coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मसल र मनि निर्वाचनका चुनौती

पोखरा- प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलको अस्वस्थ प्रतिश्पर्धासँगै उम्मेदवारले मतदातालाई प्रभाव पार्नेगरि पैसा वितरण गर्न सक्ने भएकोले सचेत रहन निर्वाचन आयोगले सुरक्षा निकायसँग अनुरोध गरेको छ ।
आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले दलहरुका गतिविधिलाई नजरअन्दाज गर्न नहुने बताए । उनले सबैभन्दा बढी सुरक्षा चुनौती राजनीतिक दलका गतिविधिसँग रहेको बताए । शुक्रबार पोखरामा भएको प्रदेश ४ र ५ को सुरक्षा भेलामा बोल्दै आयुक्त पौडेलले राजनीतिक दलको अस्वस्था प्रतिश्पर्धा, मनि, मसल र दलहरुको मुठभेडलाई आयोगले चुनौतीको रुपमा लिएको बताए ।
‘दलहरुले अनावश्यक शक्ति प्रदर्शन गर्न सक्छन्, दलहरुले मसल प्रदर्शन गर्दै मतदातासामु पैसाको खोलो बगाउन सक्छन्,’ उनले भने, ‘दलका यि गतिविधि रोक्न सके मात्र निर्वाचन निश्पक्ष हुनसक्छ ।’ निर्वाचन आचारसंहितामा उल्लेख गरिएभन्दा बढी रकम दलहरुले मतदाताका लागि खर्चन सक्ने उनले बताए ।
‘दलहरुले ठुलो रकम खर्च गरेर मतदाता प्रभाव पार्न सक्छन,’ पौडेलले भने, ‘दलका गतिविधि पनि नियाल्नुपर्छ ।’ उनले निर्वाचनमा विप्लव माओवादी पक्ष, सिके राउत समुह र भारतसँगको खुला सिमाना चुनौतीको रुपमा रहेको बताए । दलहरुबीचको अस्वस्थ प्रतिश्पर्धाले शान्ति सुरक्षामा खलल पुग्न सक्ने पनि बताए । दलहरुले शक्ति प्रदर्शन गरेर शान्ति सुरक्षामा खलल पु¥याएको खण्डमा स्थानीय प्रशासनले शक्ति प्रदर्शन गर्ने अवस्था आउने पनि उनले बताए ।
‘हामी चाहेका छौं, कुनै ठाउँमा गोलि नपड्कियोस, कसैलाई घाउ नलागोस,’ पौडेलले भने, ‘प्रशासनले गोली पड्काउन पनि नपरोस ।’ उनले सुरक्षा अवस्था बलियो छ भनेर ढुक्क नहुन पनि सुरक्षा निकायलाई निर्देशन दिए । ‘प्रदेशभित्रका सबै जिल्लामा सुरक्षा अवस्था बलियो छ भनेर ढुक्क नहुनु्स,’ उनले भने, ‘कुनैपनि बेला सुरक्षा थ्रेट बढ्न सक्छ ।’ उनले सुरक्षा अक्सिजन जस्तै अत्यावश्यक रहेको बताए । निर्वाचनसँग सरोकार राख्ने सबै निकायको सुरक्षा हुनुपर्ने पनि उनले बताए । शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गरेर नेपाललाई विश्वसामु चिनाउनुपर्ने उनले बताए ।
गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षाका केही खतरा पहिलेदेखि नै देखिएपनि अहिले कम भएको बताए । ‘सुरक्षा खतरा सुरुमा देखिएको थियो । तर, अहिले केही कम भएको छ,’ सापकोटाले भने, ‘अहिले खतरा कम छ भनेर चुप लागेर बस्ने होइन । भविश्यमा एक्सनमा पनि जानुपर्ने हुनसक्छ ।’ उनले निर्वाचन विरोधी गतिविधि सुरुमै निस्तेज पार्न मातहत सुरक्षा निकायलाई निर्देशन पनि दिए ।
‘निर्वाचन विरोधी गतिविधि सुरुमै तिस्तेज पार्नुपर्छ । सुरुमै समस्या समाधान गर्न सकेमा पछि अप्ठेरो पर्दैन,’ उनले भने, ‘परिस्थिति विश्लेषण गरेर समयमै समाधान गरौ ।’ उनले समयमै चुनौती समाधान नगरेको खण्डमा भविश्यमा बढ्दैजाने भन्दै सतर्क रहन आग्रह गरे ।
प्रदेशस्तरीय भेलामा नेपाल प्रहरी, सशस्त्र सहित सेनाका उच्च पदाधिकारी सहभागि छन् । भेलामा प्रदेशभित्रका जिल्लाका सुरक्षा निकाय, अनुसन्धान सहित प्रशासन प्रमुख उपस्थित छन् । भेलाले निर्वाचनलाई निश्पक्ष बनाउन र आइपर्ने चुनौतीलाई समाधान गर्नका लागि उपयुक्त सुझाव पनि दिनेछ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App