coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सातौं एभरेस्ट ट्रायल अल्टर रेस सुरु

काठमाडौं- सातौं एभरेस्ट ट्रायल अल्टर रेस अन्तर्राष्ट्रिय प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । दोलखाको पर्यटकीय नगरी जिरीबाट सुरु भएको उक्त रेस सगरमाथाको बेस क्याम्पसम्म रहने छ ।
प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका ४१ जना अन्तर्राष्ट्रिय धावक सहभागी भएको आयोजक अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसनले जनाएको छ । धावकले प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पदमार्ग भएर दौड पूरा गर्नेछन् ।
प्रथम सगरमाथा आरोही हिलारी र शेर्पाको पदमार्गलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उदेश्यसहित उक्त प्रतियोगिता गर्दै आएको अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक कामी शेर्पाले जानकारी दिए ।
‘दोलखाको जिरीबाट सुरु भएको प्रतियोगिता रामेछापको बाम्ति भण्डार, सोलखुम्बुको गोली, पिके डाँडा, नाम्चे, पाङ्बोचे पुग्ने छ । यसपछि फोर्चेसम्म पुगी पुनः लुक्लाको त्याङ्बोचे आएर कात्तिक २९ गते उक्त प्रतियोगिता सकिने तालिका छ,’ उनले भने, ‘यसका लागि स्थानीय निकाय, धावक, पर्यटन व्यवसायीहरुले साथ दिएको छ । पछिल्लो समय ओझेलमा पर्दै गएको यस रुटलाई प्रवद्र्धन गर्न पनि म्याराथन दौड आयोजना गरेको हो ।’
‘साहसिक पर्यटकीय खेल अल्टर रेसमार्फत नेपालमा पर्यटन भिœयाउने उद्देश्य हो । ‘अल्टर रेस’ खेल्नका लागि नेपाल उपयुक्त भौगोलिक बनावट भएको मुलुकमा पर्छ,’ शेर्पाले भने, ‘यहाँको डाडाकाँडा, उकालो ओरालो, खोला, नाला चाहिन्छ । यसकारण नेपाल प्रसिद्ध छ ।’ उनका अनुसार सहभागी धावकमध्ये नौ महिला र ३२ पुरुष रहेका छन् । प्रतियोगितामा सबैभन्दा बढी स्पेनका १४ जना धावक सहभागी छन् ।
बेलायतका नौ र इटालीका चार जना रहेका छन् । यस्तै, नेपाल, पोर्चुगल र आयरल्यान्डका दुई–दुई जना धावक सहभागी रहेका छन् । यसैगरी, मेक्सिको, कोलम्बिया, फ्रान्स, अमेरिका, क्यानडा, स्विडेन, नर्वे र अर्जेन्टिनाका एक–एक जना धावक रहेको आयोजकले जनाएको छ  ।
नेपालको तर्फबाट सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ का २६ वर्षीय सुमन कुलुङ र खुम्बु पासङल्होमु गाउँपालिका–९ की २९ वर्षीया छेची शेर्पा सहभागी छन् । शेर्पा ६ महिनाअघि कञ्चनजंघादेखि चीनको सिमाना हिल्सासम्मको १८ सय किलोमिटर दूरी ४५ दिनमा पूरा गर्दै दोस्रो हुन सफल भएका थिए । दौडमा स्पेनका विश्व विख्यात धावक लुइस अलबेट्रो पनि सहभागी रहेको शेर्पाको भनाइ छ ।

महिला र पुरुषको छुट्टाछुट्टै मूल्यांकन
एभरेस्ट ट्रायल रेस अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगितामा सहभागी महिला र पुरुष धावकको छुटाछुटै मूल्याँकन हुनेछ ।
म्यारथनमा प्रथम हुने पुरुष र महिला धावकले जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँने छन् । त्यस्तै, द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ५० हजार नगदसहित मेडल र ट्रफी पाउनेछन् । एभरेस्ट म्याराथन दौड प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो ।
हरेक वर्ष हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक सहभागी हुने क्रम बर्सेनि वृद्धि हुँदै गएको आयोजकले जनाएको छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App