८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिनिधिसभामा ८० सिट जित्ने कांग्रेस दाबी

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ बहुमत आउने दाबी गरेको छ । एमाले, माओवादी केन्द्रसहितका वाम दल चुनावी तालमेल गरेर जाँदा मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेस पोजिसन कमजोर हुने आँकलन भइरहेका बेला उसले प्रत्यक्षतर्फ ८० भन्दा बढी सिट जित्ने दाबी गरेको हो ।   
‘प्रतिनिधिसभामा १ सय ५४ र प्रदेशसभामा ३ सय १० स्थानमा उम्मेदवारी दिएका छांै,’ निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसमध्ये कम्तीमा ५५ प्रतिशत सिट हाम्रो आउँछ ।’
६० प्रतिशत स्थानमा उम्मेदवार उठाएको एमाले र ४० प्रतिशत उम्मेदवार उठाएको माओवादीले दुई तिहाइ सिट जित्ने दाबी हावादारी भएको खाँणले बताए । उनले भने, ‘दुई तिहाइ होइन, वाम गठबन्धनको बहुमत पनि आउँदैन ।’
२०३६ को जनमत संग्रहमा पञ्चायतले २४ लाख र बहुदलले २० लाख मत पाए पनि २०४६ सालमा आइपुग्दा अवस्था कहाँ पुग्यो भन्ने प्रश्न गर्दै उनले स्थानीय तहको निर्वाचन परिणामलाई मानक बनाएर प्रतिनिधि र प्रदेशसभा निर्वाचनको व्याख्या र विश्लेषण गर्नु गलत हुने दाबी गरे । ‘यसअगाडिका निर्वाचनभन्दा पार्टी एकताबद्ध छ,’ उनले भने, ‘दुई तिहाइ ल्याएर देशमा अधिनायकवादी शासनको सपना देख्ने कतिपय नेताको  जमानत जफत हुनेछ ।’
साम्यवादकै सपना देखेर कम्युनिस्ट शासन स्थापना गर्नेतिर वाम गठबन्धन गए पञ्चायत, राजापछि सकिने पालो कम्युनिस्टहरुको हुने पनि उनले तर्क गरे । ‘२००७ सालमा अधिनायकवादी राणा शासन ढल्यो, पञ्चायतले कांग्रेस र लोकतन्त्र सक्ने अभियान चलायो, अनि पञ्चायत नै सकियो,’ उनले भने, ‘त्यसपछि राजतन्त्र निरंकुश शैलीमा उत्रियो, राजतन्त्र सकियो, अब अधिनायकवादमा जान खोजे नेपाली जनताले नेपालमा कम्युनिस्टलाई पनि सकिदिन्छन् ।’
 यसैबीच, खाँण नेतृत्वको निर्वाचन परिचालन समितिले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचारका लागि केन्द्रीय निर्वाचन प्रचारप्रसार समन्वय उपसमिति गठन गरेको छ । केन्द्रीय सदस्य गगनकुमार थापा संयोजक तथा बद्री पाण्डे सहसंयोजक रहेको ४३ सदस्यीय समितिमा पार्टीमा आबद्ध पुराना पत्रकारहरु सदस्य छन् ।

प्रकाशित: २३ कार्तिक २०७४ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App