८ वैशाख २०८१ शनिबार
खेल

साग अन्योलमा घलेको चिन्ता

पेशाले उनी होटल व्यावसायी । राजधानीको मुटु दरबारमार्ग स्थित होटल रोयल सिंगीका मालिक । वार्षिक रुपमा १०औं करोडको कारोबार गर्ने सफल व्यावसायीको परिचय भए पनि घाँससँग टासी घलेको विशेष सम्बन्ध रहयो ।
नेपाल गल्फ संघका अध्यक्ष घले एमेच्योरतर्फ गनिएका खेलाडी हुन् । युवा अवस्थामा खेलेको फुटबल मोहले ६० को उमेरमा पनि उत्तिकै पछ्याइरहेको छ । किशोरावस्थामा ठमेल ११ बाट खेल्न थालेका फुच्चे टासी यतिबेलाको सर्बाधिक सफल फुटबल क्लब मनाङ मर्सयाङदीका संस्थापक अध्यक्ष हुन् । फुटबलसँगको सम्बन्धलाई निरन्तरता दिने क्रममा समयक्रममा उनी नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघमा समेत कुनै न कुनै भुमिकामा सक्रिय भइरहे । विभिन्न समयक्रममा फुटबल सेवाकर्ममा लाग्दा टासीले पाएका भुमिका हुन्, क्लबमा पटक पटक अध्यक्ष तथा एन्फामा प्रतियोगिता कमिटी संयोजक, एन्फा कम्प्लेक्स तथा युवा विकास परियोजना संयोजक, वरिष्ठ उपाध्यक्ष र अहिले मानार्थ अध्यक्ष ।
फुटबल र गल्फसँगको साइनोमा टासीसँग एउटा समानता छ, दुवै घाँसमा खेलिन्छ । दुवैलाई सतह मिलेको आकर्षक घाँस चाहिन्छ । त्यसैले त टासी घाँसलाई औधी माया गर्छन । स्यहारमा आफै जुट्छन् । झण्डै पाँच दशकको सम्बन्धका कारण घाँसलाई उनले राम्ररी चिनेका छन् । लगाबले फुटबल तथा शौखले गल्फमा एकोहोरिएका टासीलाई यही सम्बन्धले समग्र नेपाली खेलकुदकै एउटा मिहिनेती मालीका रुपमा स्थापित गरेको छ ।

निरन्तर रुपमा हुने सरकार परिवर्ततनका कारण साग तयारीका लागि बनाइएका कमिटीहरु तथा तिनले तयार गरेका प्रतिवेदन सब अलपत्र अवस्थामा थन्किएका छन् ।


टासीबाट घाँसी घले
मनाङगे समुदायको एउटा धनी र शौखिन खेलाडीको परिचय टासीबाट घाँसी घलेका रुपमा स्थापित गरिसकेको छ ।
दक्षिण एसियाली देशबीच मित्रता, भाइचारा र प्रतिस्पर्धाको एउटा वृहत थलो आवस्यक छ र त्यो खेलकुदको माध्यममा हुनुपर्छ भन्ने अवधारणा नेपालको थियो । त्यही अवधारणाअनुसार १९८४ मा पहिलो पटक नेपालले दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को सुरुआत ग¥यो । प्रत्येक दुई वर्षमा क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो मेला गर्ने अवधारणाअनुसार साफ सुरु भएको थियो ।
घुम्दै फिर्दै १९९९ मा साफको आठौं संस्करण नेपाल फर्कियो । १४ खेल समावेश खेलमेला सुरु हुन चार महिना पनि बाँकी थिएन । सबै काम अन्तिम समयमा गर्ने नेपाली बानीका कारण सागको मुख्य आयोजना स्थल दशरथ रंगशालातिर कसैको ध्यान पुगेको थिएन । तयारीमा देखाइएको उदासिनताका कारण आठौं साफ पनि निर्धारित समयमा नहुने वा झारो टराई पारामा हुने पक्का जस्तै भइसकेको थियो ।
