८ वैशाख २०८१ शनिबार
समाज

बेहोस अवस्थामा नेपाली सेनाका जवान फेला

गौशाला- महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ स्थित जंगलमा बुधबार साँझ नेपाली सेनाका एक जवान बेहोस अवस्थामा फेला परेका छन् । 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलका अनुसार गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा सर्लाही जिल्लाको नवलपुरस्थित पाँचकुमारी नेपाली सेना ब्यारेकमा कार्यरत एक जवान बेहोस अवस्थामा फेला परेका हुन् । 

महोत्तरी जिल्लाको बेलगाछी–८ भंटाबारी घर भएका २५ वर्षीय नेपाली सेनाका जवान विजयकुमार महतो बेहोस अवस्थामा फेला परेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । 

केही बोल्न नसक्ने गरी बेहोस भएका जवान महतोलाई प्रहरीले बर्दिबासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाएको छ । 

शुक्रबार आफू कार्यरत ब्यारेकबाट दुई दिनको छुट्टीमा घर आएका जवान महतो आइतबार बिहान खाना खाएर ब्यारेक फर्किदै गर्दा उनी ब्यारेक फर्किन सकेका थिएनन् । 

मंगलबार उनी कार्यरत ब्यारेकबाट जवान महतो फिर्ता नआएको भन्दै परिवारजनलाई खबर भएपछि परिवारजनले मंगलबार बेलुका नै इलाका प्रहरी कार्यालय, गौशालामा हिँडिसकेको खबर गरेपछि मंगलबार रातिदेखि जवान महतोको खोजीमा परिवारजन, छिमेकी र प्रहरीसहितको टोली जंगलमा खोज्न गएका थिए । 

तर प्रहरीसहितको टोलीले बुधबार अबेर साँझ मात्रै जवान महतोलाई गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको एक खोल्साको बालुवामा भासिएर बेहोस अवस्थामा फेला पारेको प्रहरी निरीक्षक पोखरेलले बताए । 

जवान बिल्कुलै बोल्न नसक्ने अवस्थामा फेला परेपछि प्रहरीले उनलाई बुधबार अबेर साँझ बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएर प्राथमिक उपचार गराए पनि उनको अवस्थामा कुनै सुधार नआएपछि गएराति उनलाई काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाइएको र अहिले उनको उपचार सोही स्थानमा भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए । 

जवान महतोको कसैले कुटपिट गरी हत्या गर्ने प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ भने जवान महतो बोल्ने भएपछि मात्रै सही कुरो बाहिर आउने इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रकाशित: २३ कार्तिक २०७४ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App