coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

समाजवादलाई सैद्धान्तिक श्रद्धाञ्जली

बोल्सेबिक क्रान्ति रसियाली क्यालेन्डरअनुसार २५ अक्टुबरका दिन भएको भए तापनि त्यसको वार्षिकी भने पश्चिमा पात्रोअनुसार सात नभेम्बरका दिन मनाउने चलन छ । सन् २०१७ बीसौं शताब्दीको विश्वलाई हल्लाउने त्यस युगान्तकारी जनक्रान्तिको शतवार्षिकी साल हो । सोभियत संघ अस्तित्वमा रहेसम्म सात नभेम्बरलाई उत्साहका सात उत्सवका रूपमा मनाउने गरिन्थ्यो । सन् १९९१ को डिसेम्बरमा सोभियत संघको औपचारिक विघटनपछि भने समाजवादी सपनाहरूको पनि अन्त्य नै त भएको होइन भन्ने प्रश्न बलियोसँग उठेको थियो । दशकौं लगाएर निर्माण गरिएको वैकल्पिक विश्वको परिकल्पना एउटा अफगानिस्तानरूपी पत्ति झिक्नासाथ रातारात तासको महल जसरी धराशायी भयो । यस वर्षको शतवार्षिकीले भने रसियाली क्रान्तिमा बौद्धिक रूचि जगाएको छ । चर्चा गर्ने जति जम्मैलाई थाहा छ, त्यस्तो घटना दोहोरिने परिस्थिति संसारमा अहिले कतै पनि विद्यमान छैन । शायद त्यसैले  शतवार्षिकीसँग सम्बद्ध अधिकांश समारोह कर्मकाण्ड जस्तामात्र लाग्छन् ।

वामपन्थीहरूले श्लोक भट्टाएर सन्तोष गर्नुको विकल्प छैन । ‘साम्यवादी पञ्च देवता माक्र्स, एन्जेल्स, लेनिन, स्टालिन, माओ आदि पूजितोषि क्षमस्य स्वस्थानं गच्छ । गच्छ, गच्छ, गच्छ ।’ इति समाजवादी पुराण समाप्तम !

हुन त सोभियत संघको प्रभाव विस्तारको प्रक्रिया पनि कम चामत्कारिक थिएन । माक्र्सले पुँजीवादको अन्तद्र्वन्द्वलाई सफल साम्यवादी क्रान्तिको प्रमुख आधारका रूपमा औल्याएका थिए । बीसौं शताब्दीको सुरूवाततिरको रसियाली राज्य र समाज साम्राज्यवाद, सामन्तवाद एवं धार्मिक अन्धविश्वाशमा जकडिएको थियो । सामान्यजनको चेतना स्तर पनि खासै उत्साहजनक थिएन । शायद भयो के भने पहिलो विश्वयुद्धको असरले थिलथिलो बनाएको रसियाली समाजमा योग्य एवं समर्पित नेतृत्वले आशा र आत्मविश्वासको सञ्चार ग¥यो । सपना चाहनामा रूपान्तरित भए । तिनलाई योजनामा परिणत गर्ने अग्रपंक्ति तयार थियो । कार्यान्वयनको जिम्मा सामान्यजनले स्वयं लिए । र, यसप्रकार बीसौं शताब्दीको सम्भवतः सबभन्दा महŒवपूर्ण क्रान्ति सफल भयो ।
