओसीका अधिकारीले गरेका छन् ।’
पाइप राख्न निगमले वीरगञ्जस्थित चिनी कारखानको जग्गा भाडामा लिएको छ । भन्सार छुटमा आवश्यक सामान ल्याउन अर्थमन्त्रालयसँग सैद्धान्तिक सहमति भएको जानकारी पनि भट्टराईले  दिए ।
पाइपलाइन लम्बाइ ३७ किलोमिटर हुनेछ । ४ अर्ब २० करोड रुपैयाँ लागतमा यो परियोजना निर्माण गर्न लागिएको हो । त्यसमा भारतले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता छ ।
पथलैया–परवानीपुर खण्डको २० किलोमिटर सडक विस्तार गरेर छ लेन बनाइएको छ । ती क्षेत्रमा सडक छेउका विद्युत्का पोल हटाइएको छ । निगमले पाइपलाइन परियोजनाबारे बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, वीरगञ्ज महानगरपालिका, जितपुर नगरपालिका र परवानीपुर गाउँपालिकाका जनप्रतिनिधिसँग पनि छलफल गरेको छ । ‘स्थानीय तहका सरोकारवालाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्,’ भट्टराईले भने ।  
 घरटहरा भत्काउन सहयोग गर्ने प्रतिबद्धता स्थानीय प्रशासनले जनाइसकेको छ ।  अमखलेगन्जदेखि पथलैयासम्म करिब १२ हजार रुख काट्नुपर्ने भएपछि इआइए गरिएको छ । इआइए प्रतिवेदन स्वीकृतका लागि वातावरण मन्त्रालयमा पेस भइसकेको निगमले जनाएको छ । बाइपासको सात किलोमिटरमा आठ सय नौवटा विद्युत्का पोल हटाउनुपर्ने निगमले जनाएको छ । विद्युत् प्राधिकरणका कारण पोल सार्न केही ढिलाइ भए पनि सहजीकरण गरेर अघि बढ्ने आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले बताए । ‘पेट्रोल पाइपलाइन मुलुकका लागि आवश्यक परियोजना हो,’ उनले भने, ‘सबैसँग समन्वयन गरेर छिट्टै निर्माण चरणमा प्रवेश गर्छौं ।’
आइओसीसँग निगमका अधिकारीले सडक जग्गा व्यवस्थापन, विद्युत् र टेलिफोनका पोल सार्ने, वन क्षेत्र अधिग्रहण गर्ने र घरटहरा हटाउने काम गर्ने प्रतिबद्धता जनाएका छन् । सडक किनारबाट पाइप लाइन ओछ्याउँदा भत्किने सडक मर्मतका लागि निगममार्फत सडक विभागमा आठ करोड रुपैयाँ धरौटी राखिएको छ ।
दोस्रो चरणमा अमलेखगन्जको डिपोसँगै रहेको वन क्षेत्र अधिग्रहण गरी ३३.६ हेक्टरमा अर्को भण्डारण गृह निर्माण गर्ने योजना छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याएपछि अमलेखगञ्जमा आठ हजार एक सय किलोलिटर (केएल) क्षमताको डिपो निर्माण गरिनेछ । त्यहाँ अहिले २३ हजार दुई सय ३० केएलका दुई ट्यांकी छन् । पहिलो चरणमा चार हजार एक सय केएल, दोस्रो चरणमा चार हजार एक सय केएल पेट्रोल, ११ हजार ६ सय केएले डिजेल भण्डारण गर्ने ट्यांकी निर्माण गरिनेछ ।
पाइपलाइन प्रयोगमा आएपछि प्रतिघन्टा दुई लाख लिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्ने लक्ष्य छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुग्नेछ ।
पाइपलाइन बनेपछि ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आउनेछ । परियोजना निर्माण सम्पन्न भएपछि नेपाललाई वार्षिक करिब दुई अर्ब रुपैयाँ फाइदा हुनेछ । पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दा हुने ट्राफिक जामजस्ता समस्या समाधान हुनेछन् ।  पाइपबाट एकपटकमा तीन हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ । अहिले करिब १५ सय ट्यांकरले तेल ढुवानी गर्दै आएका छन् । पाइपलाइन बनेपछि आइओसी पुगेर ट्यांकरले ढुवानी गर्दा लाग्ने लागतसहित वातावरण प्रदूषणसमेत घट्नेछ । ढुवानी भाडालगायत अन्य खर्च बचत हुने निगमले जनाएको छ ।
२०७१ साउनमा नेपाल भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइन बनाइदिने प्रतिबद्धता गरेपछि सोही वर्षको भदौमा सम्झौता भएको थियो ।








यसमा तपाईको मत

अन्य समाचार

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

एसबिएल डिबेन्चर नेप्सेमा सूचीकृत

एसबिएल डिबेन्चर नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच प्रतिकित्ता अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २५ लाख थान १०.२५...

राउन्ड टेबल नेपालद्वारा ‘उमंगको उडान’

राउन्ड टेबल नेपालद्वारा ‘उमंगको उडान’

राउन्ड टेबल नेपालले पहिलोपटक ‘उमंगको उडान’ नामक कार्यक्रम सम्पन्न भएको छ । ...

एक्ससिएमजीकोे एस्काभेटर नेपालमा

एक्ससिएमजीकोे एस्काभेटर नेपालमा

एक्ससिएमजीको २२ टन भार क्षमताको एस्काभेटर नेपाली बजारमा भित्रिएको छ । ...

टिसाले जितिन माई कार्ड आइडियाज

टिसाले जितिन माई कार्ड आइडियाज

लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ प्रतियोगीता टिशा श्रेष्ठले हात पारेकी छन् । करिब ७ सय जना प्रतियोगीलाई पछि...

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

Ncell Footer Ad