coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विकास निर्माणलाई चिसोको अवरोध

कास्की- हिमाली जिल्लामा चिसो बढेपछि त्यहाँका विकासे आयोजनाहरु ठप्प बनेको छन्। मौसमी प्रभाव बढ्दै जाँदा विशेषतः त्यहाँ निर्माणाधीन विकासे आयोजनाहरु प्रभावित बनेका हुन्।

मुस्ताङ जस्ता हिमाली जिल्लामा हिउँ पर्न थालेका कारण सडक निर्माण, पुल निर्माण लगायतका आयोजनाहरु रोकिन पुगेका छन्। जिल्लामा निर्माणाधीन रहेका दर्जनौँ पुलहरुको निर्माण गर्ने ठेक्का लिएका ठेकेदारहरु र मजदुरहरुले चिसोकै कारण जिल्ला छाडेपछि आयोजनाहरु समयमा नै सम्पन्न नहुने भएका छन्।

जिल्ला प्राविधिक कार्यालयले निर्माण गर्न लागेका दुई मोटरेवल पुलहरुको सम्पन्न गर्न मिति सकिईसकेतापनि अहिलेसम्म २५ देखि ३० प्रतिशतमात्र काम सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय मुस्ताङका ईञ्जिनियर रविन्द्र तिवारीले बताए। जिल्लाको बाह्य तापक्रम निकै घटेपछि निर्माणसामाग्री सिमेन्टको प्रयोग नहुने हुँदा काम प्रभावित बनेको उनले बताए।

भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन जोमसोम बजारको पक्की पुल पाँच वर्षपछि मात्र हाल सम्पन्न भएको छ । भौगोलिक विकटता र मौसमी विविधताले यहाँ वर्षेनी काम प्रभावित पार्ने गरेको छ।

एक्लेभट्टी र लेतेका ठूला पुलका काम पनि चिसोकै कारण बीचमै रोकिएका छन् । स्थानीयस्तरका सडक र ढल निर्माण कार्य बन्द छ। निर्माणमा संलग्न ठेकेदारदेखि कर्मचारीसम्म अहिले मुस्ताङमा छैनन् ।

जिल्ला प्राविधिक कार्यालयको निगरानी रहनेगरि झन्डै साढे दुई वर्षपहिले ठेक्का दिईएको एक्लेभट्टी–पाक्लिङ्ग पुल बल्ल ३० प्रतिशत सम्पन्न भएको छ । २४ महिनासम्म सक्ने गरि शंकरमाली जेभी कन्ष्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएतापनि ठेकेदारहरुले हिउँदको तीन महिनासम्म काम गर्न नसक्ने भएपछि निर्माणअवधि लम्बिएको छ । ११ करोड लागतको यो पुल अर्को वर्षसम्म पनि सम्पन्न हुन गाह्रो देखिन्छ।

त्यस्तै थासाङ्ग गाउँपालिका थाक्साङ्ग खोलामा पुल निर्माण गर्न गतसाल भदौमा नै स्विकृति पाईसकेको स्वच्छन्द्र निर्माण सेवा काठमाडौंले हालसम्म काम नै सुरु गर्न सकेको छैन। प्राविधिक तथा स्थानीय कठिनाई देखाउँदै कम्पनीले १० करोडको लागत रहेको पुलको निर्माण गर्न थालनी गर्न नसकेको हो।

‘फागुनसम्म अधिकांश विकासे कामहरु हुनै सक्दैनन्,’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख तिवारीले भने, ‘हरेक वर्ष मंसिरदेखि फागुनसम्म काम रोकिन्छ ।’ यसपाली धेरै हिउँ परेकोले अघिल्ला वर्ष भन्दा अगावै काम रोकिएको हो । ‘चिसोकै कारण आधा दर्जन पुलका काम रोकिएका छन्, ५ डिग्रीभन्दा कम तापक्रममा सिमेन्टको काम हुँदैन, सबैजसो विकासका काम फागुनबाट मात्रै सुरु हुन्छ,’ उनले भने ।

महत्वाकांक्षी बेनी–जोमसोम–कोराला सडकको मुस्ताङ खण्डको काम पनि चिसोकै कारण रोकिएको छ । मुस्ताङतर्फको एक सय ७६ किमी सडक खन्ने काम चिसोकै कारण रोकिएको हो । ३ अर्बको लागतमा यो सडकलाई स्तरवृद्धि गर्ने काम सात खण्डमा गरिएको थियो । तर, अहिले मुस्ताङ खण्डको सबै काम रोकिएको आयोजना प्रमुख नगेन्द्र सुवेदीले जानकारी दिए।

‘ठेकेदार र मजदुरहरु फर्किसके, अब फागुनपछि मात्र काम हुन्छ,’ उनले बताए । वर्षातको समयमा बाढीका कारण र हिउँदमा चिसोका कारण तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न कठिन हुने उनको भनाई छ ।

यो सडकको मुस्ताङ खण्डमा हाल तीनओटा पुल निर्माणाधीन रहेका छन् । आयोजना अन्तर्गत कुल १४ पुल भएतापनि म्याग्दीखण्डमा दुई पुल निर्माणाधीन रहेका छन् । सडकखण्डको म्याग्दी खण्डमा बाहेक मुस्ताङका सबै काम रोकिएका छन्।

 

प्रकाशित: २४ कार्तिक २०७४ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App