८ वैशाख २०८१ शनिबार
राजनीति

जो भएपनि वृद्ध उमेरकै !

सिन्धुपाल्चोक – राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले 'वृद्ध' नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्दै नयाँ संविधान कार्यान्वयन गर्न आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई ४१ औं प्रधानमन्त्री दिँदैछ । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले कार्यकारिणी अधिकारसहित सरकार प्रमुखको रुपमा मुलुक सञ्चालन गर्नेछन् ।

पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्‍याउने उद्घोषसहित बाम र लोकतान्त्रिक दुई ध्रुवमा बाँडिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । बाम या लोकतान्त्रिक गठबन्धनमध्ये जसले सामान्य बहुमत ल्याए पनि बयोबृद्ध नेतालेले सत्ताको बागडोर सम्हाल्ने देखिन्छ ।

      वाम गठबन्धनले बहुमत वा उनीहरुकै शब्दमा दुई तिहाई बहुमत पु¥याए मुलुकले सातौँपल्ट कम्युनिष्ट प्रधानमन्त्री पाउनेछ । दुबै गठबन्धनले भावी प्रधानमन्त्रीको रुपमा कसैलाई अघि सारेका छैनन् । गठबन्धनमा आवद्ध दलहरुको प्रमुख वा पहिलो तहका नेता नै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका छन् । उमेरले उनीहरु बयोबृद्ध छन् । सम्भावित सरकार प्रमुखका रुपमा हेरिएका दलका दोस्रो तहका नेताहरु पनि उमेरले बयोवृद्ध तर्फ अग्रसर छन् ।

      एउटै कम्युनिष्ट पार्टी बनाउने घोषणासहित चुनावी तालमेल गरेका एमाले माओवादीको गठबन्धनले कम्तिमा सामान्य बहुमत ल्याउने विश्लेषण भइरहेको छ । त्यसोहुँदा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमध्ये एक प्रधानमन्त्री बन्नेछन् ।

      गृह जिल्ला झापा–५, प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओली ६६ वर्षका छन् । उमेरले उनीभन्दा दुई वर्ष कान्छा दाहाल ६२ वर्षमा हिँडिरहेका छन् । उनी पहिलो पटक चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । चुनाव जितेर सरकार प्रमुख बन्दा ओली दोस्रो र दाहाल तस्रो पटक प्रधानमन्त्री हुनेछन् ।

      लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याए कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वभाविक रुपमा भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् । प्रमुख पार्टीका समकालीन राजनीतिज्ञमध्ये उनी सबैभन्दा बयोबृद्ध नेता हुन् । देउवा अहिले ७२ वर्षका छन् । गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य रहेका उनी यो पटक पनि जितेर दोस्रो ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तीनवटा संसदीय र संविधानसभाका दुई निर्वाचन लगातार जितेका देउवाको काँधमा सरकार प्रमुखको जिम्मेवारी पाए उनी पाँचौपल्ट प्रधानमन्त्रीको कुर्सीमा बस्नेछन् ।

      देउवालाई यो अवसर आउँदा उनले प्रधानमन्त्रीको रुपमा पार्टीका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइराला र राप्रपा नेता स्व. सूर्यबहादुर थापासँग बराबरी गर्नेछन् । कोइराला र थापा पाँच÷पाँचपल्ट प्रधानमन्त्री बनेका थिए । कांग्रेसबाट प्रधानमन्त्री दाबी गर्नसक्ने सम्भावित उम्मेदवार पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७२ वर्षका भए।

      उनी तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । पहिलो संविधानसभामा १७ पटक चुनाव लड्दासमेत पराजित भएपनि उनी प्रधानमन्त्री बन्नबाट बञ्चित भएका थिए । त्यसैले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउँदा उनले प्रधानमन्त्री दाबी गर्न छोड्ने छैनन् ।

      एक/एक पटक प्रधानमन्त्री भइसकेकाले एमाले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि सम्भावित सरकार प्रमुखको आकांक्षी हुनसक्छन् । ६४ वर्षका नेपाल काठमाडौँ–२ बाट चुनावी मैदानमा उत्रिदा उनीभन्दा चार वर्षले जेठा खनाल इलाम–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनी ६८ वर्षका भए ।

      दुबै गठबन्धनले सामान्य बहुमत ल्याउन नसके बहुमत पु¥याउन अर्को गठबन्धन बन्ने हुँदा सत्ता समीकरण मिलाउनु पर्ने भएकाले यस्तोमा सम्भावित प्रधानमन्त्रीको दौडमा प्रमुख दलका दोस्रो बरियताका नेताहरुका साथै तराई मधेश केन्द्रीत दल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति, माले, राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बाटो खुला हुनसक्छ । उनीहरुमध्ये केही बयोबृद्ध भइसकेका छन् भने अधिकांश बुढ्यौलीतिर लम्केका छन् ।

      माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट प्रतिनिधिभा सदस्य उम्मेदवार रहँदा उनका पूर्वसहकर्मी पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई चुनौति बनिरहेका छन् । श्रेष्ठ ५८ वर्षका भए भने भट्टराइ उनीभन्दा पाँच वर्ष जेठा हुन् । लोकतान्त्रिक गठबन्धनको सहयोगमा भट्टराई चुनावी मैदानमा छन्। तर भावी प्रधानमन्त्रीको दौडमा उत्रन भट्टराईलाई प्रत्यक्षतर्फ एक सीट र समानुपातिकमा तीन प्रतिशत मतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्ने चुनौति छ ।

      कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापा–३ बाट उम्मेदवार बनेका छन् । बाम गठबन्धनको सहयोगमा राप्रपाका राजेन्द्र लिङ्देनको कडा चुनौतिको सामना गरिरहेका उनी ६८ वर्षका छन् । शान्ति प्रक्रियाका अभियन्ताको रुपमा छवि बनाएका सिटौलाले कांग्रेसको १३ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दिएर भावी प्रधानमन्त्रीतिर आँखा गाडेको छनक दिइसकेका छन् ।

      सम्भावित भावी प्रधानमन्त्रीका रुपमा उमेरले सबैभन्दा कान्छा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव ५७ वर्षका भए । पूर्वउपप्रधानमन्त्री भइसकेका उनी सप्तरी–२ बाट उम्मेदवार बनेका छन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । कांग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी खोलेका ७५ वर्षीय ठाकुर पहिलो र दोस्रो संविधानसभा चुनावमा पराजित भएका थिए ।

      राप्रपा अध्यक्ष कमल थापाले कांग्रेससँगको तालमेलमा गृहजिल्ला मकवानपुर–१ बाट उम्मेदवारी दिएका छन् । सरकारका उपप्रधान तथा उर्जामन्त्री थापा ६२ वर्षका छन् । थापासँग फुटेर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका त्यसका अध्यक्ष पशुपति शम्सेर राणा ८० वर्षमा हिँडिरहेका छन् । उनी सिन्धुपाल्चोक–२ का उम्मेदवार हुन् । राष्ट्रिय पञ्चायतका चार र तीन संसदीय चुनाव जितेका राणा अहिले १० औँपल्ट चुनावी मैदानमा छन् ।

उपप्रधानमन्त्री भइसकेका ६६ वर्षिय माले अध्यक्ष सिपी मैनाली र ७७ वर्षिय राजमोका अध्यक्ष चित्रबहादुर केसी यो पटक पनि समानुपातिकको सूचीमा पार्टीको तर्फबाट एक नम्बरमा सिफारिसमा परेका छन् ।

      राजनीतिक विश्लेषक सोमत घिमिरे को र कुन उमेरका नेता निर्वाचनपछि प्रधानमन्त्री बन्छन् भन्ने अहिल्यै भन्न नसके पनि युवाले सरकार नेतृत्वको दाबी नगर्ने ठोकुवा गर्छन् । पार्टीहरुको गठबन्धन बनेकाले पाका उमेरका नेताले नै भावी सरकारको नेतृत्व गर्नसक्ने सम्भावना भने उनले औँल्याए ।

      ‘तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला एक पटक भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा गएका थिए,’ उनले नागरिकन्यूजसँग भने, ‘त्यसयता दलहरुले चुनावमा जाँदा भावी सरकार प्रमुख प्रस्तुत गरेको पाईँदैन।’ संसदीय व्यवस्थामा को चुनिएर आउँछ नै भन्न नसकिने भएकाले भावी प्रधानमन्त्रीबारे अनुमान लगाउन कठिन हुने घिमिरेले बताए । 

      युवा नेताहरु ‘दलाल’ भएको आरोप लगाउँदै घिमिरेले उनीहरुमध्येबाट यो पटक प्रधानमन्त्री बन्ने सम्भावना नरहेको दाबी गरे । ‘अहिलेका युवा नेता भनिएकाहरु पुष्पकमल दाहाल, केपी ओली र शेरबहादुरहरुको चाकडीमा रमिरहेका छन्,’ बृद्ध नेता नै सरकारको नेतृत्वमा जाने संकेत गर्दै उनी भने, ‘त्यस्ताबाट ठूलो कुरा आश गर्नुहुँदैन।’

 

प्रकाशित: २५ कार्तिक २०७४ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App