७ वैशाख २०८१ शुक्रबार
राजनीति

विवेकशील साझा घोषणापत्र : प्राथमिकता सुशासन र समृद्धि

काठमाडौं- विवेकशील साझा पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि शुक्रबार चुनावी घोषाणापत्र सार्वजनिक गरेको छ । भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट विवेकशीलका उज्वल थापा,  किशोर थापा, रवीन्द्र मिश्रलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरे ।
‘अबको आशा विवेकशील साझा’ नारा तय गरी चुनावी प्रतिस्पर्धामा उत्रिएको विवेकशील साझा पार्टीको घोषणापत्रले सुशासन, राजनीतिक स्थिरता, आर्थिक विकास र  इमानदारीलाई मुख्य अजेन्डाका रुपमा अघि सारेको छ । घोषणापत्र सार्वजनिक गर्दै विवेकशील साझाका प्रतिनिधिसभातर्फका उम्मेदवार रवीन्द्र मिश्रले भ्रष्टाचार र बेथितिले विक्षिप्त भएको राजनीतिलाई इमान र विवेक प्रयोग गरी परिवर्तन ल्याउन विवेकशील साझा अघि बढेको बताए । उनले समृद्धिसहित सहभागितामूलक लोकतन्त्र, समन्वयात्मक बजार, सामाजिक न्याय र सुरक्षासहितको समानुपातिक समावेशी राज्यको अवधारणालाई पार्टीको घोषणापत्रमा समावेश गरिएको बताए । ‘देशमा मौलाएको भ्रष्टाचार, अनियमितताजस्ता कुरीति अन्त्य गर्दै लोकतन्त्रको रक्षा गर्न चुनावी प्रतिस्पर्धामा हामी होमिएका हौं,’ उनले भने, ‘अब जनताले ढुक्क भएर मत दिए हुन्छ, साझाले देश र जनता सबैकोे भलो गर्नेछ ।’
घोषणापत्रमा २० वर्षभित्र देशलाई मध्यम आय भएको मुलुकका रुपमा चिनाउने र औद्योगिक विकास गर्ने समेत उल्लेख छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै साझाका सहसंयोजक उज्ज्वल थापाले पार्टीको मूल अजेन्डा विकास र समृद्धि रहेको बताए । उनले यी दुवै कुरा हामै्र जीवनकालमा सम्भव भएको र यसलाई विवेकशील साझाले नै पूरा गर्नसक्ने आधार रहेको बताए । ‘सुशासनयुक्त, भ्रष्टाचारमुक्त असल नेतृत्व भयो भने यो सम्भव छ,’ उनले भने, ‘विकास र समृद्धिलाई दूरदृष्टि राखेर हासिल गर्न सक्ने क्षमता हाम्रो पार्टीमा छ ।’ उनले पार्टीको पहिलो अजेन्डा भनेकै विकास र समृद्धि रहेको बताए ।
घोषणापत्रमा ऐतिहासिक सम्पदा संरक्षण, आर्थिक वृद्धि र वित्तीय व्यवस्थापन, भौतिक योजना र पूर्वाधार विकास, युवा स्वरोजगार कार्यक्रम, राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्दै आत्मनिर्भर तथा सबल अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता उल्लेख छ । घोषणपत्रमा उल्लेख छ, ‘आर्थिक विकास, इमानदारी र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धिका लागि मूल कार्यनीति र कार्ययोजना निर्माण गरिनेछ ।’

प्रकाशित: २५ कार्तिक २०७४ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App