प्यारापिट, एथ्लेटिक्स ट्रयाक, फ्लड लाइट र साउन्ड सिस्टम चीन सरकारले बनाइदिएको थियो । चीन सरकारसँग सम्झौता गर्दा प्राविधिक गल्तीका कारण चेन्जिङ रुम, प्यारापिटमा भिआइपी व्यवस्थापन र मैदान छुट्यो र नेपालले आफै बनाउनुपर्ने भयो । चीनको जिम्मामा रहेका काम त युद्ध स्तरमा भइरहेका थिए । तर मुख्य रंगशालामा आफैले गर्नुपर्ने काम पनि थुप्रै थिए । प्रतियोगिता मुखैमा आइसक्दा अरु काम जसोतसो भ्याए पनि रंगशालाको मैदान बनाउने काम चुनौतीपूर्ण थियो ।
उजाड दशरथ रंशगालालाई ६० दिनभित्र तयार गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी एन्फाका तत्कालिन उपाध्यक्ष टासी घलेलाई दिइयो । एसियाली फुटबल महासंघ (एएफसी) को प्राविधिक समितिमा पनि कार्यरत रहेकाले यो जिम्मा टासीलाई दिइएको थियो । काम जिम्मा नलिने, तर लिएको काम नसकी अर्कोतिर नलाग्ने घलेको एकोहोरो स्वभावका कारण समयमै मरुभुमि तुल्य दशरथ रंगशालाको मैदान हरियो घाँसले भरिपूर्ण लचकदार गलैचाझै भयो ।
त्यसैले त पत्रकार जयदेव गौतमले टासीको नयाँ न्वारन गरे, ‘घाँसी घले’ भनेर । एउटा असम्भवप्राय कामलाई चामत्कारिक पारामा गरेपछि उनले यो उपनाम पाएका थिए । त्यसैले उनलाई यो नाम निक्कै प्यारो छ । घाँसी नामले पुकार्दा लजाएर मुसुक्क दाँत देखाउँछन्, कुनै प्रतिक्रिया बेगर ।
‘त्यो बेला चार महिना अघि जिम्मेवारी दिए पनि हामीले तीन महिनामात्र काम गर्न पाएका थियौं । मैदान, चेन्जिङ रुम र भिआइपी व्यवस्थापनका काम धेरै थिए । त्यसैले पूरा २४ घन्टा नै दुई सिफ्ट गरेर काम गरेका थियौं,’ घले सम्झन्छन्, ‘काम गरेअनुसार जस पनि पाएँ, खुसी लाग्छ ।’
समस्या प्रतिबद्धताको
अवधारणा अनुसार समयको अनुसासन पालना भएको भए अर्को वर्ष प्रतियोगिताको १८औं संस्करण हुने थियो । तर दक्षिण एसियाली देशबीचको खराव सम्बन्ध, अस्थिर राजनीति, सबभन्दा ठूलो भारतको खास चासो नहुनु, बाँकी देशको पनि प्रतिबद्धता कमजोर भएका कारण साग भर्खर १३औं संस्करणको पर्खाइमा छ ।
१३औं संस्करण आयोजनाको जिम्मा घुमिफिरी संस्थापक नेपालकै भागमा आइपुगेको छ । तर स्थापनामा आफैले बनाएको अवधारणामा नेपाल पनि इमान्दार नहुँदा १३औं सागको मिति पटक–पटक सरिसकेको छ । खासगरी नेपाल ओलम्पिक कमिटी (एनओसी) र सरकारबीचको निरन्तर विवाद नेपालमा साग आयोजनाको तगारो बनिरहेको छ भने पूर्वाधार निर्माणमा सरकारले देखाएको उदासिनता साग हुन नसक्नुको अर्को मुख्य कारण हो ।
छिमेकी भारतको गुवाहटी र सिलोङमा दुई वर्षअघि सम्पन्न १२औं सागको समापनमा नेपालले दुई वर्षभित्र अर्को संस्करण आयोजनाको वाचासहित झण्डा उचालेको थियो ।
भारतीय आयोजकबाट आगामी आयोजकका नाताले सागको झण्डा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले लिएका थिए । नेपालको अस्थिर राजनीतिक अवस्थामा साग आयोजनाको जिम्मेवारी ठूलै बोझ हुने श्रेष्ठले राम्ररी बुझेका थिए । त्यसैले उनले तत्कालै त्यो बोझ समापनका लागि भारत पुगेका तत्कालिन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलतिर सारिदिए । झण्डा लिने क्रममा मण्डलले २०१८ फेब्रुअरीमा १३औं सागका लागि दक्षिण एसियाका बाँकी सात देशलाई नेपाल निम्त्याउने बाचा गरेका थिए ।
