७ वैशाख २०८१ शुक्रबार
कला

देशभर ‘अग्नीदहन’को च्यारिटी

काठमाडौं- नेपालमा सामाजिक कथामा बनेका फिल्महरू प्रदर्शनमा ल्याउनु अघि त्यसो च्यारिटी सो गर्ने चलनै छ । समाजमा भएका वास्तविक घटनालाई कथात्मक रूपमा बनाइएका फिल्महरू च्यारिटीबाट लगानी उठाएपछि मात्र सार्वजनिक प्रदर्शनको तयारीमा जुट्छन् ।
बोक्सी प्रथालाई चित्रण गरिएको फिल्म ‘अग्नीदहन’ले पनि फिल्मको सार्वजनिक रिलिज अघि एक वर्ष देशभर च्यारिटी शो गर्ने भएको छ । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको फिल्मको फस्टलुक र टिजर बुधबार राजधानीमा सार्वजनिक गर्दै फिल्मका प्रस्तुतकर्ता कोवितशरण उपाध्यायले एक वर्षभित्र नेपालका ७७ वटै जिल्लामा गई च्यारिटी शो गरिने बताए । ‘अझै पनि समाजमा बोक्सी प्रथा कायमै छ । हामी सञ्चार माध्यममार्फत बोक्सीको आरोपमा महिलामाथि दमन भएको कुरा थाहा पाइरहेका छौं,’ उनले भने, ‘त्यसकारण पनि ग्रामीण क्षेत्रका मानिसलाई समाजमा बोक्सी हुँदैन भन्ने सन्देश दिनका लागि फिल्मको च्यारिटी गर्न लागेका हौं ।’
फिल्मका निर्देशक घनश्याम लामिछानेले पोखरा आसपासमा फिल्म छायांकन गरिएकाले पोखरामा गत असोजमा च्यारिटी गरिएको बताए । ‘हामी बुटवल, चितवन, हेटौंडा, काठमाडौं र भक्तपुरमा पनि च्यारिटी शो गर्दैछौं,’ उनले भने, ‘यसबाहेक अन्य सहरमा पनि च्यारिटीका लागि कुराकानी भइरहेको छ ।’
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समाजमा अझै पनि बोक्सी भन्ने अन्धविश्वास रहिरहेकोमा चिन्ता व्यक्त गर्दै अन्धविश्वास हटाउन चेतना आवश्यक रहेको औल्याए ।
फिल्ममा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, ताराबहादुर गुरुङ, विष्णु वास्तोला, ओमराज पौडेल, दुर्गा न्यौपाने, लक्ष्मण ढुंगानालगायतका कलाकारको अभिनय छ । लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोवितशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App