८ वैशाख २०८१ शनिबार
समाज

विदेशी गाडी चलाउन अनुमति लिन निर्देशन

काठमाडौं- आगामी चुनावमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्दा अनुमति लिएर मात्र सञ्चालन गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ ।
आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्नुपरेमा पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।
निर्वाचन प्रचारप्रसार प्रयोजनमा विदेशी नम्बर प्लेटका सवारीसाधन नियन्त्रण गर्न आयुक्त सुधीरकुमार शाहको अध्यक्षमा बसेको बैठकले विदेशी नम्बर प्लेटका सवारी साधनको नियमन, नियन्त्रण र व्यवस्थापन गर्न अर्थ मन्त्रालय, भन्सार विभाग, गृह मन्त्रालय र यातायात व्यवस्था विभागलाई जिम्मा दिएको छ ।
‘विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्दा निर्वाचन आचारसंहिता उल्लंघन नहुनेगरी तोकिएको संख्यामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्न दिने’ निर्णय आयोगले गरेको छ ।
कानुनअनुसार निर्वाचन अधिकृत, स्थानीय प्रशासन, भन्सार कार्यालय र यातायात व्यवस्था कार्यालयले आपसी समन्वय गरी यस्ता गाडी सञ्चालन गर्न दिने निर्णय गरेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । सवारीसाधनको अग्रभागमा स्पष्ट देखिने गरी अनुमतीपत्र राखेर सञ्चालन गर्ने र नगरेमा स्थानीय प्रशासनले रोक्न सक्नेछ ।
 

एमाले उम्मेदवारलाई स्पष्टीकरण
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेका एक उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधको छ ।
आयोगको बुधबार बसेको वैठकले एमाले डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेमगरले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई रकम बाँडेको भन्ने सूचना आएको भन्दै स्पष्टीकरण सोधेको हो ।
आलेमगरलाई  २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेमा आयोगले उम्मेदवारी रद्द गर्नसक्ने व्यवस्था छ ।

प्रकाशित: २३ कार्तिक २०७४ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App