तर सरकारका जिम्मेवार मन्त्रीको बाचाअनुसार तयारीमा खासै कुनै फड्को मारेको अवस्था छैन । होस पनि कसरी, उनी आफैले नेपाल आउनेवित्तिकै साग निर्धारित समयमा हुन नसक्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए । झण्डा जिम्मा लिएको ६ महिनाभित्रै सरकारले साग आयोजनाको तयारीमा थुप्रै समिति गठन थियो । प्रधानमन्त्री संयोजक हुने गरी अनुगमन तथा निरिक्षण समिति र मुल आयोजक समिति गठन भएको थियो भने युवा तथा खेलकुदमन्त्री संयोजक रहने गरी अर्को तयारी समिति बनेको थियो । यसैगरी अन्य उपसमितिको हकमा घलेलाई संयोजक तोक्दै भौतिक पूर्वाधार निर्माण उपसमिति गठन गरिएको थियो ।
उपसमितिमा संयोजक तोके पनि घलेले औपचारिक पत्रविना काम थाले । केही महिनामै सरकार फेरिने नियतिका कारण मण्डल केही महिनामै मन्त्रालयबाट विदा भए । नयाँ युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली पनि प्रतिवद्धता जाहेर गर्नमा मण्डलभन्दा कम देखिएनन् । दुई वर्षको बीचमा अहिले युवा तथा खेलकुद मन्त्रालयमा तेस्रो मन्त्रीले नेतृत्व गरिरहेका छन् । वर्तमान मन्त्री राजेन्द्रकुमार केसी बाचा गर्नमा मण्डल र श्रीपालीभन्दा पनि अघि देखिए । उनले त केही महिनाको आफ्नै कार्यकालमा सातवटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गर्न समेत भ्याए । सबै मन्त्रीले पूर्वाधारका ठूला भाषण गर्नुवाहेक साच्चै निर्माणमा चासो नदिनुका साथै क्रोनिक बनिसकेको ओलम्पिक विवादमा प्रभावकारी कदम चाल्न नसक्दा सरकारले घोषणा गरेको २०१९ मार्चमा पनि १३औं साग गर्न मुस्किल छ ।
तर निरन्तर रुपमा हुने सरकार परिवर्ततनका कारण साग तयारीका लागि बनाइएका कमिटीहरु तथा तिनले तयार गरेका प्रतिवेदन सब अलपत्र अवस्थामा थन्किएका छन् ।
मन्त्रालयमा नयाँ नेतृत्व आएपछि नयाँ समितिहरु बनाउने क्रममा घलेले दशरथ रंगशाला पूर्ननिर्माण तथा खेल सामाग्री खरिदको जिम्मेवारी पाएका छन् । तथापि रंगशाला पूर्ननिर्माणका लागि सरकारले आफ्नै पारामा भत्काउन सुरु गरिसकेको छ । भुमिका फेरिए पनि घलेले पूर्वाधार निर्माण तयारी समितिमा रहँदा तयार गरेको प्रतिवेदन भने वर्तमान मन्त्री केसीलाई बुझाइसकेका छन् ।
‘मैले प्रतिवेदन बनाउन धेरै अध्ययन गरेको थिएँ । त्यो मिहिनेत खेर नजाओस भनेर मन्त्रालयमा बुझाएको छु । अब जसले त्यो जिम्मेवारी पाए पनि फेरी अध्ययन गर्नु नपरोस र समयमा साग होस भन्ने मेरो चाहना हो,’ घले भन्छन् ।
नेपालले तेस्रो पटक साग गर्न लाग्दा अघिल्ला दुई संस्करण (पहिलो र आठौं)मा भन्दा सजिलो भएको उनको बुझाई छ । ‘१९९९ मा आठौं साफ गर्ने बेला हामीसँग अत्यन्तै कम पूर्वाधार थिए । अहिले त्यसको तुलनामा धेरै छन् । मुख्य समस्या दशरथ रंगशालाको हो । त्यो बनाउन फास्ट ट्रयाकमा काम गर्नुपर्छ,’ घलेले भने, ‘मैले सेनालाई जिम्मा दिउँ भनेको थिएँ । मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरु तयार थिए । तर मन्त्री र सदस्य सचिव तयार नहुँदा सेनालाई दिन सकिएन । परिषदले आफ्नै पारामा टेन्डर सुरु ग¥यो ।’
