७ वैशाख २०८१ शुक्रबार
अर्थ

उद्योगीको स्वार्थमा चिनीको भन्सार बढाउन सिफारिस

काठमाडौं- उपभोक्तालाई भार पर्ने गरी कृषि विकास मन्त्रालयले चिनी आयातमा लाग्ने भन्सार महसुल ५० बढाउन सिफारिस गरेको छ । महसुल बढाउँदा चिनीमा हुन सक्ने मूल्यवृद्धिलाई ध्यान नै नदिई नेपाल चिनी उद्योग संघको लबिङमा मन्त्रालयले उद्योगीलाई फाइदा हुने गरी कदम चालेको हो ।

सरकारले चिनी आयातमा लाग्ने भन्सार महसुल बढाए चिनी उद्योगीले आफ्नो उत्पादन महँगोमा बेच्न पाउने।

चिनी उद्योगले किसानलाई समयमा उखुको भुक्तानी नदिएर दुःख दिइरहेको गुनासो आइरहेको बेला तिनै उद्योगीको पक्षमा मन्त्रालयले सिफारिस गरेको भन्दै आलोचना सुरु भएको छ । कृषि विकास मन्त्रालयले महसुल बढाउन अर्थ, वाणिज्य, उद्योग र आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।
निजी क्षेत्रले ल्याउने चिनीमा सरकारले १५ प्रतिशत भन्सार महसुल लिने गरेको छ । सय रुपैयाँको चिनी आयातमा १५ रुपैयाँ भन्सार लाग्छ । मन्त्रालयको सिफारिस कार्यान्वयनमा आए सय रुपैयाँको चिनीमा २२ रुपैयाँ ५० पैसा भन्सार लाग्नेछ । त्यसले स्वतः चिनीको मूल्य वृद्धि हुने भएपछि त्यसको असर उपभोक्तामा पर्नेछ ।
भन्सार महसुल धेरै भएपछि आयातित चिनीको मूल्य स्वतः बढ्छ । यसो हुँदा स्वदेशी उद्योगीले आफ्नो कारखानाबाट उत्पादन हुने चिनीको मूल्य बढाउन पाउँछन् । सोही उद्देश्यका लागि चिनीको भन्सार महसुल बढाउन लबिङ गर्दै आएका उद्योगीको स्वार्थ अनुकूल हुने गरी कदम चालिएको कृषि मन्त्रालयकै एक अधिकारीले बताए । ‘उखु किसानलाई ठग्ने उद्योगी कै पक्षमा निर्णय भएको छ,’ ती अधिकारीले भने, ‘भन्सार महसुल बढाउँदा आयातित चिनीको मूल्य बढेपछि स्वदेशी चिनीको पनि मूल्य बढाउने उद्योगीको दाउ हो ।’
भन्सार छुटमा चिनी आयात गर्ने अनुमति पाएको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी स्टक सकिनासाथ उद्योगीले भाउ बढाएर बेचेको लामो इतिहास छ । चिनीको भन्सार महसुल बढाउन नहुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘चिनीमा मूल्य वृद्धि हुने गरी महसुल बढाए जनताले धान्न सक्दैनन्,’ महर्जनले भने, ‘उद्योगीको मिलेमतोमा कृषि मन्त्रालयले गरेको सिफारिस फिर्ता लिनुपर्छ ।’
उद्योगीले २० प्रतिशतभन्दा धेरै नाफा राखेर चिनी बेच्दै आएको उनले बताए । उद्योगले तय गरेको मूल्य र उत्पादन लागतको विषयमा आपूर्ति व्यवस्था विभागका उप–सचिव निरज पौडेलको संयोजकत्वमा गठित समितिले उद्योगीले धेरै नाफा खाएको भन्दै कारबाही सिफारिस गरेको महर्जनले बताए । महर्जन सो समितिमा सदस्य थिए । ‘उद्योगीलाई कारबाही गर्न सिफारिस गरेको प्रतिवेदन नै लुकाइयो,’ उनले भने ।
