coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यी हुन् चुनावी मैदानका १८ दम्पती

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौंपटक चुनावी प्रतिस्पर्धामा छन् । उनकी पत्नी आरजु राणा देउवा पहिलोपटक कैलाली–५ बाट चुनाव लडेकी छन् ।
प्रमुख तीन दल र चर्चित नेतामध्ये प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने देउवा दम्पती मात्रै हुन् । अन्य दम्पतीमध्ये पति प्रत्यक्षतर्फ र पत्नी समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । यसरी प्रतिस्पर्धा गर्ने देउवा दम्पती एक जोडी मात्रै होइन, प्रमुख तीन दल र अन्य शीर्ष नेताका कम्तीमा १५ जोडी अहिलेको चुनावी प्रतिस्पर्धा छन् । कांग्रेस नेता बालकृष्ण खाँणका दम्पती भने समानुपातिक सूचीमा रहेका छन् । कांग्रेसकी महिला नेतृ मञ्जु खाँण खासआर्य महिलाको सूचीमा रहेकी छिन् ।
सभामुख ओनसरी घर्ती मगर माओवादीको समानुपातिक सूचीको तेस्रो नम्बरमा रहेकी छिन् भने उनको पति नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन गृह जिल्ला रोल्पाबाट प्रत्यक्षमा चुनाव लड्दै छन् । माओवादी जनयुद्धमा सुरुदेखि सक्रिय रहेका थोरै महिलामध्ये पर्ने घर्तीले दोस्रो संविधानसभा चुनावमा भने रोल्पा–२ बाट  जितेकी थिइन् ।
एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया १बाट प्रतिस्पर्धामा गर्दै गर्दा उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेकी छिन् । गौतम बर्दियाबाट छैटांै पटक उम्मेदवार बनेका छन् ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङ–२ (क)बाट प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहँदा उनकी पत्नी समानुपातिक सूचीमा परेकी छिन् । जनजाति महिलातर्फ शाक्य एमाले केन्द्रीय सदस्य हुन् । दुवै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।
पहिलो चरणमा निर्वाचन हुने लमजुङमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका देवप्रसाद गुरुङकी पत्नी यशोदा सुवेदी समानुपातिक सूचीमा छिन् । पहिलो संविधानसभामा गुरुङ कास्की र मनाङबाट प्रत्यक्ष चुनाव जितेका थिए भने सुवेदी समानुपातिकतर्फबाट सभासद् बनेकी थिइन् । दोस्रो संविधानसभाका समयमा मोहन वैद्य नेतृत्वको पार्टीमा रहेका दुवै नेताहरूले चुनाव बहिस्कार गरेका थिए ।
दोस्रो संविधानसभा चुनाव बहिस्कार गर्ने थप दुई जोडी पनि यसपटक चुनावी मैदान छन् । हितमान शाक्य र अमृता थापा मगर तथा कुलबहादुर केसी र तारा घर्ती चुनावी प्रतिस्पर्धा रहेका छन् ।
पहिलो संविधानसभा चुनावमा काठमाडौं–६ बाट शाक्यले चुनाव जित्दा उनकी पत्नी थापा समानुपातिकतर्फ सांसद बनेकी थिइन् । शाक्य अहिले काठमाडौं–१०बाट वामपन्थी गठबन्धनको उम्मेदवार रहेका छन् । त्यसैगरी तारा पहिलो संविधानसभामा समानुपातिक सांसद थिइन् । केसी रोल्पा(क)बाट प्रदेश नम्बर ५ को सभाका लागि रहेका छन् ।
माओवादीका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटमा दोस्रो पटक चुनावी प्रतिस्पर्धामा रहँदा उनकी पछि सत्य पहाडी पनि समानुपातिक सूचीमा छिन् । पहिलो संविधानसभा पहाडी समानुपातिकतर्फ सभासद् बनेकी थिइन् । दोस्रो संविधानसभाको जाजरकोट–१बाट जित्दा पहाडी भने सांसद बाहिरै रहिन् । उनी दोस्रो संविधानसभामा डोल्पाबाट  पराजित भएकी थिइन् । खासआर्य महिलाको सूचीमा चौथो नम्बरमा रहेकी पहाडी र बाम गठबन्धनको राम्रो प्रभाव भएको स्थानबाट चुनाव लडेका बस्नेत दुवैको संसदमा पुग्ने संभावना बढी छ ।
