coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुस्ताङ : पकड तोड्न र जोगाउन दुवैलाई गाह्रो

सन्तोष पोखरेल/विशन क्षेत्री
पोखरा- हिमालपारिको जिल्ला मुस्ताङ तापक्रमका हिसाबले दिनहुँ चिसिँदो छ, तर प्रतिनिधि र प्रदेशसभा चुनावमा होमिएका राजनीतिक दलका गतिविधिले मतदातामा उत्साह बढाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा यसपटक पल्लाभारीका लागि वाम गठबन्धन र कांग्रेसबीच रस्साकस्सी छ ।
मुस्ताङमा वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका प्रेम तुलाचन र कांग्रेसका रोमी गौचन थकाली प्रतिस्पर्धामा छन् । प्रदेश (क) मा एमालेका इन्द्रधारा विष्ट र (ख) मा एमालेकै महेन्द्रबहादुर थकाली उम्मेदवार छन् । त्यस्तै, कांग्रेसबाट प्रदेश (क) मा मिक्युर गुरुङ र (ख)मा छिरिङधावा गुरुङ चुनावी मैदानमा छन् । वाम गठबन्धन भए पनि माओवादी केन्द्रले मुस्ताङमा कुनै पनि ठाउँमा स्थान पाएको छैन ।
पहिलेदेखि नै कांग्रेसको पकड रहँदै आएको मुस्ताङलाई त्यो पकड कायम राख्ने चुनौती आइपरेको छ भने कांग्रेसको पकड तोड्ने दाउ एमालेको छ । कांग्रेसले २०५१, २०५६ र २०७० मा मुस्ताङमा जित हासिल गरेको थियो । एमालेले २०६४ मा जितेको छ ।
वर्षाैंदेखिको पकड जोगाउन मुस्ताङमा कांग्रेसलाई जत्ति गाह्रो छ, उत्ति साह्रो एमालेलाई तोड्न पनि रहेको स्थानीय बताउँछन् ।
मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् । तीमध्ये प्रदेश (क) मा ३ हजार १ सय ५६ जना मतदाता छन् । प्रदेश (ख) मा ६ हजार २ सय ७१ जना मतदाता छन् । मुस्ताङमा प्रदेश (क)मा लोमान्थाङ र दालोमे गाउँपालिका पर्छन् । त्यस्तै प्रदेश (ख)मा बाह्रगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिका पर्छन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा घरपझोङ गाउँपालिकामा मात्र एमालेले प्रमुखमा जितेको थियो । बाँँकी गाउँपालिकामध्ये दालोमेमा स्वतन्त्र र अन्य तीनवटा गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा जितेको थियो ।
२०७० सालको दोस्रो संविधानासभा निर्वाचनमा कांग्रेसका अहिलेका उम्मेदवार रोमी गौचन थकालीविरुद्ध कांग्रेसबाट बागी उम्मेदवारी दिएका प्रेम तुलाचन यतिबेला एमालेका आधिकारिक उम्मेदवार बनेका छन् । त्यसबेला तुलाचन १२ मतले पराजित भएका थिए ।
पार्टीमा इमानदार कार्यकर्ताको संरक्षणका लागि उम्मेदवारी दिँदा पार्टीले निलम्बन गरेपछि तुलाचनमा असन्तोष बढेको थियो । त्यही असन्तोष मेटाउन उनी तीन महिनाअघि एमाले प्रवेश गरेका थिए । नवप्रवेशी तुलाचनसहित ठूलो संख्यामा कांग्रेस कार्यकर्ता एमाले प्रवेश गरेको र माओवादी केन्द्रले पनि पछिल्लो समय पकड जमाउँदै जाँदाको प्रभाव अहिले निर्वाचनमा पर्ने एमाले उम्मेदवारको दाबी छ ।
प्रदेश (क) का एमाले उम्मेदवार इन्द्रधारा विष्ट मुस्ताङको प्रतिनिधि र प्रदेशसभा सबैमा वाम गठबन्धनको विजयी हुने निश्चित रहेको दाबी गर्छन् । ‘कुनै बेला कांग्रेसको पकड रहेको मुस्ताङमा अब त्यो एकाधिकार रहँदैन,’ विष्टले भने, ‘त्यो एकाधिकार तोड्ने आँट अहिले एमालेमा पलाएको छ ।’
पछिल्लो समयम कांग्रेसका धेरै कार्यकर्ता एमाले प्रवेश गरेको र माओवादी केन्द्रसँगको गठबन्धनले आपूmहरू बलियो भएकाले जित निश्चित रहेको उनको दाबी छ ।
‘अरू कोही नपुगेको ठाउँमा पनि एमाले पुगेको छ । त्यसबाहेक एमाले अध्यक्ष केपी ओलीले नाकाबन्दीविरुद्ध खेलेको भूमिकाले पनि अहिले कार्यकर्ताले एमालेलाई साथ दिने उनी बताउँछन् । त्यसबाहेक विकास निर्माणका कार्यक्रमले गर्दा पनि अहिले एमाले अग्रपंक्तिमा रहेको उनले बताए । ‘कालीगण्डकी करिडोर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भयो । त्यसबाहेक कोरला नाकाका लागि पनि एमालेले उत्तिकै भूमिका खेलेको छ,’ उनले भने ।
