७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनाव भाड्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाएका छन्। 

पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव भाड्ने षडयन्त्र अझै पनि भइरहेको बताए। 

रुकुम घटनामा हतियारधारी जत्था पक्राउ पर्दा नेपाली काँग्रेसका बहालवाला मन्त्रीले विज्ञप्ति जारी गरेर छोड्नु पर्छ भन्नु र विगत केही दिनयता उम्मेदवारमाथि शृंखलागत आक्रमण हुनुले निर्वाचन भाड्ने गम्भीर षडयन्त्र भएको उनले बताए। 

रुकुममा जनार्दन शर्मा, रोल्पामा प्रदेशसभाका एक उम्मेदवार, आज बिहान मात्रै पूर्वअर्थमन्त्री वर्षमान पुन लक्षित गरी रोल्पामै माइन विस्फोट गराइएको भन्दै उनले यस्ता घटना निन्दनीय रहेको उल्लेख गरे। 

यस्ता घटनाका पछाडि के उद्देश्य छन् भन्ने कुरा एक दुई दिनमा थाहा हुने भन्दै उनले एकथरि मान्छेलाई प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने वातावरण सरकारले गर्छ भने त्यो गम्भीर भूल हुने उनले बताए। 

अहिले देश फरक राजनीतिक परिघटनामा रहेको भन्दै उनले सफल ढंगले निर्वाचन गराउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए। 

लोकतन्त्र हामी सबैले स्वीकार गरिसकेको भन्दै उनले भने “वामपन्थी लोकतान्त्रिक वा दक्षिणपन्थी लोकतान्त्रिक भन्ने कुरामा मात्रै फरक हो।” काँग्रेस र अरु दललाई मात्र लोकतान्त्रिक भन्नु गलत भएको उनले बताए। वामपन्थी तानाशाहीतर्फ जाँदैछन् भन्ने हल्ला मात्रै फिजाइएको भन्दै उनले देशलाई समाजवादतर्फ लैजाने भन्ने कुरा संविधानमा नै उल्लेख भएको स्पष्ट पारे। 

प्रकाशित: २५ कार्तिक २०७४ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App