पहिलो विश्वयुद्धले निर्माण गरेको वस्तुगत परिस्थितिबाट जन्मेको रसियाली क्रान्तिको अग्निपरीक्षा भने दोस्रो विश्वयुद्धले लिएको हो । पश्चिमा प्रचारतन्त्रले अमेरिकीहरूको भूमिकालाई जतिसुकै निर्णायक ठम्याएको भए तापनि सोभियत संघको जुझारूपन, खास गरेर त्यहाँको तानाशाह जोसेफ स्टालिनको लौह संकल्पबेगर हिटलरका नाजी लडाकाहरूलाई युरोपमा हराउन सहज हुन्थेन । त्यसपछि सोभियत संघ निषेधाधिकारसहित संयुक्त राष्ट्र संघको सदस्य भयो । पूर्वी युरोपको नक्शामा रातो रंग पोतियो । लेनिनले रूसमा गरेजस्तै माओले पनि पुँजीवादको विकासबेगर नैं साम्यवादी क्रान्ति हुन सक्ने रहेछ भन्ने कुरा चीनमा देखाइदिए । सन् १९५० को दशकसम्म आइपुग्दा क्युबादेखि कोरियासम्म साम्यवादको सत्ता स्थापित भइसकेको थियो । साम्यवादको तीव्र विस्तारबाट अत्तालिएका पश्चिमाहरूले सन् १९६० को दशकलाई रक्तरञ्जित बनाइदिए । साम्यवादप्रति आकर्षण देखाउने इन्डोनेसिया, मलेसिया, भियतनाम, कम्बोडिया, लाओ, कोरिया जस्ता देशका लागि शीतयुद्ध चिसो र सेतो नभएर तातो र रातो ठहरियो । तर चौतर्फी आक्रमणका बाबजुद पनि समाजवादको जिजीविषा क्षीण भएको थिएन । अमेरिकाको कोट समातेर चीनलाई विकासको वैतरणी पार गराउने माओको महाŒवाकांक्षाले गर्दा समाजवादी विश्व विभाजित भयो ।
सुस्त स्खलन
सन् १९७२ मा राष्ट्रपति रिचार्ड निक्सनको बेइजिङ भ्रमणबाट सुरू भएको अमेरिका र चीनबीचको सहकार्यले गति लिएपछि सोभियत संघको प्रभाव विस्तार मन्द हुँदै गयो । सन् १९८० सम्म आइपुग्दा पूर्वी युरोप पनि सोभियतहरूको नियन्त्रणबाहिर जान थालिसकेको थियो । त्यतिबेला सामान्य जस्तो देखिए पनि सोभियत ब्लकको पहिलो स्वतन्त्र मजदूर संगठन ‘सोलिडारिटी’ भन्ने मजदूर संगठनका सहसंस्थापक लेक वालेसाले साम्यवादी पार्टीको सर्वोच्चतालाई ठाडो चुनौती दिएका थिए । वालेसालाई शान्तिका लागि नोबेल पुरस्कार त्यसै दिइएको होइन । सौलिडारिटी एउटा त्यस्तो प्वाल ठहरियो जसले सोभियत संघरूपी विशाल जहाजलाई अन्ततः डुबायो । तर साम्यवादको संसारलाई छिन्नभिन्न तुल्याएको भने झन्डै एक दशक (१९७९–१९८९) लामो सोभियत संघको अफगानिस्तानसँगको संग्रामले हो । त्यसपछि सुरू भएको समाजवादको अन्त अब लगभग पूरा भइसकेको छ ।
समाजवादको व्यावहारिक प्रयोग सुरू भएको रूसको लगभग सर्वेसर्वालाई आजभोलि ‘नयाँ जार’ भनिँदो रहेछ । उनमा स्तालिन जस्तै तानाशाह हुने चाहना त छ तर उनी समाजवादी नभएर पुँजीवादी बिस्तारको सपना देख्ने गर्छन् । कुनैबेला अध्यक्ष माओलाई चिङ राजवंशको पतनपछिको पहिलो जनतान्त्रिक सम्राट भन्ने गरिन्थ्यो । चीनका नयाँ सर्वेसर्वा सि जिनपिंग त्यस राजमुकुटका सही हकदार हुन् । अन्तरिक परिस्थितिमा अकल्पनीय परिवर्तन देखिएन भने सर्वेसर्वा सि कम्तीमा अर्को दशकका लागि कुनैबेला रूसको दबंग शासक स्तालिन दुनियाँभर हावी भएजस्तै विश्वनेता भएर