८ वैशाख २०८१ शनिबार
राजनीति

दाहाललाई बाँदरमुढेको सकस

चितवन- कात्तिक १५ गते चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ गते उम्मेदवारी दर्ता गराएपछि पाँच दिन जिल्लामै बिताए । कात्तिक २० गते काठमाडौं फर्कंदासम्म उनी दर्जनौं कार्यक्रममा सहभागी भए । उनको चुनावी अभियानमा असर पार्ने आकन गरिएको बाँदरमुढे घटनापीडितलाई भेट्ने योजना भने अधुरै रह्यो ।

१२ वर्षसम्म पनि पुष्पकमल दाहालसँग खुलेर सिधा कुरा गर्न नपाएका बाँदरमुढे घटनापीडित उनको व्यवहारबाट फेरि झस्केका छन् । अवस्था असहज बन्दै गए चुनावी मैदानमा उत्रिएका दाहाललाई असर पर्नेछ ।

काठमाडौं गएका दाहाल चार दिन नहुँदै फेरि बिहीबार चितवन फर्केर आफ्नो चुनाव क्षेत्रमा घरदैलोमा जुटेका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले माडी क्षेत्रमा घरदैलो सुरु गर्दा दाहाल भरतपुर क्षेत्रमा व्यस्त छन् । उनी अहिले माडी जाने हुन् वा हैनन् र बाँदरमुढे घटनापीडितलाई भेट्छन् भेट्दैनन्  भन्ने चर्चा फेरि सुरु भएको छ ।
    उम्मेदवारी दर्तापछि दाहाल घटना भएको गाउँ माडी नपुगेका पनि हैनन् । तर माडी वसन्तपुर बजारमा रहेको ‘जनयुद्ध’ का सहिदको स्तम्भमा माला चढाएका दाहाल घटनास्थल बाँदरमुढे गएनन् । उनले माडीमा रहेका बाँदरमुढे घटनापीडितलाई पनि भेटेनन् । तर बाँदरमुढे घटनापछि दाहाल पहिलो पटक स्थलमार्ग हुँदै माडी पुगे । स्वागत गर्नेको लाम लाग्यो । विरोध कसैले गरेन । निर्वाध रुपमा कार्यक्रममा सहभागी भए उनी ।
उनले आफ्ना मुख्य प्रतिस्पर्धी पाण्डेको पार्टी राप्रपा प्रजातान्किका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालाई  माओवादीमा ल्याए । कात्तिक १८ गते शनिबार दिनभर माडी बस्दा दाहालले चुनावी माहोल बनाएकै हुन् । सोही सभामा उनले बाँदरमुढे घटनाबरे बोल्दै दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्ने ‘बचन’ समेत दिए ।
तर यति गर्दा पनि बाँदरमुढेको सकसले दाहाललाई नछाड्ने संकेत देखिएको छ । ‘दाहालले हामीलाई भेट्ने भनेर बोलाइयो तर नभेटी जाने काम भयो । यसप्रति हाम्रो गम्भीर आपत्ति छ’, बाँदरमुढे घटनापप्डित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले कात्तिक १९ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिका उपाध्यक्ष कृष्ण अधिकारीले आफूहरू बोलाएअनुसार माडी नगरपालिकाका मेयरको घर जाँदा त्यहाँ माओवादीका कोही नेता नभएको बताए ।
‘हामीलाई मेयरको घरमा आउनुस् भनेर बोलाइयो । आइतबार १५ जनाजति पीडित त्यहाँ पुगेका थियौं । तर त्यहाँ कुरेर बसेका हामीलाई एकाएक माडीका मेयरको घरमा हैन भरतपुरका मेयरको घरमा आउनु पो भनियो । साँझ परेपछि यसोभन्दा हामीलाई साह्रै पीडा भयो । धोका दिएझैं लाग्यो’ अधिकारीले भने । पीडितहरू फर्केर विज्ञप्ति निकालेपछि सुधारोन्मुख देखिएको सम्बन्धमा फेरि आशंका बढेको छ ।
माओवादी संघर्षका बेला २०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच सार्वजनिक बस माओवादीले थापेको विद्युतीय धरापमा परेको थियो । धराप विस्फोट हुँदा ३८ जना यात्रुको तत्कालै ज्यान गयो । ७२ जना  घाइते भए । सो घटना माओवादी पक्षबाट भएको ‘जनयुद्ध’ कालकै सबैभन्दा गम्भीर भुल भएको दाहालले तत्कालै स्वीकारेका थिए । शनिबारको सभामा पनि उनले यही कुरा दोहो¥याए ।