एमालेले लिएको राष्ट्र र राष्ट्रियताको अडानको पक्षमा लाग्नुपर्ने भएकाले आपूm एमाले प्रवेश गरेको तुलाचनको भनाइ छ । ‘विगतमा मैले उठाउँदै आएको मुद्दामा एमालेले समर्थन गरेपछि गत साउनमा एमाले प्रवेश गरेको हुँ,’ उनले भने । उनले आफ्नो पहिलो प्राथमिकता मुस्ताङको पर्यटन विकास गर्ने रहेको बताए । ‘बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ । मुस्ताङमा नै रहेका पदमार्ग, गुफा, मठमन्दिर व्यवस्थापन जरुरी छ,’ उनले भने ।
पर्यटकलाई मुस्ताङको मुक्तिनाथ र कोरालासम्म मात्र नभई अरू गन्तव्यमा लैजानका लागि पहल गर्ने उनको भनाइ छ । ‘जिल्ला भित्रिएका पर्यटकलाई प्याकेजमा मुस्ताङमा हप्तांैसम्म बसाउन सके जिल्लावासीको आर्थिक अवस्थामा सुधार आउनेछ,’ उनले भने, ‘त्यसबाहेक पर्यटकले सिजनको बेला बास बस्नका लागि होटल नपाएको अवस्था छ, यस्तोमा अहिलेका होटलको क्षमता बढाउन पनि मेरो पहल हुनेछ ।’
उनले कृषिलाई दोस्रो अजेन्डामा राखेका छन् । मार्फा र जोमसोम क्षेत्रमा उत्पादित स्याउमा किरा लाग्न थालेकोमा उनको चिन्ता छ । त्यसको न्यूनीकरणका लागि सरकारी राहत मिलाउन व्यवस्था गर्ने उनले बताए । त्यसबाहेक सिँचाइ सुविधा बढाउँदै सामूहिक खेती प्रणाली अवलम्बन गर्ने, जंगली जनावरको आक्रमणको सिकार भएका भेडाच्यांग्रा, चौंरीपाल व्यवस्थित गर्ने तुलाचन बताउँछन् । कच्ची सडकमा सवारीचापसँगै उडेको धुलोले मुस्ताङको स्वच्छ हावा बिस्तारै धमलिँदै गएको र पर्यटकले जहाँ पायो त्यहीं फोहर गर्दा पर्यावरण बिग्रेकोले त्यसलाई समाधान गर्ने पनि आफ्नो अजेन्डा रहेको उनले सुनाए ।
त्यहाँका दलले आआफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेर चुनावमा होमिएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका थकाली भन्छन्, ‘हाम्रो विजयी सुनिश्चित छ । प्रजातन्त्र प्राप्तिपछि यसपटक समेत गरी हाम्रो विजयी शृंखला चौथो हुनेछ ।’ आफूले गरेको कामलाई जनताले मूल्यांकन गर्ने भएकाले कांग्रेसको जित निरन्तर रहने उनले दाबी गरे । ‘मैले गरेको त्याग र तपस्याले गर्दा नै जित सुनिश्चित छ,’ गौचनले भने, ‘विकास निर्माणमा हामीले गरेको त्यास र तपस्या पनि जितका लागि सहज हुनेछ ।’ उनले प्रतिद्वन्द्वी उम्मेदवारसँग विकास निर्माण र जनतामाझ गएको अनुभव नभएको बताए । ‘कांग्रेसबाट भर्खर गएर एमाले उम्मेदवार बनेकासँग अनुभव छैन, सबै नयाँ छन्,’ उनले भने, ‘जनताले उनीहरूलाई पत्याउने छैनन् ।’
मुक्तिनाथदेखि दामोदरकुण्ड, मानसरोवर, तिलिचो ताललाई जोडेर धार्मिक पर्यटकीय हब बनाउने उनले योजना सुनाए । जिल्लाको आर्थिक विकासमा सबैभन्दा बढी पर्यटनले योगदान दिएकोले त्यसका लागि आफूले भरमग्दुर प्रयास गर्ने उनले बताए । ‘मुक्तिनाथ बौद्ध धर्मावलम्बीले पुज्ने देवता भए तापनि बर्सेनि हजारौं हिन्दु धर्मावलम्वी आउँछन्,’ उनले भने, ‘यो संख्या बढाएर जिल्लाको आर्थिक समृद्धिका लागि थप व्यवस्थापन जरुरी छ ।’
मुक्तिनाथ मात्र नभएर धुम्बाताल, एबिसी, धौलागिरी बेस क्याम्प, जिल्लामा भएका गुम्बा समेटेर पर्यटन क्षेत्र व्यवस्थित गर्ने उनको योजना  छ । सडक स्तरोन्नतिको योजना पनि उनले बनाएका छन् । त्यस्तै क्षेत्रमा ग्रामीण विद्युतीकरण आयोजनामार्फत प्रत्येक ग्रामीण तहमा विद्युत् पु¥याउने तथा हाइड्रोपावर निर्माण गरेर विद्युत् निर्यात गरी जिल्लालाई आर्थिक विकासतर्फ उन्मुख गराउने उनले बताए ।

प्रकाशित: २४ कार्तिक २०७४ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App