रहने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पदावधि सकिएपछि जुवा वा जग्गा दलालीमा फर्किन सक्छन् । सिलाई त्यस्तो कुनै बाध्यता छैन । स्तालिनको महŒवाकांक्षा कमसेकम अन्तर्राष्ट्रिय साम्यवाद थियो । राष्ट्रपति सि अमेरिकी प्रारूपको वर्चस्ववादी शासक हुन चाहन्छन् । ओवोर, म्यारिटाइम सिल्करूट एवं आधारभूत पूर्वाधारमा लगानी गर्ने चिनिया विकास बैंक जस्ता कुनै पनि संस्थासँग साम्यवाद जोडिएको छैन । राज्य संरक्षित सभ्रान्ततन्त्र (अलिगार्की) एवं राज्य प्रवर्धित सम्पन्नतन्त्र (प्लुटार्की) पुँजीवादका दुई सबभन्दा विकृत रूप हुन । आजको चीन यी दुईमध्ये एक हो भन्ने कुरामा कुनै विवाद छैन । चीनको अर्थराजनीति साम्यवाद त के, समाजवाद पनि होइन भन्ने कुरामा भने मतक्यैता छ ।


लेनिनवादभन्दा महेन्द्रवाद रूचाउने नेपालका वामपन्थीहरू राष्ट्रवादी हुन्, त्यसैले ती साम्यवादी त के समाजवादी पनि कहलिन सक्दैनन् ।


समाजवादका अवशेषहरूको कुरा गर्ने हो भने त्यो एक हदसम्म क्युबामा बाँकी छ । भियतनाम, लाओ एवं कम्बोडिया जस्ता अर्धप्रजातान्त्रिक देशहरू माला समाजवादको जप्छन्, पूजा भने पुँजीवादकी देवी लक्ष्मी एवं उनको सवारी लाटोकोसेरोको गर्ने गर्छन् । वंशवादी एकलतन्त्रलाई साम्यवाद भन्ने हो भने बेग्लै कुरा, नभए आणविक हातहतियार देखाउँदै अन्तर्राष्ट्रिय समुदायको भय दोहन गरेर गुजारा गर्ने उत्तर कोरियालाई साम्यवादी मान्ने व्यक्ति त्यस दुर्भाग्यपूर्ण देशबाहिरको एकमात्र अन्धविश्वासी नारायणमान बिजुक्छे उर्फ कमरेड रोहित हुनुपर्छ ।
विभिन्नरूपमा पुजारीतन्त्र एवं राजतन्त्रले हजारौं वर्षसम्म मानवीय कल्पनालाई कज्याइरह्यो । सामन्तवादको वर्चस्व पनि शताब्दियौंसम्म चलेको हो । युरोपको औद्योगिक क्रान्तिले सुरू गरेको पुँजीवादको विस्तार अद्यापि चालु छ । के त्यस्तो कारण थियो कि अत्यन्त उत्साहजनक सुरूवातका बाबजुद समाजवादी सपना ७५ वर्ष (१९१७–१९९२) भन्दा बढी टिक्न सकेन ? समस्या के भइदियो अधिकांश तथाकथित वामपन्थीहरू असहज प्रश्नको उत्तर खोज्नुभन्दा ‘जसोजसो पुरेत बाजे, उसोउसो स्वाहा’ गर्ने कर्मकाण्ड रूचाउँछन् । स्वयं आफैँलाई पनि शंका गर्ने संस्कृति समसामयिक वामपन्थी विमर्शबाट अलप भएको छ । सबै असफलताको दोष अमेरिकी षड्यन्त्र वा ‘वासिंगटन सहमति’ सँग सम्बद्ध संस्थाहरूलाई दिएपछि आत्मालोचनाको क्लेस उठाउने लेठो गरिराख्नु परेन । समाजवादी सपनाका कमजोरी भने कम छैनन् ।
जनवादी केन्द्रीयता