उपभोक्तालाई असर पर्ने र उद्योगीको निहित स्वार्थ पूरा हुने गरी निर्णय गर्न नहुने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताए । हचुवाको भरमा भन्सार महसुल बढाउन नहुने उनले बताए । ‘चिनी उद्योगीले बढाउन माग गर्दै आएका छन्,’ ढुंगानाले भने, ‘बजार विश्लेषण गरेपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’ विस्तृत अध्ययन गरेरमात्र भन्सार महसुल परिवर्तन गर्ने निर्णय हुने उनले बताए । ‘हचुवाको भरमा निर्णयमा पुग्नु हुँदैन,’ उनले भने, ‘उपभोक्ताको हितलाई ध्यान दिइन्छ ।’ महसुल वृद्धि गरे पनि सरकारको बजेट वक्तव्यको समयमा हुने विभागले जनाएको छ ।
चिनी आयात गरी बजारको सन्तुलन कायम गर्न सरकारले कर्पोरेसनलाई एक प्रतिशत भन्सार महसुलमा चिनी आयातको अनुमति दिँदै आएको छ । नेपालमा चिनीका १३ उद्योग रहे पनि बजार माग थेग्ने गरी उत्पादन गर्न सक्दैनन् । मुुलुकको रौतहट, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलवस्तु, कञ्चनपुरका किसानले उखु खेती गर्दै आएका छन् । नेपाल चिनी उद्योग संघले गत वर्ष करिब एक लाख २९ हजार मेट्रिक टन चिनी उत्पादन भएको जनाएको छ । यहाँ वार्षिक करिब दुई लाख ३० हजार मेट्रिक टन चिनी खपत हुन्छ । स्वदेशी उत्पादनले नपुग्ने करिब एक लाख टन चिनी विदेशबाट आयात हुन्छ ।
चिनीको मूल्य नियन्त्रण गर्न सरकारले न्यून भन्सार दरमा ५० हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति दिने गरेको छ । दुई–चारवटा चिनी उद्योगको मागका आधारमा महसुल बढाउन नहुने कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए ।
‘स्वदेशी उद्योगले बजारको माग धान्न सक्ने अवस्था छैन,’ राजभण्डारीले भने, ‘उपभोक्तालाई थप भार पर्ने गरी निर्णय गर्दा सोच्नुपर्छ ।’ अचेल चिनी खुद्रा किलोको ८४ रुपैयाँमा बिक्री भइरहेको कर्पोरेसनले जनाएको छ । यो वर्ष आयात गर्ने लक्ष्य रहेको ५० हजार टनमध्ये ३७ हजार पाँच सय टन चिनी आयात भइसकेको राजभण्डारीले बताए । विगतमा उद्योगीले कृत्रिम अभाव सिर्जना गरेर पनि चिनीको भाउ बढाएको घटना छन् ।
कृषि मन्त्रालयका सचिव सुरोज पोख्रेलले महसुल बढाउने सिफारिस गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घटेकाले आयात महसुल नबढाए त्यसको असर किसानमा पर्ने सचिव पोख्रेलको तर्क छ । ‘सस्तोमा चिनी आए यहाँका चिनी उद्योग धराशयी हुन्छन्,’ उनले भने, ‘उद्योगले उखु नकिने किसान विस्थापित हुने अवस्था आउन सक्छ ।’ भन्सार महसुल बढाएको बहानामा उद्योगीले चिनीको भाउ बढाउन नहुने पोख्रेलको तर्क छ । विदेशबाट चिनी आयात बढे यहाँका उद्योगीले किसानको उखु नकिन्दा किसान मारमा पर्ने भएकाले महसुल बढाउन सिफारिस गर्नुपरेको उनले बताए । यो वर्षको चिनी उत्पादन सिजन सुरु हुने बेला भएको छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App