८ वैशाख २०८१ शनिबार
राजनीति

उपेन्द्रलाई सघाउने निर्णायप्रति कांग्रेस सप्तरीमा असन्तुष्टि

राजविराज- संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सघाउने नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयप्रति पार्टीको जिल्ला नेतृत्व र स्थानीय नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।
    फोरम अध्यक्ष यादवलाई सघाउने पार्टीको निर्णायबमोजिम सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका कांग्रेस उम्मेदवार सकलदेव सुतिहारको उम्मेदवारीसमेत फिर्ता लिने कांग्रेसको योजना भए पनि निर्धारित समयमा उम्मेदवारी फिर्ता हुन सकेन । पछि कांग्रेसकै नेताहरूले सुतिहारको उम्मेदवारी प्राविधिक रूपमा मात्रै दर्ता रहेको भनी औपचारिक प्रतिक्रिया जनाउँदै आएका छन् ।

बुधवारको बैठकले सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईका लागि प्रतिनिधिसभातर्फ सकददेव सुतिहार र प्रदेशसभातर्फ रञ्जित कर्ण तथा महानन्द यादवको पक्षमा प्रचारप्रसार गर्नुका साथै संयुक्त रूपमै मत माग्ने घोषणा गरेका हुन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको कांग्रेस क्षेत्रीय समिति र जिल्ला कार्य समितिका केही नेता तथा कार्यकर्ताले भने औपचारिक बैठक नै गरेर कांग्रेस उम्मेदवार सुतिहारकै पक्षमा मत माग्ने घोषणा गरेका छन् ।
बुधबारको बैठकले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभातर्फ सकददेव सुतिहार र प्रदेशसभातर्फ रञ्जित कर्ण तथा महानन्द यादवको पक्षमा प्रचारप्रसार गर्नुका साथै संयुक्त रूपमै मत माग्ने घोषणा गरेका हुन् । बैठक कांग्रेस सप्तरीका सचिव रामकुमार यादवको अध्यक्षता बसेको थियो ।
‘प्रतिनिधिसभा सदस्यका उम्मेदवार सकलदेव सुतिहारको उम्मेदवारी हालसम्म कायमै रहेकाले अरु दललाई समर्थन गर्ने सम्बन्धमा केन्द्रबाट कुनै किसिमको जानकारी नआएबारे बृहत छलफल भयो,’ बैठकबारे जानकारी गराउँदै प्रदेशसभातर्फ उम्मेदवारसमेत रहेका महानन्द यादवले भने, ‘केन्द्रीय कार्यालयका सचिव कृष्ण पौडेलसमेतबाट जानकारी लिँदा कुनै किसिमको जानकारी नभएको उत्तर फर्काएपछि आफूहरूले संयुक्तरूपमा तीन जनाकै लागि मत माग्ने निर्णय गरेका हौं ।’
यसअघि उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिन सुतिहार नामबाट काठमाडौंस्थित निर्वाचन आयोगमा एउटा पत्र पुगेको थियो । तर, उक्त पत्र समयमा नपुगेको र पार्टीको आधिकारिक पत्रसमेत नरहेकाले आयोगबाट सुतिहारको उम्मेदवारी हालसम्म कायमै रहेको छ ।
तर, स्थानीयस्तरमा सप्तरी २ बाट सुतिहारको उम्मेदवारी फिर्ता भएको र कांग्रेसले फोरम अध्यक्ष यादवलाई प्रतिनिधिसभा सदस्यको चुनावमा सहयोग गर्ने चर्चा व्यापक भएपछि सोही सम्बन्धमा कांग्रेसका जिल्ला तथा क्षेत्रस्तरीय नेताले बुधबार भेला डाकेका थिए ।
भेलामा कांग्रेसका सप्तरी सचिव रामकुमार यादव, सहसचिव महानन्द यादव, राजविराजका नगरपालिकाको १८ वटै वडाका वडा सभापतिसहित नगर सभापति तथा अधिकांश क्षेत्रीय सभापतिको उपस्थिती थियो ।
अन्योलमा तालमेल
    फोरम राजपा गठबन्धन तथा कांग्रेसबीच एक प्रकारको चुनावी तालमेल देखिए पनि प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा गठबन्ध हुन नसक्दा दुई राजनीतिक शक्ति भएको चुनावी तालमेल अन्योलमा परेको छ । दुवैतर्फका स्थानीय नेता कार्यकर्तामाझ चुनावी तालमेलप्रति देखिएको अन्योलताले यसको प्रभावमाथिसमेत जानकारहरू चिन्ता व्यक्त गरिरहेका छन् ।