लेनिनको जतिसुकै महिमामण्डन गरे पनि भोगिएको यथार्थ के हो भने केन्द्रीयता जनवादी होस् वा लोकतान्त्रिक, त्यसले केन्द्रीय नेतृत्वको प्रमुखता स्थापित गर्ने रहेछ । सैनिक वर्चस्व त्यसपछि स्वाभाविकरूपमा आउँछ । सेनाको अधिपत्य भनेकै राष्ट्रवाद हो । राष्ट्रवादमा आन्तरिक एवं बाह्य शत्रु खडा गरेर निरन्तर सामान्यजनको भय दोहन गरिरहनुपर्छ । अनि जनहितभन्दा सैनिक एवं हातहतियारको तयारीलाई राज्यले प्राथमिकता दिनुपर्ने हुन्छ । सुस्तरी समाजवादी राज्यसत्ता पनि पुँजीवादी व्यवस्थाको दर्पण छवि (मिरर इमिज) बन्न पुग्छ । समस्या के भइदिन्छ भने पुँजीवादी व्यवस्था बाजा बजाएर स्वार्थको प्रवर्धन गर्छ भने समाजवादीहरूलाई कम्बल ओढेर घ्यु खाने अवस्था आइलाग्छ । प्रतिस्पर्धामा पाखण्ड पछाडि पर्नु स्वाभाविक हो । शायद त्यसैले होला, चतुर चिनियाँ शासक देंग सियाओ पिंगलें साम्यवादी व्यवस्थाभित्र खुला बजÞारको नीतिलाई कालो वा सेतो बिरालोको नाममा भित्र्याएका थिए । बजारवादको बिरालो सामान्यतः कालो नै हुन्छ भन्ने कुरा देंगलाई थाहा नभएको होइन । तर माओवादको आवरण परित्याग गर्ने जोखिम उनले उठाउन चाहेनन् । लेनिनवादभन्दा महेन्द्रवाद रूचाउने नेपालका वामपन्थीहरू राष्ट्रवादी हुन्, त्यसैले ती साम्यवादी त के समाजवादी पनि कहलिन सक्दैनन् ।
समाजवादी अर्थराजनीतिलाई कमजोर गर्ने तŒवहरू अरू पनि छन् । शत्रुकेन्द्रित राष्ट्रवाद एवं सैनिक वर्चस्वले गर्दा राज्यलाई मिडियामाथि पूर्ण नियन्त्रण गर्ने बाध्यता आइलाग्छ । साम्यवादीलगायत अरू जुनसुकै निरंकुश व्यवस्थामा राज्यले मिडियालाई प्रत्यक्ष सञ्चालनमा राख्छ ।  निर्देशित गणतन्त्रमा सञ्चारकर्मी स्वयं सत्ताका दास बन्न तयार हुन्छन् । त्यो किनभने राज्यको अधिप्रचारलाई राष्ट्रवादी कर्म ठह¥याइएको हुन्छ । कुनैबेला नृजातीय घृणाका कारोबारी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेपाली मिडियाको यही असुरक्षा भावलाई प्रयोग गरेर सहजै कज्याएका थिए । भनाइ छ, जब सबैजना एकनासको सोच राख्छन् भने कसैले पनि केही मौलिक सोच गरिरहेको हुँदैन । त्यसपछि कामदारको हित गौण हुन पुग्छ । विनोद चौधरी एवं राज्यलक्ष्मी गोल्छा माक्र्सवादी तथा लेनिनवादी ठह¥याइन्छन् । पद्म ज्योति माओवादी हुन पाउँछन् । चरी र मनांगेबेगर पार्टी सञ्चालनमा बाधा पुग्छ । बौद्धिकलाई बौलाहा एवं बुद्धिजीवीलाई सनकी घोषणा गरिन्छ । चाकर पुँजीवाद (क्रोनी कैपिटलिज्म) बाट लाभान्वित समूहले जम्मा गरिदिएको भाडाको भिडले अनि त्यस्ता सबै निर्णयको जय÷जयकार गर्छ । रूस र चीनमा निर्देशित निर्वाचन हुन्छ । नेपालीहरू पश्चिमाहरूको प्रश्रय (पैट्रनज) गुमाउन चाहँदैनन् । त्यसैले यहाँ प्रबन्धित चुनाव हुन्छ । आधारभूत फरक छुट्याउन मूल्य र मान्यतामा प्रश्न उठाउनुपर्ने हुन्छ । त्यस्तो काम गर्ने ‘देशद्रोही’ ठहरिने हुँदा कमैले मात्र त्यो जोखिम उठाउन चाहन्छन् ।
