८ वैशाख २०८१ शनिबार
खेल

शिवरामलाई सेन्ट्रल ओपन उपाधि

काठमाडौं- नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बिहीबार अन्तिम दिन १ अन्डर ७१ खेल्दै २२ अन्डर २ सय ६६ को प्रभावशाली स्कोरका साथ सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधिमा कब्जा जमाएका छन् ।
निकट प्रतिद्वन्द्वी सूर्यप्रसाद शर्मामाथि १५ स्ट्रोकको आरामदायी अग्रताका साथ दिनको खेल सुरु गरेका शिवरामले २० स्ट्रोकको जित हासिल गरे । बिहीबार ७२ पारको गोकर्ण गल्फ क्लबको कोर्समा फ्रन्ट नाइनमा २ अन्डर ३४ तथा ब्याक नाइनमा १ ओभर ३७ खेलेका थिए । सूर्यप्रसादका लागि भने प्रतियोगितामा अन्तिम दिन सुखद रहेन । तथापि ४ ओभर ७६ को प्रदर्शन गरेका सूर्यप्रसाद समग्रमा २ अन्डर २ सय ८६ स्कोरका साथ सञ्जय लामासँग संयुक्त रूपमा उपविजेता भए ।
१ अन्डर ७१ खेलेका रामे मगर समग्रमा २ ओभर २ सय ९० स्कोरका साथ चौथो हुँदा दीपक मगर (२९४) पाँचौं भए । दीपकले अन्तिम दिन ३ ओभर ७५ को कार्ड बनाएका थिए । भुवन नगरकोटी (८०) र जयराम श्रेष्ठ (७८) समग्रमा ६ ओभर २ सय ९४ स्कोरका साथ संयुक्त रूपमा छैटौं हुँदा धनबहादुर थापा (७७) ९ ओभर २ सय ९७ स्कोरसहित आठौं भए । यसै गरी भूबहादुर गुरुङ (७७) ११ ओभर २ सय ९९ स्कोरका साथ नवौं तथा पशुपति शर्मा (७८) १२ ओभर ३ सय स्कोरका साथ १०औं भए ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको दोस्रो प्रतियोगिता जित्ने क्रममा शिवरामले बिहीबार फ्रन्ट नाइनमा चौथो तथा छैटौं होलमा बर्डी खेल्दै सुखद सुरुआत गरेका थिए । ब्याक नाइनअन्तर्गत ११औं होलमा बर्डी खेलेपछि उनी प्रतियोगिता इतिहासमा अहिलेसम्म रहेको २४ अन्डरको विजयी कीर्तिमान तोड्ने सम्भावनानजिक पुगेका थिए । तर १२ र १५औं होलमा बोगी खेप्दा विजयअन्तर फराकिलो भए पनि उनी कीर्तिमानबाट भने चुके । कुल ६ लाख ३० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा शिवरामले उपाधिसँगै नगद १ लाख १५ हजार रुपैयाँ हात पारे ।
संयुक्त रूपमा उपविजेता भएका सूर्यप्रसाद र सञ्जयले जनही ६३ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । दोस्रो दिन ३६ होलको खेल सकिएपछि बाँकी दुई दिन ३६ होलको खेललाई छानिएका सबै २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार पाएका थिए ।
एमेच्योरतर्फ समग्रमा २५ ओभर ३ सय १३ स्कोरका साथ फुन्सोक एन लामाले उपाधि जित्दा सुवास घिसिङ काउन्ट ब्याकमा सुनील केसीलाई पछि पार्दै उपविजेता भए । दुवैको स्कोर समान २९ ओभर ३ सय १७ भएपछि काउन्ट ब्याकबाट उपविजेताको निर्णय गरिएको थियो ।
३२ व्यावसायिक र १० एमेच्योर गरी ४२ खेलाडीको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई बिहीबारै प्रायोजक सूर्य नेपालका बजार व्यवस्थापक बालकिसन गुरुङ, आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका सल्लाहकार घनश्याम थापालगायतले पुरस्कृत गरे ।

प्रकाशित: २४ कार्तिक २०७४ ०३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App