उपयुक्त समयमा पीडितलाई भेटेर क्षमा माग्नेछु भन्ने १२ वर्षअघि गरेको बाचा दाहालले माडीमा दिन बिताउँदा पनि पूरा गर्न भ्याएनन् । माडी आफ्नो पूर्णकालीन राजनीतिको पहिलो कार्य क्षेत्र भएको दाहाल बताउँछन् । तर दाहाललाई चुनावमा दुई विषयले तनाव र सकस दिने सम्भावना छ ।
पहिलो, बाँदरमुढे घटना नै हो । दोस्रो, स्थानीय तह निर्वाचनमा भरतपुरमा मतपत्र च्यतिएको घटना । मतपत्र च्यातिँदा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली विजयी हुने सम्भावना ट¥यो र दाहाल पुत्री रेनु मेयरमा निर्वाचित भइन् । त्यतिबेला दाहाल पुत्री रेनलाई नेपाली कांग्रेसको साथ थियो । प्रतिनिधिसभामा चितवनबाट उम्मेदवार हुने घोषणा दाहालले गर्दा उनको कग्रेससँगको गठबन्धन कायमै थियो । यस्तो अवस्थामा दाहाल चितवनमा उम्मेदवार भएर आउँदा एमालेबाट यी दुई विषय उठाइने सम्भावना थियो । तर माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग चुनावी तालमेल मात्रै होइन पार्टी एकता नै गर्ने निर्णय ग¥यो । अनि चितवनमा देखिएको माओवादी र एमालेबीचको तिक्तता मत्थर हुँदै गयो । मतपत्र च्यातिनाले हार बेहोरेका एमाले मेयर उम्मेदवार ज्ञवाली नै अहिले दाहालको प्रचारमा छन् । ज्ञवाली नै प्रचारमा जुटेपछि मतपत्र प्रकरण व्यवस्थापन भएको माओवादीको बुझाइ छ । तर दाहालले बाँदरमुढे घटनापीडितलाई भेटेर दोहोरो कुराकानी नगर्दासम्म यो तिक्तता सहजै हट्ने देखिँदैन । दाहाल माडीको सभामा पीडितका सबै माग पूरा गर्ने वाचा गरेका थिए । पीडितले १२ बुँदे माग राखेका थिए ।
तर माओवादीले अप्ठेरो पर्दा वाचा गर्ने परिस्थिति सहज भएपछि वास्ता नगर्ने प्रवृत्ति देखाएकाले विश्वास गरिहाल्न नसकिने संघर्ष समितिका उपायक्ष अधिकारीको टिप्पणी छ । ‘कतै दाहालको यो वाचा÷कसम चुनावी रणनीति मात्रै हैन’, समितिका अध्यक्ष न्यौपानेको विज्ञप्तिमा उल्लेख छ ।
माओवादी नेता अमिक शेरचन पीडितलाई झुक्याउने र अलमल्याउने नियत पार्टीको नभएको बताउँछन् । तर १२ वर्षसम्म पनि दाहालसँग खुलेर कुरा गर्न नपाएका पीडित उनको व्यवहारबाट फेरि झस्केका छन् । दाहालका प्रतिस्पर्धी पाण्डेको माडी क्षेत्रमा राम्रो पकड छ । त्यसैले बाँदरमुढे घटनापीडितसँगको सम्बन्ध सामान्य हुन नसक्दा दाहाललाई अप्ठेरो पर्ने देखिन्छ । चितवन निर्वाचन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिका २९ मध्ये १९ वटा वडा र माडी नगरपालिका पर्छन् ।
माडी क्षेत्रबाटै भारी मत पाएका कारण पाण्डे २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । त्यतिबेला माडी ५ नम्बर क्षेत्रमा थियो । चितवनको तत्कालीन क्षेत्र नं ४ कांग्रेस गढको रुपमा परिचित छ । पहिला पाँच निर्वाचन क्षेत्र रहेको चितवनमा अहिले तीनटा क्षेत्र छन् ।  पाण्डेले जितेको पुरानो ५ र कांग्रेसको गढ मानिने पुरानो ४ लाई मिलाएर अहिले ३ नम्बर क्षेत्र बनाइएको छ ।
पाण्डेलाई नेपाली कांग्रेसको पनि समर्थन छ अहिले । त्यसैले उनी बलियो उम्मेदवारका रुपमा हेरिएका छन् । बाँदरमुढे घटनाका कारण माडीमा असहज अवस्था बन्दै गए दाहाललाई असर पर्नेछ । त्यसैले बाम गठबन्धनले यो विषयलाई सामान्य बनाउन खोजेको माओवादी नेता शेरचनले बताए ।

 

 

 

प्रकाशित: २५ कार्तिक २०७४ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App