coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर

काठमाडौं—पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ। दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका नरबहादुर चन्द विजयी भएका थिए। भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्यराज्यमन्त्री छन्।


जिल्लामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभाका लागि एउटा मात्र क्षेत्र रहेकामा पूर्वराज्यमन्त्री भण्डारी र बहालवाला राज्यमन्त्री चन्द चुनावी मैदानमा उत्रिएकाले चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ।

पूर्वअर्थराज्यमन्त्री भण्डारी वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन् भने वाणिज्यराज्यमन्त्री चन्द लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन्। संविधानसभा निर्वाचनमा भण्डारी १ नं क्षेत्रबाट ११ हजार ६७१ मतसहित विजयी भएका हुन् भने चन्द २ नं क्षेत्रबाट १२ हजार ४६६ मत ल्याई विजयी भएका थिए।

जिल्लामा स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्दा वाम गठबन्धनको बढी मत छ। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहको प्रमुखमा काँग्रेस विजयी भएको हो। तीन स्थानीय तहमा एमाले तथा एक स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले जित हात पारेको थियो।

जिल्लाको ८४ वटा वडामा एमालेले २७ हजार ३८९ र माओवादी केन्द्रले १८ हजार ७१९ मत प्राप्त गरेको थियो। काँग्रेसले २७ हजार ८७ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ४०४ मत पाएको थियो। तर स्थानीय तहको निर्वाचनमा खसेको अधिकांश मत मतदाताले पार्टीभन्दा पनि व्यक्ति रोजेको हुनसक्ने भएकाले स्थानीय तहको निर्वाचनको मतलाई पार्टीलाई दिएको भनेर भन्न सकिने अवस्था छैन।

पूर्वप्रधानमन्त्री तथा राप्रपाका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा काँग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको छ। प्रदेश नं ७ को बैतडीमा मात्र राप्रपाले गणेश चन्दलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएको छ।

प्रतिनिधिसभा सदस्यका दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। सारा कम्युनिष्ट एक भए पनि आफू लोकतन्त्रको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चन्दको भनाइ छ। लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धन विजयी हुन्छ उनले भने, 'देशको विकास र आर्थिक समृद्घिका लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ।'

जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी भएको वाम गठबन्धनका उम्मेदवार भण्डारी बताउँछन्। जिल्लाको विकासका लागि सधैँ लागिपरेको बताउँदै भण्डारीले आफू विजयी भए बैतडीको मुहार फेरिने दाबी गरे। 'सडक, शिक्षा, स्वास्थ लगायतका विकासका पूर्वाधारमा जोड दिइनेछ', उनले भने।

यसैगरी प्रतिनिधिसभाका लागि जिल्लामा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दसमेत चुनावी मैदानमा उत्रिएका छन्।

प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगिरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

प्रदेशसभा (ख) मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन्। चुनावलाई लक्षित गरेर जिल्लामा राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन्। राजनीतिक दलहरु मत माग्न गाउँकेन्द्रित भएका छन्। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ।

प्रकाशित: २३ कार्तिक २०७४ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App