यस्तो अवस्था छ एमालेका नेता शेरबहादुर तामाङ र उषाकला राईको । पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोक–३ बाट माओवादीसँग तामाङ पराजित हुँदा उनकी पत्नी राई समानुपातिकबाट सभासद् बनिन् । दोस्रो संविधानसभा चुनावमा तामाङ सोही क्षेत्रबाट संविधानसभामा निर्वाचित भए तर समानुपातिकतर्फ सांसद नदोहो¥याउने एमाले नीतिका कारण राई बाहिरै रहिन् । अहिले दुवै नेता चुनावी प्रतिस्पर्धामा छन् । तर उनीहरूले प्रतिस्पर्धा गर्ने निर्वाचन प्रणाली फरकफरक रहेको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाबिरुद्ध वामपन्थी गठबन्धनका तर्फबाट तामाङ सिन्धुपाल्चोक–२ बाट प्रतिस्पर्धामा रहँदा पत्नी राई भने प्रदेशसभाका समानुपातिक सूचीमा परेकी छिन् । आदिवासी जनजाति महिलातर्फ राई दोस्रो नम्बरमा छिन् ।
एमालेका नेता कृष्णगोपाल श्रेष्ठ, बिरोध खतिवडा र रघुवीर महासेठको जोडी पनि चुनावी मैदानमा छ । एमाले कार्यालय सचिव रहेका श्रेष्ठ प्रतिनिधिसभा काठमाडौं–९ बाट प्रतिस्पर्धामा रहँदा उनकी पत्नी बिना श्रेष्ठ समानुपातिक सूचीमा रहेकी छिन् । बिना एमालेको केन्द्रीय सदस्य हुन् । तेस्रो पटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा रहेका एमाले केन्द्रीय सदस्य बिरोध खतिवडा मकवानपुर–२ बाट प्रतिस्पर्धा गर्दैछन् भने उनकी पत्नी मुनु सिग्देल प्रदेशसभाका समानुपातिक सूचीमा छिन् । सिग्देल एमाले मकवानपुर जिल्ला कमिटीका अध्यक्ष हुन् । महासेठ धनुषा–४ बाट प्रतिस्पर्धामा रहँदा उनको पत्नी जुली महतो मधेसी महिलातर्फ समानुपातिक सूचीमा पहिलो नम्बरमा छिन् । महासेठ र महतो दुवै एमालेका केन्द्रीय सदस्य हुन् ।
नेकपा मालेका महासचिव सिपी मैनाली र पत्नी निलम खड्का दुवै पार्टीको समानुपातिक सूचीमा रहेका छन् । त्यसैगरी राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र उनकी पत्नी सरस्वती तामाङ दुवै समानुपातिक सूचीमा रहेका छन् ।
त्यसैगरी संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनकी पत्नी सुशीला श्रेष्ठ समानुपातिक सूचीमा रहेकी छिन् । राई लामो समय नेकपा एमालेका केन्द्रीय नेताका रूपमा सक्रिय रहेका थिए ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा रौतहट–१ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका छन् भने उनकी पत्नी डिम्पल झाप समानुपातिक सूचीमा रहेकी छिन् ।
‘श्रीमान् र श्रीमती एकैपटक चुनाव नलडाउने पार्टीको निर्णय हो । उहाँहरू अपवादमा पर्नुभयो । दुवैका नेताका मधेस आन्दोलनमा उल्लेख्य योगदान भएकाले पार्टीले टिकट दिएको हो,’ राजपाका प्रवक्ता सन्तोष मेहताले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सहमहामन्त्री सगुनसुन्दर लावती पाँचथरबाट प्रदेशसभाका चुनाव लड्दा उनकी पत्नी बबिना मोक्तान लावती सोही दलको समानुपातिक सूचीमा छिन् । पहिलो र दोस्रो संविधानसभामा राप्रपा नेपालबाट समानुपातिकतर्फको सांसद भएकी मोक्तान पार्टी विभाजनपछि राप्रपा(प्रजातान्त्रिक)मा सक्रिय रहेकी छिन् ।

प्रकाशित: २३ कार्तिक २०७४ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App