कार्ल माक्र्स युगान्तकारी चिन्तक जरूर थिए तर उनलाई पैगम्बर ठह¥याउनेहरूले समाजवादका अग्रदूतलाई असान्दर्भिक तुल्याउन कुनै कसर बाँकी राखेका छैनन् । वैज्ञानिक अर्थराजनीतिको माक्र्सवादी प्रारूप मूलतः औद्योगिक क्रान्तिका विभीषिकाहरूलाई सम्बोधन गर्न तयार गरिएको थियो । उत्पादनको महŒवपूर्ण अवयव अब पुँजी एवं श्रममात्रै रहेन । प्रविधि एवं नवोन्वेषबेगर मार्क जुकरबर्ग वा बिल गेट्समात्रै होइन, विश्वका अधिकांश खरबपति आदाम स्मिथले भनेझैं पाउरोटी, मासु वा कपडा जस्ता आधारभूत आवश्यकताका वस्तु उत्पादन गरिरहेका हुन्थे । संहारक हातहतियार, ऊर्जा, लागु पदार्थ एवं अंग्रेजीको ‘आइस’ भनिने सूचना, सञ्चार एवं मनोरञ्जन समसामयिक विश्वका चार सबभन्दा ठूला उद्यम हुन् । यस्ता सबै उपक्रम अर्थव्यवस्थामा राज्यले सम्पूर्ण  नियन्त्रण कदापि कायम राख्न सक्दैन । अफगानिस्तानमा सोभियत रूसले पठाएको कालास्निकोभ तथा रकेट प्रक्षेपक अमेरिकी हातहतियारभन्दा छिटो एवं सस्तोमा तालिवानको हातमा पुग्थ्यो । उसै पनि सैनिक सामग्रीको प्रतिस्पर्धामा रूसले अमेरिकाका अगाडि घुँडा टेकेको होइन, बरु पश्चिमाहरूको अधिप्रचारका अगाडि टिक्न नसकेका हुन् । माक्र्सको जमानामा नरम शक्ति (सफ्ट पावर) परिष्कृत भइसकेको थिएन ।
जनवादी केन्द्रीयतासँग पुरूषप्रधानता एवं नारीद्वेष जोडिएर आउँछ । देखावटी समावेशिता (विन्डो ड्रेसिंग) बेग्लै कुरा, नभए लैंगिक समानताको मुद्दामा नग्न पुँजीवादका बीच आधारभूत भिन्नता छैन । नश्लीयताको मामलामा वामपन्थी केही उदार देखिए पनि नृजातीय द्वेषको मामिलामा ती उदारवादीहरूभन्दा चार कदम अगाडि हुने रहेछन् ।
बाहुनवादी वामपन्थ
दक्षिण एसियामा समाजवादको हालत झनै दयनीय छ । अन्तर्राष्ट्रिय पुँजीवादका महिमामण्डक एवं पश्चिमाहरूको रणनीतिक स्वार्थका रक्षक अफगानिस्तानको सरकार चलाइरहेका छन् । पाकिस्तानमा सेना, इस्लाम, अदालत, अमेरिका (ओबोरपछि त्यो ठाउँ अब चीनले लिँदैंछ) एवं नोकरशाहीको गठजोडका अगाडि तथाकथित उदार राजनीतिक दलहरू त टिक्दैनन् भने वामपन्थको अवस्थाबारे कुरै गरिराख्नु परेन । कुनैबेला भन्ने गरिन्थ्यो, ढाकामा सबभन्दा ठूलो पार्टी कार्यालय वामपन्थीहरूको छ । दुई बेगमहरूको प्रतिस्पर्धामा ती अब कतै छैनन् । श्रीलंकाबाट वामपन्थको