७ वैशाख २०८१ शुक्रबार
खेल

शिवरामको अग्रता यथावत्

काठमाडौं- नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बुधबार तेस्रो दिन ६ अन्डर ६६ खेल्दै सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा अन्तिम दिनको खेलअघि निकट प्रतिद्वन्द्वी सूर्यप्रसाद शर्मामाथि १५ स्ट्रोकको आरामदायी अग्रता लिएका छन् ।
गोकर्ण गल्फ क्लबमा लगातार तीन दिन उच्च प्रदर्शन गरेका शिवराम ५४ होलको खेल सकिँदा समग्रमा २१ अन्डर १ सय ९५ को स्कोरसहित अग्रस्थानमा रहँदा बुधबार २ ओभर ७४ खेलेका सूर्यप्रसाद (२१०) दोस्रो स्थानमा छन् । ६ अन्डर ६६ खेलेका सञ्जय लामा (२१४) तेस्रो स्थानमा उक्लिएका छन् ।

यसै गरी भुवन नगरकोटी इभनपार २ सय १६ स्कोरका साथ चौथो स्थानमा छन् । भुवनले बुधबार १ अन्डर ७१ को कार्ड बनाएका थिए । जयराम श्रेष्ठ २ ओभर ७४ खेल्दै समग्रमा २ ओभर २ सय १८ स्कोरका साथ पाँचौं स्थानमा छन् । मगर दाजुभाइ रामे (७०) र दीपक (७५) समान ६ ओभर २ सय १९ स्कोरका साथ संयुक्त रूपमा छैटौं स्थानमा रहँदा १ अन्डर ७१ खेलेका धनबहादुर थापा ४ ओभर २ सय २० स्कोरसहित आठौं स्थानमा छन् । १८ होलको खेल बाँकी रहँदा पशुपति शर्मा र भूबहादुर गुरुङले पनि शीर्ष १० मा स्थान बनाएका छन् । बुधबार १ अन्डर ७१ प्रदर्शन गरेका पशुपति र १ ओभर ७३ खेलेका भूबहादुर समान ६ ओभर २ सय २२ स्कोरका साथ संयुक्त रूपमा नवौं स्थानमा छन् ।

एमेच्योरतर्फ फुन्सोक एन लामा र सुनील केसी समान १४ ओभर २ सय ३० स्कोरका साथ संयुक्त रूपमा अग्र स्थानमा छन् । बुधबार फुन्सोक र सुनील दुवैले ५ ओभर ७७ को प्रदर्शन गरेका थिए । यसै गरी सुवास घिसिङ २३ ओभर २ सय ३९ स्कोरका साथ तेस्रो स्थानमा छन् ।

बिहीबारसम्म चल्ने चारदिने प्रतियोगितामा ३२ व्यावसायिक र १० एमेच्योर खेलाडीको सहभागिता थियो । अन्तिम दुई दिन हुने ३६ होलको खेलका लागि पहिलो दुई दिनको प्रदर्शनका आधारमा मंगलबार व्यावसायिकतर्फ २१ तथा एमेच्योरमा ६ खेलाडीको छनोट (कट) गरिएको थियो ।

प्रकाशित: २३ कार्तिक २०७४ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App