१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पिराडीवासी भन्छन्- ‘भारतीयको बलमिच्याइबाट जोगाउनेलाई भोट’

वीरगन्ज- चुनावका बेला गाउँमा पुग्ने विभिन्न दलका नेताका विकासे अजेन्डा सुन्नमा कम मिठा छैनन् । तर, पर्साको सीमावर्ती गाउँ पिराडीगुठीका बासिन्दाले विकास र अधिकार मात्र छैन । उनीहरू सिमापारी भारततिरबाट हुने दैनिक बलमिच्याइ र अपमानबाट मुक्ति चाहेका छन् ।
भारतबाट दैनिक रूपमा सयौं ट्र्याक्टर लिएर बलजफ्ती नेपाली भूभागमा पसेर बालुवा उत्खनन् गर्ने माफियाको चँगुलबाट पिराडीगुठीका बासिन्दाले गाउँको मुक्ति चाहेका हुन् । ‘हामी आवाज उठाउछौं, कुटिन्छौं वर्षमा दर्जनौं पटक दोहरिन्छ । यस्तो घटना सुनेपछि सिडोओ आउँछन् र मिलेर बस्न सुझाव दिएर फर्किन्छन्,’ स्थानीय भुलाइ खाँ थारुले भने, ‘कति बेइज्जती सहनु ? यस पटकको चुनावमा हामीले नेतासँग भनेको कुरा यति हो कि सक्छौ भने यसबाट मुक्ति दिलाउ ।’
गाउँको पश्चिममा बगेको छ ओरिया नदी । कुनै समयमा ओरिया नदी स्थानीयका लागि बरदान थियो । वस्तुभाउको लागि प्रशस्त घाँस, उत्तरमा पर्ने जंगलबाट बगेर आउने काठ दाउरा, नदीमा पाइने माछा र बगरमा उब्जिने घरको छानो छाउने खर यहाँबाट गउँलेले जोहो गर्थे । स्थानीय मान्यतामा देवीका रूपमा मानिने नदी ‘ओरिया माईको महिमा अपरम्पार छ । खुसी भइन् भने गाउँमा ‘बर्कत’ (धन र खुसियाली) लिएर आउछिन, कुपित (क्रोधित) भइन् भने विनाश ।’ जबदेखि भारतीय बालुवा तस्करको नजरमा परेको छ यो नदी, ओरियामाई कुपित नै छिन् । स्थानीयका अनुसार भारतीयको अनियन्त्रित उत्खनन्ले बर्सेनि दसौं बिघा जग्गा बर्खे भेलसगै बालुवाको बगर बन्दैछ ।
 अहिले भारतको सीमावर्ती पश्चिमी चम्पारण जिल्लाको मैनाटार, इनर्वा, चुहडी, बलथरलगायतका बजारदेखि बेतिया सहरसम्म ओरिया नदीको बालुवा बेच्ने कारोबारीका रूपमा दर्जनौं जना चिनिन्छन् । ‘नेपालको बालुवा’, ‘ओरिया नदीको बालुवा’ आपूmले बेच्ने गरेको ग्राहकलाई उनीहरूले हाकाहाकी बताउँछन् । त्यसबाट आर्जन हुने पैसाको बलमा उनीहरूले यो कारोबारलाई सानोतिनो साम्राज्य जस्तै चलाएका छन् ।
सीमापारी अर्थात् ‘नदी पारी’ बाँयातिर इनर्वा र दायाँतिर भाँगहा भन्ने दुईटा बजार छन् । त्यही बजारलाई आधार बनाएर अहिले भारतीय बालुवा तस्करले बलजफ्ती नेपाली भूभागमा भारतीय ट्र्याकटरसहित आएर अबैधरूपमा बालुवा उत्खनन गरेर लैजाने गरेका छन् । उनीहरूसँग निरन्तर भिडिरहने सीमाका पहरेदार हुन् पिराडीका स्थानीय । भारतीयसँग जुधेर चोटपटक खाएकाको सूची लामै छ त्यहाँ । कहिलेकाँही सीमामा विवाद हुँदा स्थानीयसँग हैसेमा होस्टे थप्न स्थानीय अस्थायी प्रहरी चौकी र नजिकको सशस्त्र प्रहरी बलको जवान पनि पुगिहाल्छन् । कुरो हबाइफायरिङसम्म पुगेका घटना तीनपटक दोहोरिसकेको छ । नेपाली सुरक्षाकर्मीसहित दर्जनौं घाइते भएका घटना विगतका छन् । नेपालतिरबाट प्रमुख जिल्ला अधिकारीलगायताले पारिका समकक्षीसँग छलफल गरेर कुरा मिलाउने क्रम पनि धेरै पटक दोहोरियो । भारतीयहरूको बलमिच्याइ भने कहिले पनि रोकिएन ।
‘विवाद धेरै पुरानो हो, बर्सेनि नदीले कटान गरेर खेतलाई बगर बनाइदिने पीडा हो । भारतीयहरू ट्र्याकटर लिएर हाम्रो निजी तथा ऐलानी जग्गाबाट उत्खनन् गर्छन्, मनोमानी छ,’ हेमराजप्रसाद चौधरीले भने, ‘सिमानाको विवादित ठाउँ भयो यो । परारसाल संयुक्त सर्भे नापी आएपछि यताको करिब ७० बिघा जग्गा भारतमा पारिदियो । त्यो गाउँको नजिकको सीमा करिब ५० मिटर सरेर यता आयो । हामी गाउँलेले आफ्नो जग्गा आबाद गर्न खोज्दा विवाद हुँदा सिडिओ साहेब आउनु भयो, यसमा मैले पनि केही बोल्दिन । दिल्ली र काठमाडौंबीचको सम्झौता हो भनेर जानुभयो ।’ भारतमा गइसकेको जग्गाको कुरा मात्र छैन, सारिएर यता पारिएको सीमाना पार गरेर पनि २ किलोमिटर भित्रसम्म भारतीय माफिया पसेर उत्खनन् गर्ने कुराले स्थानीय हैरान भएको उनले बताए ।
स्थानीय रामचेतन महातोको दुई बिघा जग्गा अब भारतमा गएर ‘बेहाँत’ भएको छ । रामायन प्रसादको पाँच कट्ठाको बिचमै अहिले दुई देशको सिमा छुट्टाउने खम्बा परेको छ । यसरी जग्गाधनीको प्रमाणपुर्जा र लिखत हातमा र जग्गा नयाँ नापनक्सा भारतमा परेको दर्जनौं परिवार गाउँमा छन् । शिक्षक ओमप्रकाश चौधरीका अनुसार पिराडीवासीको पीडा जिल्लाका अरु ठाउँका मानिसका समस्याभन्दा भिन्न छ, त्यस कारण यहाँका बासिन्दाले राजनीतिक दलबाट आफ्नो अनवरत समस्याको सामाधन मागेका छन् ।  
सोमबार पिराडी गाउँमा भोट माग्न पुगेका प्रतिनिधि पर्सा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रमेश रिजाललाई स्थानीयले ओरिया नदीको किनार मै लगेर वस्तुस्थिती देखाए । नेता रिजालले समस्या साच्चिकै गम्भीर रहेको बताउँदै केन्द्रस्तरबाटै यसमा ठोस पहल आवश्यक रहेको प्रतिक्रिया दिए । उनले आफूले सक्दो प्रयास गर्ने बताए । स्थानीय भने यसपाली भोट माग्न आउने हरेकसँग सिमापारीकाबाट पाएको दुखकष्टको निराकरणका निम्ति माग राख्न तम्तयार छन् ।

प्रकाशित: २३ कार्तिक २०७४ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App