बीउ मास्ने काम नृजातीय समाजवादको नाउँमा भएको थियो । दक्षिण एसियाको सबभन्दा ठूलो देश भारतमा भने वामपन्थलाई बाहुनवादले खायो । पार्थसार्थी आचार्य, नरेन्द्रनाथ भट्टाचार्य, श्रीपाद अमृत डांगे, पुरनचन्द्र जोशी, गीता मुखर्जी, सोमनाथ चटर्जी, बुद्धदेव भट्टाचार्य, नम्बुदिरीपाद, सूर्यकान्त मिश्र एवं सीताराम यचुरी जस्ता माक्र्सवादी अग्रदस्ताका बाहुनवादी विचारकहरूले के बिर्सिदिए भने हिन्दु समाजको प्रमुख अन्तद्र्वन्द्व वर्ग नभएर वर्ण एवं नृजातीयता हो । ‘जनैजाति’ तथा जनजाति, अगडा एवं पिछडा, दमनकर्ता तथा दलित, हिन्दु एवं अन्य धर्मावलम्बी तथा भाषिक एवं जातीय विविधता सम्बोधन गर्न नसक्दा माक्र्सवादीहरूले पश्चिम बंगालको ‘लाल किल्ला’ गुमाए । त्रिपुरा र केरलामा सपना बाँकी त छन् तर जीवन्त छैनन् । नेपालका स्वघोषित वामपन्थी भारतका भन्दा ज्यादा बाहुनवादी छन् । नृजातीय अहंकार भारतीय वामपन्थीहरूमा अपेक्षाकृत कम छ । आदर्शवाद परित्याग गरेर जातिवादलाई मूल कार्यक्रम बनाएका नेपाली ‘कम्युनैलिस्टहरू’ महेन्द्रलाई पितृ थापेर फासिवादी राष्ट्रवादको फसल काट्छन् ।
के आसन्न निर्वाचनले वस्तुगत परिस्थितिमा केही परिवर्तन ल्याउला ? बुद्धिको निराशावाद एवं संकल्पको आशावादलाई ग्राम्सीले कठिन समयको सूत्र ठह¥याएका छन् । नभए  नेपाली कांग्रेसलाई हिन्दुत्ववादी तथा रूढीवादी भन्न मिल्छ । नेकपा (एमाले–मा) गठजोड संशोधनवादी एवं नृजातीय बाहुनवादीहरूको जत्था हो । सिद्धान्तको ‘मधेसवाद’ आवरण परित्याग गरेर दुई नम्बर प्रदेशको चुनावी लाममा कुनैबेलाका आन्दोलनकर्मीहरू निर्वस्त्र खडा छन् । सामान्य मधेसी आन्दोलनकारीहरूमा आँट छ तर क्षमता छैन । जनजाति अगुवाहरूसँग क्षमता छ, आँट नभएकाले ती केही गर्न सक्दैनन् । दुर्भाग्य हो, तर आहुति जस्ता एक÷दुई अपवाद व्यक्तित्वलाई छुट्ट्याइदिने हो भने दलित एवं गैरहिन्दु समुदायसँग न क्षमता छ, न त आँट नै । त्यसैले ती बाहुनवादी वामपन्थको दयामायामा बाँच्न अभिशप्त देखिन्छन् । त्यसो भए यो निर्वाचनले के गर्छ ? यथास्थितिलाई वैधानिकता दिन्छ । लामो सुरूङको अँध्यारो यात्राका लागि परिवर्तनकामीहरूले तयारी सुरू गरे हुन्छ ।
यसैबीच वामपन्थीहरूले श्लोक भट्टाएर सन्तोष गर्नुको विकल्प छैन । ‘साम्यवादी पञ्च देवता माक्र्स, एन्जेल्स, लेनिन, स्टालिन, माओ आदि पूजितोषि क्षमस्य स्वस्थानं गच्छ । गच्छ, गच्छ, गच्छ ।’ इति समाजवादी पुराण समाप्तम !

प्रकाशित: २४ कार्तिक २०७४ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App