    राजपा फोरम गठबन्धन तथा नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि केही शीर्ष नेतालाई जिताउन एक अर्काले सघाउने गरी रणनीति निर्धारण गरेका छन् । यसअनुरूप फोरम अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, फोरमका बरिष्ठ नेता अशोक राईलगायतलाई चुनावमा सघाउने भनी कांग्रेसले घोषणा नै गरिसकेको छ । त्यस्तै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेताविरुद्ध फोरम राजपा गठबन्धनलेसमेत उम्मेदवारी दर्ता गराएका छैनन् ।
तर दुवै पक्षले गरेको आन्तरिक सहमति हुँदाहुँदै कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो एकअर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै प्रतिनिधिसभातर्फ सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवलाई समेत कांग्रेसका उम्मेदवार तथा वर्तमान सरकारका राज्यमन्त्री तेजुलाल चौधरीले चुनौती दिइराखेका छन् ।
यता सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमै प्रतिनिधिसभातर्फ उपेन्द्र यादवलाई कांग्रेसले सघाउने औपचारिक घोषणा नै गरे पनि प्रदेश सभातर्फ कुनै पनि क्षेत्रमा यस्तो तालमेल देखिएको छैन । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (क) मा फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहविरुद्ध कांग्रेस उम्मेदवार एवं पूर्वसांसद रञ्जीत कर्ण चुनावी प्रतिस्पर्धामा रहेका छन् भने २ को (ख) बाट राजपा महासचिव मनिष सुमनविरुद्ध कांग्रेसका महानन्द यादव चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को (ख)  बाट राजपाकै वरिष्ठ केन्द्रीय उपाध्यक्ष नवलकिशोर साहविरुद्ध कांग्रेसका बद्री महात्मान यादवले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
‘एकातिर फोरमका केन्द्रीय अध्यक्षलाई सघाउने भनी पार्टीको निर्देशन छ, अर्कातिर हामीविरुद्ध प्रदेशसभामा उनीहरूका उम्मेदवार छन्’, सप्तरीबाट प्रदेशसभातर्फका एक कांग्रेसी उम्मेदवारले भने, ‘यस्तो अवस्थामा जतिसुकै पार्टीको ह्विप जारी भए पनि तल्लो स्तरसम्मका प्रत्येक कार्यकर्ताबाट ती ह्विप स्विकारिन्छन् भन्ने ग्यारेन्टी गर्न सक्ने अवस्था देखिदैन ।’ पार्टीको आधिकारिक निर्णाय रहेका कारण ती उम्मेदवारले आफ्नो नाम भने खुलाउन चाहेनन् ।
सप्तरीमा अहिले पनि सांगठनिक रूपमा कांग्रेसको जनाधार राम्रै मानिन्छ । पछिल्लो स्थानीय तह निर्वाचनमा समेत सप्तरीका १८ मध्यै पाँच स्थानीय तहमा कांग्रेस विजयी भएको थियो । १८ वटै स्थानीय तहका प्रमुख पदमा परेको मतलाई विश्लेषण गर्ने हो भन्ने झन्डै ४० हजारभन्दा बढी मत ल्याएर कांग्रेस पहिलो पार्टीका रूपमा आपूmलाई कायम राख्न सफल भएको थियो ।
सांगठनिक संरचनाका रूपमा समेत प्रत्येक स्थानीय तहको प्रत्येक वडा तथा प्रत्येक बस्तीस्तरसम्ममा संगठन विस्तार रहेको सप्तरीमा अहिले पनि एक मात्र राजनीतिक दल कांग्रेस नै हो । तर स्पष्ट चुनावी तालमेल नहुँदा कांग्रेसको ह्विप हुँदाहुँदै पनि सबै कांग्रेसी मत फोरम–राजपा गठबन्धनलाई पर्ने वा गठबन्धनको सबै मत कांग्रेसतर्फ नै मोडिन सक्ने सम्भावना न्यून रहेको जानकारको बुझाइ छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App