टालटुलको विकल्प छैन
वर्तमान गतिमै काम भए निर्धारित समयमा साग भव्यताका साथ गर्न असम्भव रहेको घले बताउँछन् । तर टालटुले पारामा गरे भ्याइने बताउँदै उनी थप्छन्, ‘च्यासलको मैदान बनाउन सुरु भइसकेको छ । मैले त्रिपुरेश्वरमा बहुउद्देस्सीय कभर्डहल बनाउने प्रस्ताब गरेको थिएँ । त्यो काम भएको छैन । तर पोखरामा राम्रो कभर्डहल बनेको छ । आर्मी, पुलिस र सशस्त्रको पनि पूर्वाधार छन् । त्यहाँ टालटुले पारामा गर्न सकिन्छ । ’
‘वास्तबमा यस्तो ठूलो अन्तर्राष्ट्रिय खेलमेला फरक क्षेत्रमा लगेर भविश्यसम्मका लागि पूर्वाधार काम  लाग्नेगरी बनाएर गर्नुपर्ने हो । तर वर्तमान स्थितीले हामीसँग विकल्प छैन । यसपाली टालटुले पारामा गरेर अर्को संस्करणका लागि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशाला र खेल कम्प्लेक्स बनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि मन्त्रालयसँग मिलेर प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । नेपालको खेलकुदका लागि एउटा वृहत गुरुयोजना बनाउने काम भइरहेको छ । त्यसो भयो भने अर्को पालीदेखि जुन प्रदेशले पनि आरामदायी रुपमा साग गर्न सक्छन ।’
सरकारले २०६७ चैत २५ मै तीन वर्षपछि नेपालमा २०७० भित्र १३औं साग गर्ने सैद्दान्तिक निर्णय गरेको थियो । तत्कालिन दक्षिण एसियाली महासंघीय खेलकुद साफको पहिलो संस्करण १९८४ मा काठमाडौंमा गरेको नेपालले त्यसपछि १९९९ मा आठौ साफ काठमाडौंमै आयोजना गरेको थियो । १९९९ पछि पहिलो पटक नेपालले यती ठूलो खेलमेला गर्न लागेको हो । १२औं साग २०१२ मा भारतमा भएपछि स्वत नेपालको पालो आउने भएकाले एनओसीले १३औं संस्करण नेपालमा गर्न तयारीका लागि ०६७ पुसमा सरकारसमक्ष प्रस्ताव गरेको थियो ।
भारतको आन्तरिक विवादका कारण तीन पटक सरेर प्रतियोगिता २०१६ फेब्रुअरीमामात्र भयो । २०१३ मै आफ्नो पालो आइसक्ने सोचेर नेपालले तीन वर्षअघि नै आयोजनाको सैद्दान्तिक निर्णय गरेको थियो । तर आन्तरिक विवादका कारण भारतले समयमा १२औं संस्करण गर्न सकेन । जसले नेपाललाई तयारी गर्न थप समय दियो । तर त्यसको फाइदा उठाउन भने नेपालले पहल नै गरेन ।
सम्भाव्यता अध्ययनका लागि आफैले गठन गरेको कार्यदलको अध्ययन प्रतिवेदनअनुसार एनओसीले आवश्यक भौतिक पूर्वाधार, तथा सम्भावित खेलस्थलका बारेमा समेत अवगत गराउँदै सरकारलाई प्रस्ताव गरेको थियो । एनओसीले सम्भाव्यता अध्ययनका लागि कार्यदल बनाएलगत्तै खेलकुद मन्त्रालयले पनि आफ्नै अध्ययन समिति बनाएर प्रतिवेदन तयार गरेको थियो ।

प्रकाशित: २५ कार्तिक २०७४ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App